२५ साउन २०८१, काठमाडौं
रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा रमेश बिकलका समग्र कथा, उपन्यास र नाट्यकृतिहरु बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
“रमेश विकलका समग्र कृति” का तीन खण्डमा कथा खण्ड, उपन्यास खण्ड तथा नाटक खण्ड रहेका छन् र विसं २०१६ सालदेखि २०७५ सालसम्मका रचनाहरु समावेश गरिएका छन् ।
यी कृतिहरुको बिमोचन प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, प्रतिष्ठानका महासचिव तथा रमेश विकलका सुपुत्र साहित्यकार विजय चालिसे तथा मञ्चासिन अतिथिहरुले सामुहिक रुपमा गरेका थिए ।
बिमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले लेखक विकलसँग जीवनकालमा सामिप्यता रहेको र त्यसलर साहित्य र साहित्यकारको महत्व बुझ्न मद्दत पुगेको बताए ।
समारोहमा नाटक खण्डको शार्दूल भट्टराइले, उपन्यास खण्डको गोपी मैनालीले तथा कथा खण्डको प्रा.डा. हेमनाथ पौडेलले समीक्षा गरेका थिए ,
यी कृतिहरुको सम्पादन ठाकुर शर्मा भण्डारीले गरेका हुन् भने प्रकाशन खर्च गोकर्णेश्वर नगरपालिकाले उपलब्ध गराएको थियो ।
समारोहमा प्रतिष्ठानका महासचिव विजय चालिसेले धन्यवाद ज्ञापन गर्दै समग्र कृति प्रकाशनको औचित्यमाथि प्रकाश पारेका थिए ।
सभापतिको आशनबाट प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेले सभा विसर्जन गर्दै नेपाली साहित्यमा रमेश विकलको महत्व र स्थान उच्च रहेको बताए ।
स्मरणीय छ, रमेश विकल कथा, उपन्यास, नाटक बिधामा मात्र नभई यात्रा संस्मरणमा पनि उत्तिकै विशिष्ट हस्ताक्षर हुन् । उनको पहिलो यात्रा संस्मरण “सात सूर्य एक फन्को” अत्यन्त लोकप्रिय भएको थियो । साथै उनको “नील गिरीको छायाँमा” पनि प्रकाशित छ ।
उनको उपन्यास “अविरल बग्छ ईन्द्रावती” पठनमा मात्र होइन टिलिसिरियल बनेपछि झन् लोकप्रिय भएको थियो ।
उनको वाल साहित्यमा पनि प्रशस्त योगदान रहेको छ ।