महाकवि देवकोटा सङ्ग्रहालयको शिलान्यास सम्पन्न

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१९ अगस्त, वाशिंटन डिसी

महाकवि देवकोटाको घरलाई सङ्ग्रहालय बनाउने क्रममा २०७८ भाद्र ३ गते बिहीबार दिनको १२:२५ बजेको शुभ साइतमा वैदिक विधिपूर्वक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीबाट शिलान्यास कार्य सम्पन्न भएको छ ।
शिलान्यासको अवसरमा महाकवि देवकोटा पुत्र प्रा.डा.पद्मप्रसाद देवकोटा र देवकोटाकी माहिली छोरी अम्बिकादेवी रिमाल तथा कान्छी छोरी, देवकोटाकी पनातिनी मञ्जिला अनिल, ३० नं. का वडाअध्यक्ष दलबहादुर कार्की, स्थानीय शास्त्रीमार्ग उपभोक्ता समितिका पदाधिकारीहरू र महाकवि मार्ग टोल समितिका पदाधिकारीहरू, महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण स्थानीय सहयोग समितिका पदाधिकारी र सल्लाहकारहरू, स्थानीय बुद्धिजीवीहरू, समाजसेवीहरू, नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति, सचिव , प्राज्ञ परिषद्का सदस्यहरू, महाशाखा प्रमुखलगायतका अधिकृत कर्मचारीहरू, ठेकेदार कम्पनी बिकोई-एम.के. का प्रबन्ध निर्देशक चक्रबहादुर शाहलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा पण्डितहरू उपप्राध्यापकद्वय ज्योतिषी हरिप्रसाद पौडेल र दर्शनशास्त्री केशवशरण अर्यालले वैदिक पूजा सम्पन्न गरेका थिए ।


सङ्ग्रहालय बनाउन लागिएको स्थानमा रहेको पुरानो घरजग्गा खरिदका लागि नेपाल सरकारले रकम उपलब्ध गराएपछि नेपाल प्रज्ञाप्रतिष्ठानले देवकोटा परिवारसँग खरिद गरी सङ्ग्रहालय निर्माण अघि बढाएको हो । सो क्रममा मरम्मत गर्न नसकिने विज्ञको राय अनुसार भन्दै पुरानो घर भत्काउँदा सो भत्काउन हुने थिएन भन्दै विरोध पनि भएको थियो । यस क्रममा सर्वोच्चमा मुद्दा समेत पर्यो । तर प्रज्ञा प्रतिष्ठानले मर्मत हुनै नसकिने विज्ञको राय अनुसार नै जीर्ण अवस्थाको पुरानो घरलाई हटाई पुरानै मोडेल अनुसारको बनाउने गरी काम अगाडि बढाएको जनाएको छ । साथै सो घर महाकविको जन्मघर नभएको पनि जनाइएको छ ।
स्मरणीय छ, “सङ्ग्रहालय भवन २०७८ चैत्रभित्र सङ्ग्रहालय भवन तयारी र २०७९ आषाढसम्म सङ्ग्रहालय सञ्चालन गर्ने उद्देश्यसहित अगाडि बढाइएको” प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

1 thought on “महाकवि देवकोटा सङ्ग्रहालयको शिलान्यास सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *