८ चैत २०८१, नुवाकोट ।
विश्व कविता दिवसका अवसरमा नुवाकोटमा कविता वाचन तथा कविताको सामर्थ्य र उपयोगिता बारेमा विचार गोष्ठी सम्पन्न भएको छ ।
थानसिंह बगैंचा, नुवाकोटमा सम्पन्न उक्त गोष्ठीमा निबन्धकार तथा नियात्राकार श्रीओम श्रेष्ठले मानव मानवका बिचमा हुने विभेदलाई समाप्त पार्ने शक्ति कवितामा मात्रै हुने बताए । अनुवादक एवं साहित्यकार श्याम प्रधानले विश्वमा बढ्दै गएको द्वन्द्व र अशान्तिलाई अन्त्य गर्न कविता सजिलो माध्यम भएको बताए । कवि एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राश्याम लेकालीले मानव समाजलाई उन्नत गराउन कविताको ठूलो योगदान रहेको बताए । साहित्यिक पत्रकार तथा साहित्यकार जयदेव भट्टराईले कविता मानिस मानिसका लागि हुनुपर्ने बताए । कवि एवं वासु शशी स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले कविता र मान्छेलाई छुट्याउन नसकिने बताए । कवि एवं पत्रकार ठाकुर बेलवासेले समाजलाई सकरात्मक चेतना कविताले मात्रै दिने बताए ।
उक्त गोष्ठीमा श्रीओम श्रेष्ठ रोदन,राधेश्याम लेकाली, जयदेव भट्टराई, श्याम प्रधान र ठाकुर बेलवासेले कविता वाचन गरेका थिए ।
