माटो बोल्छ (छन्द : मन्दाक्रान्ता)

कविता

सुदीपभद्र खनाल

रोकी सारा कलह म जुटूँ शक्तिमा एकताको
धोई सारा मयल म उठूँ विघ्न वाधा व्यथाको
बाली ज्योत्स्ना झलमल बनूँ ज्योतिले सिर्जनाको
बोकी झण्डा हरपल उठूँ पूर्ण स्वाधीनताको

आभा बोकी उदयगिरिको स्वर्णझैँ दिव्य चम्कूँ
शोभा बोकी सकल ऋतुको चन्द्रमा झैँ म चम्कूँ
नौलो साँच्चै नवयुग दिने भोर नौलो म भेटूँ
नेपालीका हृदयतलको दुःख सारा म मेटूँ

पोखी आफ्नै श्रम सिप कला कन्दरा चम्चमाऊँ
खोपी छाती भव महकिने फूल नौला फुलाऊँ
अग्लो पारी अझ मनुजता शान्तिको गीत गाऊँ
सारा धर्ती जगमग हुने सिर्जना भोर ल्याऊँ

अग्लोस् मेरो यश र गरिमा व्योम उत्ताल जस्तै
चकोस् आभा रविकिरणको ज्योतिमा शैलजस्तै
नेपालीको जय जय हुने कर्मको गीत गाऊँ
नाघी वाधा थरिथरि चिनो वीरताको उठाऊँ

फ्याँकी मैलो छवि गरिबको ऊर्ध्व निर्माण गोडूँ
न्याकी आफ्नै डर र लघुताभास चैतन्य ओढूँ
डाँडा पाखा बन चहुरमा नव्य ज्योत्स्ना फुलाऊँ
चम्कुन् मेरा कण कण चुमी शुभ्र संसार पाऊँ
~
कवि परिचयः कवि सुदीपभद्र खनाल पल्याङखोला, तनहुँमा जन्मेका हुन् र सन् २००३ देखि भर्जिनिया अमेरिकामा बसोवास गर्छन् । उनले २०४५ सालमा हवाई पत्रिकामा “माली” शिर्षक कविताको प्रकाशनसँगै साहित्य यात्रा प्रारम्भ गरेका हुन् । उनका “मधुकलश” (२०६०), भुईंफूलको गीत (२०७२), रोदनोत्सव (२०७५) तथा “यायावर सपना” (२०७८) कृतिहरु प्रकाशित छन् जसमध्ये रोदनोत्सव दर्शन काव्य हो भने अरु कविता सङ्ग्रहहरु हुन् । नेपालमा उनी नेपाल राष्ट्र बैङ्कको प्रकाशन “मिर्मिरे” को सम्पादनमा संलग्न थिए ।

Leave a Reply