नवौं भाषा दिवसमा विभिन्न पत्रपत्रिकाहरू पुरस्कृत

समाचार

२३ भदौ २०८१, काठमाडौं

भाषा आयोगले नवौं भाषा दिवसको अवसरमा मातृभाषामा प्रकाशित हुँदै आएका विभिन्न पत्रपत्रिकाहरूलाई एक कार्यक्रम बीच आज सम्मान गरेको छ । यसरी सम्मानित हुने पत्र-पत्रिकाहरूमा रचना द्वैमासिक (नेपाली), सितिमि (चाम्लिङ राई), लिब्जु-भुब्जु (वाम्बुले), लावा डगर (थारु), तान्छोप्पा मासिक (लिम्बू), बुङ्वाफा (बान्तावा राई), गुगुल्डि (डोट्याली), बज्जिकाञ्चल दैनिक (बज्जिका), भोजपुरी टाइम्स (भोजपुरी) तामाङ डाजाङ (तामाङ) र थौकन्ह (नेपाल भाषा) रहेका छन् ।
सो समारोह डा.गोपाल ठाकुरको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथि संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्मानित पत्रिकाका सम्पादक, प्रतिनिधिहरूलाई सम्मानपत्र अर्पण गरेका थिए ।
प्रमुख अतिथि मन्त्री पाण्डे, भाषा आयोगका प्रथम अध्यक्ष लवदेव अवस्थी, सदस्यस्यहरु अमर गिरी, मातृका पोखरेल, गोपाल अश्क, डा.पुष्करराज भट्ट, डा.उषा हमाल तथा आयोगका सल्लाहकार डा.रामावतार यादव, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, रचना द्वैमासिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रममा विभिन्न प्रदेश भित्र बोलिने मातृ भाषाका प्रतिनिधिहरूले आफ्नो क्षेत्रभित्रका विभिन्न भाषाहरूका अवस्थाहरूका बारे चर्चा गरेका थिए ।
सो अवसरमा भाषा आयोगका का.मु.सचिव डा. लोकबहादुर लोप्चनले भाषा आयोगका गतिविधिबारे प्रस्तुत गरेका थिए ।

(प्रतीक घिमिरे, काठमाडौंको सहयोगमा)

 

Leave a Reply