१९ जनवरी २०२५, सिलगडी
सिलगडी, भारतका साहित्यकार मुक्तिप्रसाद उपाध्यायको नेतृत्वमा २००५ देखि प्रारम्भ भएको हास्य -व्यङ्ग्य कविताको वार्षिक कार्यक्रम साउँतीको १४ औं प्रकरण सिलगडीको समाज सेवा समिति भवन, शास्त्रीनगरमा श्री तुलसी भट्टराईको सभापतित्व र पद्मश्री सानुलामाको मुख्य आतिथ्यमा सम्पन्न भयो।
यस कार्यक्रममा श्री ज्ञान सुतार, श्रीमति उषा शर्मा, कृष्ण प्रधान, लतिका जोशी, खगिन्द्रा खुसी, पूर्ण कुमार शर्मा, सुदर्शन अम्बोटे, भक्तकुमार सुब्बा, केशव आचार्य, अर्जुन निरौला, लोकनाथ चापागाईं गरी जम्मा नौजना कविहरुले हास्य- व्यङ्ग्य कविता पढेर सुनाए ।
यस वर्षको ‘साउँती विशिष्ट सम्मान’ पद्मश्री सानुलामालाई प्रदान गरिएको छ। यस कार्यक्रममा बिर्तामोड, सिलगडी, गान्तोक, कालिम्पोङ आदि स्थानबाट धेरै अतिथि र बौद्धिक व्यक्तित्वहरुको व्यापक उपस्थिति रहेको थियो। वाचन गरिएका कविताहरुको समीक्षा कवि राजा पुनियानीले गरेका थिए।
यस कार्यक्रममा पठित कविताहरुको संकलन साउँती पत्रिकाको उपस्थित सबै अतिथि र दर्शकहरुका बाहुलीबाट एकसाथ सामुहिक रूपमा विधिवत् लोकार्पण पनि भयो। कार्यक्रमको सञ्चालन मुक्तिप्रसाद उपाध्याय र कृष्ण बस्नेतले गरेका थिए। यसका अघिल्ला प्रकरणहरु दिल्ली, काठमाडौ, गान्तोक, कालिम्पोङ, दार्जिलिङतिर पनि सम्पन्न भएका थिए। कविताहरुको प्रस्तुति भने चिठ्ठा गरेर पालैपालो गरि सम्पन्न भएको थियो। कार्यक्रमका मुख्य प्रायोजक सिलगडीका लक्ष्मण नेपाल रहेका थिए।
वर्तमानमा रहेको अनैतिकता, अराजकता, आडम्बरीपन, स्वार्थता, बौद्धिक कमजोरी आदि जस्ता विषयमा अधिकांश कविहरुका कवितामा मूल स्वर पाइन्छन् । मनुष्यको सवाइ, भुँडी पुराण, राजाको कुकुर, काम बनाउन छ भने नि!, चानचुने कुरा होइन, गोर्पाली, भुइँचालोको खल्याङमल्याङ, कस्तो प्रेम, चक्रव्युह आदि कविताहरुले आफ्नो आफ्नो व्यङ्ग्यचेत प्रस्तुतिले दर्शक श्रोताहरुलाई रमाइलो बनाए।
प्रायः सबै कविताहरुमा सामाजिक आर्थिक समसामयिक सामाजिक आर्थिक राजनैतिक विकृति, व्यवस्था र प्रणालीलाई व्यङ्ग्य कसेका पाइयो। वर्तमानका मान्छेका ह्रासोन्मुख नैतिकता, स्वार्थपनाको पराकाष्ट अवस्थाको वास्तविकता, भारतीय गोर्खालीको अस्तित्वको पीडामय स्थिति, प्राकृतिक प्रकोप र वस्तुहरुका बिम्ब र प्रतीक बनाएर कवितात्मक व्यङ्ग कसिएको पाइयो । भक्तकुमार सुब्बाको काम बनाउनु छ भने नी! भन्ने कवितामा मान्छेको अवसरवादी प्रवृत्तिलाई दनक कसिएको पाइयो। विर्तामोडबाट आएकी खगिन्द्रा खुसीले पोतो पलाएपछी भन्ने व्यङ्ग्य कवितालाई शार्दूलविक्रीडित छन्दमा रसिलो गरी सुनाइन। गान्तोककी उषा शर्माले भुँडीपुराण कवितामा राजनैतिक नैतिक पक्षहरुमा दनक दिइएकी थिइन्। वरिष्ठ कवि लोकनाथ उपाध्याय चापागाईंले पनि साउँती महिमा कवितामा पनि निकै व्यङ्ग्य कसेका थिए।
समीक्षक राजा पुनियानीले आफ्नो समीक्षामा व्यङ्ग्य लेखनको इतिहास, हास्य लेखन, कवितामा व्यङ्ग्य तत्त्व र हास्य रस बारेमा प्रकाश पार्दै आज प्रस्तुत गरिएका कविताहरूको व्यङ्ग्य पक्ष केलाउने काम गरेका थिए। उनको समीक्षण वस्तुनिष्ठ र तात्त्विक किसिमको रह्यो। कार्यक्रमका पर्यवेक्षकका रूपमा हिन्दीका पत्रकार, शायर र लेखक इर्फान आजमले गरेका थिए। उनले हास्य र व्यङ्ग्य अलग अलग कुरा हुन् र व्यङ्ग्यमा सुधारको परोक्ष आह्वान हुन्छ भनेर रमाइलो वार्ता प्रसतुत गरे। उनका आफ्ना पनि हिन्दी व्यङ्ग्य शायरी प्रस्तुत गरे। ज्ञान सुतारले हामीले हिन्दी समाजको हास्य कवि सम्मेलनमा जस्तै गरी कार्यक्रम प्रस्तुत गर्नुपर्ने सुझाव पनि व्यक्त गरेका थिए।
कार्यक्रमको विशेषता के रहेको थियो भने उपस्थित दर्शक स्रोताहरुको मतलाई सम्मान गर्दै स्रोताको रुचिको बहुमतअनुसार कवि भक्तकुमार सुब्बालाई उनको काम बनाउनु छ भने भन्ने कविता निम्ति नगेन्द्र शर्मा स्मृति पुरस्कार, लीलाबहादुर विष्ट साउती पुरस्कार विर्तामोडकी खगिन्द्रा खुसीलाई, जङ्गबहादुर विश्वकर्म साउँती पुरस्कार गान्तोककी उषा शर्मालाई, सोमनाथ बराल स्मृति पुरस्कार श्री केशव आचार्यलाई, रत्नदेवी साउँती सम्मान लोकनाथ उपाध्याय चापागाईंलाई, लक्ष्मीकान्त जोशी स्मृति सम्मान पुरस्कार ज्ञान सुतारलाई प्रदान गरियो। साउँती स्रोता सम्मान पुरस्कारहरु पदम छेत्री, पुरण कुमार लोहार, रुपेश शर्मा, दिवाकर शर्मा ढुङ्गेल, दिलकुमारी चन्द्रन र पी एल शर्मालाई प्रदान गरियो। परम्परागत रूपमा भन्दा यो साउँती कार्यक्रम केही नयाँ किसिमको, भिन्नै र मौलिक प्रकारले सम्पन्न भयो। दर्शक स्रोतालाई पनि पुरस्कार दिनु पनि नयाँ परम्परा बसालेको लाग्दैछ। साहित्य चौतारीका देवीभक्त श्रेष्ठले साउतीको आगामी वर्षको प्रकरण साहित्य चौतारीको आयोजनामा विर्तामोडमा सम्पन्न हुने घोषणा गरे।
