मीना श्रेष्ठ
खुसी छैन आकाश
बस्ती निदाएकै छन्
त्रासमा छ
कति खेर कहाँ खस्छ विपत्ति
कहाँ बिलाउँछ बस्ती
मृत्यु पर्खिरहेछ राजमार्ग
यस्तो बेला तिमी कविताको कुरा गर्छौ ?
सहर वर्षामा निथ्रुक्क छ
गाउँ बगेको खबर छ
अरू त अरू
कतै बस्तीमा नदी पसेको छ
कतै नदीमा बस्ती पसेको छ,
मन ओभानो छैन
आँखा ओभानो छैन
यस्तरी मन भाँचिएको बेला तिमी कविताको कुरा गर्छौ ।
वर्षा लाग्यो कि कहिले हिउँद आउला भन्यो
हिउँद लाग्यो कि
जाडो, शीत लहरले गर्मी पर्खि बस्यो
गर्मी लाग्यो कि लू , झाडा पखाला र डढेलोको त्रास
साँच्चै त्रासै त्रासले रुन बिर्से जस्तो जिन्दगी
यो वर्षा झन् रोइ रहन्छ हरदिन
तिमी कविताको कुरा गर्छौ ।
वर्षा र कविता
कविता र वर्षा
दुवै नदी जस्तै बगि रहन्छन्
म किनारमा बसेर भिजिरहिछु
र सायद रोइरहिछु जिन्दगी सम्झेर
तर वर्षामा भिज्नुको फाइदा छ प्रियतम्
रोएको कस्सैले देख्देन
यस्तो बेला तिमी
कविताको कुरा गर्छौ ।।
०००
कवि परिचयः खोटाङमा जन्मेकी मीना श्रेष्ठ २०५३ सालमा पहिलो कविताको प्रकाशनसँगै साहित्यको क्षेत्रमा पदार्पण गरेकी हुन् । उनका “बिस्कुन यो मनको” (२०७०), “फर्गेट एस्टर्डे” (२०७९) दुई कविता सङ्ग्रह प्रकाशित छन् । विद्यार्थी बेलादेखि राजनीतिमा सकृय उनी हाल कोशी प्रदेश सभा सांसद छिन् ।