एउटा अनौठो लघु निबन्ध सङ्ग्रह

गद्य विविध पुस्तक समीक्षा

डा देवचन्द्र सुब्बा

नेपाली विभाग, सिक्किम विश्वविद्यालय

 

लगभग दुई वर्षअघि भाषाकै कार्यक्रम लिएर असम पुगेको थिएँ। उदालगुडी र विश्वनाथ चारआलीमा भाषाको दुई दिवसीय कार्यशाला थियो। प्रोफेसर कविता लामा गुरुआमा र म उक्त कार्यक्रममा सहभागी बनेका थियौँ। त्यस बेला असमका धेरै जना साहित्यकार, लेखहरूसँग हाम्रो परिचय भएको थियो। धेरै जना आत्मीय बनेका थिए अनि वहाँहरूले आआफ्ना पुस्तकहरू पनि उपहारका रूपमा हामीलाई दिनुभएको थियो। पुस्तकहरूका भीडमा एउटा अनौठो पुस्तक मसँग आइ पुगेको थियो। पढ्न चाहिँ भ्याएको थिइन । केही दिनअघि पढि सकेँ । रमाइलो लाग्यो। साहित्यको थुप्रै अभिप्राय हुन्छन् तीमध्ये सबैभन्दा महत्त्वपूर्ण चाहिँ आनन्द प्रदान गर्नु हो। तर सांस्कृतिक अध्ययनको यस परिवेशमा अध्येताहरू साहित्यको अभिप्राय सामाजिक विषय र विसङ्गतिको उठान र त्यसको समाधान हो भन्छन् र “हो‌ हो हुँदै हुँदै” त्यस्तै नै साहित्यको मुख्य उद्देश्य हो भन्ने लोकमा विश्वास पलायो। लोकले अहिले साहित्यको मुख्य उद्देश्य सामाजिक विषय र विसङ्गतिको उठान अनि समाधान हो भन्छ। सबैले मान्छन्। तर सबैले माने भन्दैमा त्यो सत्य हुँदैन त्यो अर्ध सत्य हुन सक्छ। म चाहिँ साहित्यको उद्देश्य त्यति मात्रै हो भन्ने पक्षमा छुइनँ। जे होस् यो अर्को प्रसङ्ग भयो। यहाँ एउटा अनौठो निबन्ध सङ्ग्रहको कुरा गर्दै थिएँ। असमका साहित्यकार लेखक रेवतीरमण सापकोटा सरको “वनस्पति कथायात्रा” नामक निबन्ध सङ्ग्रह रोचक छ। म यसलाई निबन्ध भन्छु। आत्मपरक, आख्यानात्मक गुण भएको पत्यारिलो तर रमाइलो गफले भरिएको यस निबन्ध सङ्ग्रहमा लगभग ८०-८२ वटा ससाना निबन्धहरू छन्। रमाइला लघु निबन्धहरू छन्।

रेवतीरमण सापकोटाको जन्म असमको बान्दरगुडी, अदालगुडीमा ६ अप्रेल सन् १९६७ मा भएको हो। हाल उनी उदालगुडी असममा नै उनले आफ्नो जीवनयापन गरिरहेका छन्। उनको पहिलो प्रकाशित कृति सन् २००८ मा प्रकाशित ‘बोर्डर’ कथा सङ्ग्रह हो। यसपछि उनको ‘सेउजीया कविता’ पर्यावरण विषयमा लेखिएको असमीय आधुनिक कविता सङ्ग्रह सन् २०१२ मा प्रकाशित भएको देखिन्छ भने उनको प्रकाशोन्मुख असमीय भाषामा नै शिक्षामूलक निबन्ध सङ्ग्रह ‘शिक्षा सेतुको अ आ, क ख’ रहेको छ।

म केही पढ्न‌ सक्ने भएपछि स्कुलको पाठ्य पुस्तकबाहेक अन्य केही पुस्तकहरू पढेको मलाई सम्झना छ। मैले सबैभन्दा पहिले (साहित्य सम्बन्धित पुस्तकर?) पढेका पुस्तकहरूमा भगीरथ रावतको “बाँस सल्किरहेछ” हो – यो पुस्तक मलाई आदरणीय देवेन्द्र सर -गाउँमा चाहिँ बडा भन्थेँ -ले पढ्नू-भनेर दिनुभएको थियो।) मलाई भेडीवालका सन्तानका साथै डम्बरसिंह गुरुङको राजनीतिक यात्राबारे यसै पुस्तकबाट ज्ञान भएको थियो। त्यसपछि डि बी जिम्बाको “अनौठो शृङ्खला” भन्ने पुस्तक पढेको थिएँ। यस पुस्तकले मेरो कलिलो बुद्धिमा गहिरो छाप दिएको थियो। यसमा साँच्चै अद्भूत लेखहरू छन्। दुईवटा पुच्छर भएको बिरालो, मैले स्वर्ग देखेँ, टमटरको कथा जस्ता थुप्रै लेखहरू पढ्दा कस्तो मज्जा आउँथ्यो । यसपछि विजय राई (बान्तवा) सरकै हुनुपर्छ “आत्म सम्बोधन र घाइते शब्दहरू” कविता सङ्ग्रह पढेको थिएँ। रोम्यान्टिक बनाइदिएको थियो मन (त्यस उमेरमा) यी पुस्तकहरू पढ्दा म कक्षा सातमा पढ्थेँ। एक वर्ष कक्षा सातमा नै आराम गरेको पनि थिएँ लामो समयपछि फेरि एउटा अनौठो निबन्ध सङ्ग्रह पढ्ने अवसर पाउँदा म मेरो बाल्यकालमा पुगेँ। साहित्यकार रेवतीरमण सापकोटाको “वनस्पति कथायात्रा” निबन्ध सङ्ग्रहमा हामीले दैनिक रूपमा खाने सागसब्जी मरमसालाहरूको आत्मकथा छ। खुबै रोचक, रमाइलो र जानकारीले भरिएका निबन्धहरू पढ्दा “बोरिङ” पटक्कै हुँदैन । मज्जा आउँछ। “फुलकोपीको आत्मकथा” यसरी सुरु गरिएको छ —

म फुलकोपी हुँ। म तरकारी जगतमा सौन्दर्यकी रानी पनि हुँ। म देख्नमा सुन्दर र सुडौल भएरै होला मौसममा मलाई नखाने सायदै कोही होलान्। म फुलजस्तै फुलेको देखेर मलाई खानेले फुलकोपी नाम जुराएका होलान्। मेरो जन्मथलो भने सुदूर साइप्रस र इटलीको भूमध्यसागरीय भनेर निश्चित गरिएको छ।

यति पढेर मलाई थाहा भयो फुलकोपी त कहाँबाट यहाँसम्म आइपुगेको रहेछ। मलाई यसको जानकारी थिएन। पढ्दै जाँदा अरू अरू जानकारी सँगसँगै रमाइला कुराहरू पनि आउँछन्।

“सिस्नुको आत्मकथा” यसरी सुरु गरिएको छ–

म सिस्नु हुँ। म एक प्रकारको बोट झार हुँ। मलाई पोल्ने झार पनि भनिन्छ। प्राचीन कालमा राजा, जमिन्दारहरूले चोर, अपराधी वा ऋण तिर्न नसक्ने भारतीयहरूलाई यातना दिन मलाई प्रयोग गर्ने गर्थे। चिसो पानीमा मलाई चोबेर चोर अपराधीहरूलाई छ्वाम छ्वाम हान्दा चोरले दिउँसै तारा देख्थ्यो। मलाई अङ्ग्रेजीमा Common Nettel/Stinging Nettel भनिन्छ। विशेष गरी मेरो उत्पत्ति भने पहाडी क्षेत्रमा हुन्छ तर तराईमा पनि वन जङ्गलमा म उम्रिन्छु।

राजनारायण प्रधान सरको शैलीको धेरै नजिक देखिने रेवतीरमण सरको यी लघु निबन्धहरूमा वनस्पति विज्ञानका कुराहरू छन्। लेखकले वनस्पति विज्ञानका जटिल कुराहरूलाई साहित्यिक रूपमा साधारण प्रकारले पाठकलाई दिने चेष्टा गरेका छन् जुन सफल र रमाइलो बनेका छन्। अङ्ग्रेजी र पत्रकारिता विषयको अध्ययन गरेका रेवतीरमण सरसँग वनस्पति विज्ञानका ज्ञान पनि रहेको उनका लेखहरूबाट थाहा लाग्छ।

साहित्य जटिलमा जटिल र सहजमा सहज पनि हुन सक्छ। विषयको चयन स्वतन्त्र रूपमा गर्न सकिन्छ तर साहित्य हुनाका लागि भने साहित्यिकता र त्यसको आध्यात्मिकता भने लेखमा हुनुपर्छ। यी कुरा “वनस्पति कथायात्रा”-का लेखहरूमा पाइन्छन्। तथापि पाठकको प्रतिक्रिया व्यक्तिगत हुने भएकाले अन्यका प्रतिक्रिया अरू अरू पनि हुन सक्छन्। तर मैले पढेका रमाइला पुस्तकहरूको सूचीमा रेवतीरमण सरको “वनस्पति कथायात्रा” पनि एउटा हो।

लेखक परिचयः डा देवचन्द्र सुब्बा सन्  २००३, सुनचरी पत्रिकामा पहिलो रचना कविता “विक्रम वेताल” को प्रकाशनसँगै साहित्यमा प्रवेश गरेका हुन् । टिस्टाभेल्ली, दार्जिलिङमा जन्मेका उनी हाल शरद नगर, शिवमन्दिर, सिलगढीमा वसोवास गर्छन् । उनका नेपाली कवितामा परिवेश (सन् २०२१) शोधमूलक लेख सङ्ग्रह तथा निस्सङ्ग यात्रु (सन् २०२३) जीवनी प्रकाशित छन् ।

1 thought on “एउटा अनौठो लघु निबन्ध सङ्ग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *