अलिखित कथा

कथा

राजबाबु श्रेष्ठ सागर

 

समय – बिहानको ७ बजे

स्थान – कुशमाढी

 

एकाबिहानै ढोलकेको घरमा डम्मरे कुनै काम विशेषले आउँदा माथि टाँड्बाट रगत बगेर तल भुइँमा रगतैरगत फैलिएर पनि सुकेको एक्कासि देख्यो उसले ।

डम्मरलार्ई शंका लाग्यो र टाँडमाथि उक्लियो ऊ । खाटमा ढोलकेको नग्न लास मुढोझैँ लडेको देखेर ऊ आत्तियो । अझै, उसले लासलाई ध्यानले हेर्दा ढोलकेको राइफल शरीरदेखि अलग भएको देख्यो उसले । मर्डर केस हो कि आत्महत्या उसले केही ठम्याउनै सकेन ।

ऊ आत्तिदै तल झर्यो र चिच्याउँदै “ढोलके मर्यो, ढोलके मर्यो ।” भन्दै हल्लाको डमरु बजायो ।

उत्तिखेरै गाउँलेहरू गुरुरु गर्दै ढोलकेको आँगनमा जम्मा भए । कोहीकोही टाँड्माथि चढेर हेर्न थाले । जजसले ढोलकेका लास देखे तिनीहरू सबै अचम्मित भए ।

एकान दोकान गर्दै ढोलकेका आँगनमा एक्कासि मान्छेहरू खाँदाखाँद भए । त्यसरी त गुन्द्रुक पनि खाँदिदैनन् थिए होलान् । मानौँ, त्यहाँ एक मुठी हावासम्म छिर्ने ठाउँ कतै थिएन ।

एकछिनपछि गाउँका गन्नेमान्ने व्यक्ति बाबूसाहेब पनि आए र ढोलकेको लासलाई हेरेर भने, “यो त मर्डर केसजस्तो छ । ऐ केटा हो, कसैले लासलाई हात नलगाओ । जाओ र गौशाला इलाका प्रहरी कार्यालयमा गएर तुरन्तै खबर गरिदेओ ।”

रमण छेउमै उभिरहेको थियो । ऊ दौडिदै आफ्नो घरमा गयो र बाइक स्टार्ट गर्दै इलाका प्रहरी कार्यालय दौडियो ।

रमिता हेर्नेका भिड झन्झन् बढ्दै गए । कोही आउँदै थिए भने कोही जाँदै थिए ।

यतिकैमा, रमण प्रहरीको अघिअघि बाइक दौडाउँदै आइपुग्यो । बाइकलाई स्ट्याण्ड लगाएर ऊ पुनः ढोलकेको मृत्युको पहेली बुझ्न भिड्लाई छिचोल्दै भित्र पस्यो र टाँडमाथि चढ्दै लासनिर पुग्यो ।

पछिपछि प्रहरीको सरकारी जिप पनि धुलो उडाउँदै आएर डगरमा घ्याच्च रोकियो ।

सबै प्रहरी जवानहरू टाँडमाथि चढे र लासलाई तन्नाले घेरे । त्यहाँ देखे उनीहरूले ढोलकेको शरीर र राइफल अलगअलग भएका दृश्य । ससेज फ्राइ गर्नुअघि छुरीले चिरैचिरा पारेझैँ बीभत्स चिरैचिरा पारी काटिएको थियो उसको राइफल ।

“खिचिक् … ।”

“खिचिक् … ।”

प्रहरी धनराजले विभिन्न एङ्गलबाट लासको राइफलको फोटोहरू खिच्यो । लासलाई त्यही तन्नाले ढाकियो ।

मुचुल्का तयार पारियो गाउँलेहरूबाट र पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्यही जिपमा लासलाई हाली लगियो ।

भिडका सबै आँखाहरू एकैसाथ जिप हुइँकिएतिर पछ्याउँदै पछिपछि कुदिरहे जिप आँखाबाट नहराउन्जेल ।

 

***

 

भोलिपल्ट

 

भोलिपल्ट ढोलके आफूखुसी नै लिङ्ग काटी मरेको हो भन्ने पोष्टमार्टम रिपोर्टबाट प्रमाणित भयो ।

उसको मृत्यु न कसैलाई शोक बन्यो न त समाचार नै ।

 

***

 

एकवर्षपछि

 

आकाशबाट सेतो बादलको एक टुक्रा उड्दै आयो र रमणको छाती वरिपरि भुसुना घुमेझैँ एकछिन घुम्यो र एकाएक त्यहीँको त्यहीँ हरायो ।

रमण झसङ्ङ भई झस्क्यो । एकाएक उसको आङ जिरिङ्ङ भयो । कपालदेखि लिएर शरीरभरिका रौँहरू सबै एक्कासि ठाठाडा भई आए उसका । उसलाई एकाएक भनन्न पनि भई आयो । उसलाई कुनै सेतो घोडाको छायाजस्तो आकारले पिठ्युँमा बोकी बेपत्ता उडाई लगेजस्तो लाग्यो ।

एकैछिनमा ऊ एउटा अनकन्टार जङ्गलबिच अवस्थित एउटा विशाल पुरानो हवेलीभित्र पुग्यो । जुन हवेली योभन्दा पहिले उसले बिपनामा त के सपनामा पनि कहिल्यै देखेको थिएन । हवेली पूर्ण रूपमा फोहरै फोहरले भरिएका थिए । जताततै माकुराका जालोले जेलिएका थिए ।

रमण डरले थर्थर काँपिरहेको थियो । ऊ बिस्तारैबिस्तारै बिरालोको चालमा जालोलाई चिर्दै कोठाकोठामा प्रवेश गरिरहेको थियो । उसको शरीरभरि जालो टाँसियो । मानौँ, धुनियाँले कपास फड्किदा शरीरभरि कपासैकपास भएझैँ । जालोले ऊ सेताम्मै भयो ।

हवेलीको दोस्रो कोठापछि ऊ तेस्रो कोठामा प्रवेश गर्न भनेर ढोकानिर पुग्दै थियो । अचानक कट्कट कट्किदै बन्द ढोका आफैँ बिस्तारै खुल्दैगयो । मानौँ, कोठाभित्र कोही अघिनै आगन्तुक पाहुनालाई स्वागत गर्न बसेको जस्तो ।

यो दृश्य देखेर रमण झन् डरायो । उसले दायाँ हेर्यो बायाँ हेर्यो । आफ्नोपछि पनि केही आइरहेको छ कि भनेर पछि फर्की हेर्यो । तर अहँ, कहीँकतै चरोमुसोसम्म पनि केही थिएनन् । ऊ बिस्तारै कोठाभित्र प्रवेश गर्यो ।

“ढ्याम्म… ।”

एक्कासि ढोका ढ्याम्म भई बन्द गरेको आवाज आयो ।

उसले पछि फर्की ढोकातिर हेर्यो तर ढोका भने खुलै थियो ।

ऊ झन्झन् डरायो । ऊ झन्झन् आत्तिदै गयो । उसको शरीर ढक्क भई फुलेर आयो । उसको होस हवासै उड्यो । शरीरभरिका रौँहरू एक्कासि जिङ्ग्रिङ्ङ ठाडो भई आए ।

ऊ हवेलीको अर्को ठुलो हलभित्र प्रवेश गर्यो ।

त्यो हल झन् मानव अस्थिरपञ्जरै पञ्जरले टनाटन भरिएका थिए । कहीँकतै खुट्टा राख्नेसम्म ठाउँ पाएन उसले ।

उसले आफ्नो खुट्टाले त्यही कङ्कालहरूमाथि टेक्दैटेक्दै हलको उत्तरपूर्वको कुनामा रहेको पुरानो कुर्सी र टेबुलनिर पुग्यो र त्यही कुर्सीमा थचक्क बस्यो ऊ ।

“ढ्याम्म… ।”

एक्कासि हलभित्रका सबै झ्यालढोकाहरू “ढ्याम्म” आवाज गर्दै एकैसाथ बन्द भए । हल पूरै अन्धकारमय भयो ।

फेरि उत्तिखेरै निलो प्रकाशले हल प्रकाशमान भयो ।

हलभित्रका एकेक कङ्कालहरू आआफ्ना अस्थिहरू एकेक गर्दै जोडिदै गएका निलो प्रकाशमा स्पष्ट देखिइरहेका थिए । सबै कङ्कालहरूमा आआफ्ना अस्थिहरू जोडिइसकेपछि कङ्कालहरू आआफैँ नृत्य गर्न थाले ।

कङ्कालहरूले यसरी नृत्य गर्दैगर्दै रमणलाई चारैतिरबाट घेरे र जोड्जोड्ले सबै एकैसाथ हाँस्न थाले ।

फेरि उत्तिखेरै निलो प्रकाश एकाएक अँध्यारोले कुपुक्कै निल्यो र चारैतिर अँध्यारोको कालो समुद्र फैलियो ।

त्यसपछि हलको पश्चिमदक्षिण कुनामा कुनै स्त्री रोएकी आवाज सुनियो । त्यही आवाज उत्तिखेरै अर्को कुनामा सुनियो । फेरि त्यही आवाज अर्को कुनामा सर्यो । हुँदाहुदै त्यही रोएकी आवाज एक्कासि उसकै छेउ आई रोई ।

रमणको सातोपुत्लो उडनुसम्म उड्यो । ऊ आत्तिएर कहालिनुसम्म कहालियो । तर म्युट् गरिएको टिभीझैँ उसको मुखबाट कुनै आवाज निस्केन । कुनै लाटालाटी इसाराले आफ्नो मनको भावना अरूलाई बुझाउन खोज्दा बोली नफुटेझैँ ऊ शब्दविहीन भयो । उसले अविरल प्रयास जारिराख्यो चिच्याउन र कराउन तर मुखबाट कुनै शब्दको ध्वनि उच्चारित भएन ।

तर भने उसलाई यो रुवाइ धेरै पल्ट कहीँ सुनेसुनेजस्तो लाग्यो ।

अचानक रुवाइ बन्द भयो ।

उत्तिखेरै प्रोजेक्टरबाट आउने फोकसजस्तो यल्इडि फोकस सेतो भित्तामा आयातकार भएर फैलियो । एउटा कुनै छप्पन्न इन्चको टिभीजस्तै पूर्ण स्क्रिन बन्यो । त्यही चारपाटे यल्इडि स्क्रिनमा कुनै जिउँदो महिलाको सुरुवालकुर्ता लगाएकी तर टाउको नभएकी अर्ध शरीर भ्यात्ल्याकभ्यात्ल्याक गर्दै हिँड्दै गरेकी दृश्य स्क्रिनमा जूम् हुँदै गरेको स्पष्ट देखियो ।

त्यो शरीरको दृश्य योभन्दा पहिले पनि उसलाई कहीँकतै देखेदेखेजस्तो लाग्यो ।

उसले मनमनै बरबरायो, “यो शरीरको आधा भागको हिँडाइ र पहिरन मैले कहीँकतै देखेको हुनुपर्छ ।”

रमणले कन्चटमा चोर औँला राख्दै दिमागमा जोड् दिदै खुब सम्झने कोसिस गर्यो । तर सम्झिन सकेन उसले ।

बिस्तारै स्क्रिनमा अर्ध शरीर जूम् हुँदै आयो । स्क्रिनभरि बडेमानको शरीर देखियो । अब भने रमणलाई झट्ट याद आयो ।

“अहो ! यो त ढोलकेको छोरी लठ्योरी हो ।” अनायासै उसको मुखबाट फुत्त निस्कियो ।

फेरि निमेषमै स्क्रिनबाट शरीर हरायो ।

फेरि स्क्रिनमा टाउको मात्रै तुर्लुङ्ङ लट्कियो र त्यो अर्ध शरीर हिँड्दै आई टाउकोमा ठ्याक्क जोडियो ।

“अहो ! यो त ढोलकेकी छोरी हो ।”

“हो म त्यही ढोलकेको छोरी लाटी हुँ । हो म त्यही ढोलकेको छोरी लठ्यौरी हुँ ।” स्क्रिनमा देखिएकी लाटीले भनी ।

“तिमी त लाटी थ्यौ त, मात्र इसाराले कुरा गर्थ्यौ । फेरि तिमी आज कसरी बोल्ने भयौ ?”

“हो म जिउँदो हुँदा, बोल्न सक्दिनथेँ । ऐले म त्यो लाटी हुइनँ । म त लाटीको केवल आत्मा हुँ । आत्माको कुनै जिब्रो हुँदैन । आत्माको कुनै शरीर हुँदैन । आत्माको कुनै उमेर हुँदैन । त्यसैले, आत्माको कैल्यै मृत्यु हुँदैन ।”

“ऐले देखिइरहेकी तिम्रो यो शरीर के यो तिम्रो शरीर होइन ?”

“हो, तिम्रो आँखामा मेरो यो शरीर नै हो तर म ऐले शरीरमा छुइनँ । यो तिम्रो नितान्त भ्रम हो, भ्रम । मैले त तिम्लाई केवल आफूलाई चिनाउनको खातिर लाटीको शरीर धारण गरेको मात्र हुँ ।”

“भन, तिमी मबाट के चाँहन्छ्यौ ?”

“हो, बल्ल तिम्ले मतलबको कुरा गर्यौ ।”

“तिमी पनि मतलबकै कुरा गर ।”

“पैले तिमी यो भन, लाटालाटी मान्छे हुन् कि होइनन् ?”

“हुन्, कस्ले भन्यो तिम्लाई होइनन् भनेर ?”

“त्यसो हो भने, लाटालाटीभित्र माया, प्रेम, यौवन, बैँस र यौन चाह हुन्छन् कि हुँदैनन् ?”

“हुन्छन्, कसले भन्यो तिम्लाई हुँदैनन् भनेर ?”

“उसो भए, मैले तिम्लाई प्रेम गर्न मिल्थ्यो कि मिन्दैनथ्यो ?”

“………”

यो पटक भने, रमण निशब्द भयो । उसले लाटीको प्रश्नको जबाफ तुरन्तै दिन सकेन ।

यत्तिकैमा स्क्रिन ब्ल्याकआउट भयो ।

फेरि अचानक स्क्रिनमा लाटी रिसले रातोपिरो भएकी देखिई ।

“यत्ति भन, मिल्थ्यो कि मिल्दैनथ्यो ?”

“मिल्थ्यो, तर त्यस्ता प्रेमलाई एकतर्फी प्रेम भन्छन् ।” रमणले भन्यो ।

“मैले तिमीसँग प्रेम प्रस्ताव राखेकी भए के तिमी मसँग प्रेम गर्थ्यौ ?”

“गर्दिनँ थेँ ?”

“किन ?”

“बारीमा फुल्ने फूल बारीमै फुल्नुपर्छ, आकाशमा तारा बनेर फुल्ने चाहा  गर्ने होइन ?”

“गन्धेलाई चिन्छौ ?”

“को गन्धे ?”

“माथि नेवारटोलको गन्धे ।”

“ए, चिन्छु ।”

“मैले बुझेकी थेँ, पित्तल र सुन कैल्यै एउटै हुनै सक्दैनन् । त्यसैले, गन्धे लठ्यौरो भएको कारण मैले ऊसँग प्रेम गरेकी थेँ । मलाई लाग्यो, ऊ मजस्तै भएको कारण उसले मेरो भावना बुझ्न सक्छ ।

त्यसैले, गन्धेलाई मैले प्रेम गर्न थालेँ । उसलाई मेरो आफ्नो सम्पूर्ण यौवन सुम्पेँ । गन्धे र मेरोबिच धेरै चोटि यौन सम्पर्क भयो । म आनन्दित हुन्थेँ र ऊ पनि । म ऊसँग बिहे गर्न चाँहन्थेँ । तर ऊ महाको धोकेबाज निक्ल्यो ।” लाटीले रुँदै सुनाई रमणलाई ।

“कस्तो धोकेबाज ?”

“मैले, उसलाई हाम्रोबिचको सम्बन्ध कसैलाई नसुनाउनू भनेकी थेँ । तर उसले गाउँगाउँ सबैलाई सुनाई हिँड्न थाल्यो । अन्ततः मेरो बालेसम्म था पाउनु’भो । बाले मलाई बेस्मारी मर्ने गरी कुट्नुभो ।”

यति भनी सकेपछि लाटी ह्वाँह्वाँ रोई ।

लाटीको रुवाइले रमणको अनुहार एकाएक बादलले छोपेको घामजस्तै अँध्यारो भएर आयो ।

“यो सब कहानी किन सुनाउँदैछ्यौ तिमी मलाई ?”

“तिमी एउटा लेखक हौ । मलाई था’छ तिमी सहरमा बसेर उपन्यास र कथाहरू लेख्ने गर्छौ । त्यसैले, म चाहन्छु, मैले भोगेकी मेरा अलिखित बिभत्स कथाहरू लेखिनुपर्छ, छापिनुपर्छ, पढिनुपर्छ र सारा दुनियाँले थाहा पाउनुपर्छ । त्यसैले, मैले यस कामको लागि तिम्लाई चुनेको हुँ ।”

लाटीले रोदनयुक्त स्वरमा दुई हात जोड्दै आफ्ना सम्पूर्ण बीभत्स कथाहरू आँसुसँग मुछ्दै रमणलाई सुनाई ।

अचानक स्क्रिन कालो भयो ।

लाटीको कुरामा दम थियो । पीडा थियो । ताप थियो । सन्ताप थियो ।  ऊ वेदनाको आगोमा पलपल डढिरहेकी थिई । अँध्यारोमा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उसको कथामा एक महापहेली लुकेको थियो ।

त्यसैले, रमण लाटीको कुरामा पग्लियो । ऊ बरफ पग्लेझैँ पानीपानी भयो । उसका आँखाबाट आँसुका रूपमा लाटीका कारुणिक कथाहरू तपतप बग्न थाले । उसले आफूलाई दरिलो बनाउने कोसिस गर्यो । अन्ततः ऊ लाटीको कथा लेख्ने निर्क्यौलमा पुग्यो ।

“यदि, यस्तो हो भने, म अवश्य तिम्रो कथा लेख्नेछु ।” रमणले यति भन्दै पिठ्युँमा भिरी राखेको झोलाबाट एउटा नोटबूक र पेन निकाल्यो ।

कालो स्क्रिनमा एक्कासि उज्यालो भएर आयो । स्क्रिनमा लाटी उज्याली देखिई ।

“अनि !”

रमणले यति प्रश्न गर्दै कथा लेख्नलाई नोटबुक पल्टायो । पेनको कभर फुत्त थुत्यो र लेख्नलाई तयार भयो ।

 

पूर्व घटना नं. १ –

 

“मनमा बदनामीको आगो दन्किनुसम्म दन्क्यो । उज्यालोमा लोभिएर मर्नै गएको पुतलीझैँ म त्यही आगोमा म पटकपटक जलेँ र पटकपटक छट्पटिएँ ।

त्यहीबेला गाउँमा, बच्चाबुच्ची पुगेका महिलाहरूका लागि भनेर निःशुल्क अपरेशन गराउने सरकारी शिविर टोली खटिएका थिए । त्यही शिविर टोलीमा बाले मलाई जबरजस्ती अपरेशन गराई मेरो पाठेघर नै फाल्दिन लाइदिनुभो । मलाई पूर्ण रूपमा ठिक हुनलाई पूरा एकमहिना लाग्यो ।”

“त्यसपछि त झन् म बलात्कारको शिकार बन्न थालेँ ।” यत्ति भनी सकेपछि लाटी ह्वाँह्वाँ रोई ।

एक्कासि स्क्रिन झ्याप्पै निभी हल अन्धकारमय भयो ।

“अनि !”

“……….”

फेरि एकछिनपछि स्क्रिनमा लाटी देखिई ।

 

पूर्व घटना नं. २ –

 

“एकदिन, सुब्बाको मकैबारीमा म घाँस काटिरहेकी थेँ । पछाडिबाट कसैले मलाई उत्तानो पारी लडाई एक्कासि ममाथि घोडा चढ्यो । बल्ल थाहा पाएँ मैले आफैँले घाँस काट्दै गरेकी मकैबारीको छिमेकी साहू सुब्बा रहेछन् तिनी ।

मैले सकीनसकी बल्लबल्ल उनलाई लात्तीले हिर्काउन सफल भएँ र भागेँ उनीबाट फुत्किएर । तर उनी मपछिपछि दौडिदै आए । म भ्यात्ली लाटी यसै नि काँ कुद्न सक्थेँ र ? उनले उत्तिखेरै मलाई भेटिहाले र मेरो चुल्ठो समाती पछारे ।

म पछाडि दुई हात टेकी अगाडि दुई खुट्टा चलाउँदै पछिपछि सर्दै गएँ । उनले मेरो अघिबाट दाइँने खुट्टाको सुरुवाल फुत्त थुते अनि देब्रे खुट्टाको सुरुवाल पनि थुते ।

म भित्री कट्टु कैल्यै लाउँदिन थेँ । सुरुवाल थुतिएपछि म नाङ्गी भएँ । मैले उत्तिखेरै देब्रे हातमाथि दाइँने हात खाप पारी आफ्नो गुप्ताङ्ग छोप्ने कोसिस गरेँ । त्यसपछि म पछि सर्नै सकिनँ । आफू भाग्नुभन्दा पनि आफ्नो गुप्ताङ्ग बचाउन मलाई ठुलो कुरा हो जस्तो लाग्यो । उनले आफ्नो कट्टुको इँजार स्वार्र पारी ताने र कट्टु फुत्त तल झारे ।

उनको लिङ्ग पैलेदेखि कै उत्तेजित भएर बसेको रहेछ । ममाथि बिजुलीको चालमा घ्याप्पै घोडा चढिहाल्यो । र मेरो कुर्ता ध्यार्र पारी च्याती मेरो मुखमा कोचिदिए र दुई हातले जोड्ले थिचेर हलचल गर्नै नसकिने गरी थिची राखे ।

म भुतुक्क भई दुख्नुसम्म दुखेँ । उनले मलाई अघाउन्जेल बारम्बार बलात्कार गरीसकेपछि मलाई लास बनाई छोडिदिए ।”

एक्कासि स्क्रिन कालो भयो ।

एकछिनपछि दिगम्बर अवस्थामै टुक्रुक्क बसी घुँडालाई दुई हातले कसी घुँक्कघुँक्क गर्दै रुँदै गरेकी लाटीको पिठ्युँपट्टिको बीभत्स दृश्य स्क्रिनमा देखियो ।

रमण पनि निस्तब्ध भयो ।

“रुन छाड्देऊ, जे भो भो । अब मलाई थप अरू तिम्रो घटनाको बारेमा बताऊ ।” रमणले भन्यो ।

“मसँग के नै थ्यो र ? जो मैले साँच्नुपर्ने । मसँग बचेकै के थ्यो र ? जो मैले बचाउनुपर्ने । एकाएक मलाई आफैँदेखि घृणा लागेर आयो र आत्महत्या गरी मरूँजस्तो लाग्यो । तर पनि म मर्न सकिनँ ।”

यत्ति भन्दै लाटी विक्षिप्त भई ह्वाँह्वाँ रुनसम्म रोई ।

लाटीको कथाको सन्तापले पग्लिएछ क्यारे रमण, ऊ पनि लाटीसँगै बग्न थाल्यो ।

“तिम्रो कथामा साँच्चै दम छ । तिम्रो कथा सुनेर म स्वयम् भावविह्वल भएँ । तिम्रो कथा सकियो कि अझै  बाँकी छ ?” रमणले भावुक हुँदै भन्यो ।

“तिम्ले लेख्नुपर्ने वास्तविक कथा अझै बाँकी छ कथाकारज्यू ।”

“कस्तो कथा ?”

“यो यस्तो कथा हो । जो तिम्ले सोचेभन्दा फरक कथा हो ।”

“कस्तो फरक कथा ?”

“रक्षक नै भक्षकको कथा ।”

“कस्तो भक्षकको कथा ? म तिम्रो पहेली सुन्न बसेको होइन । मलाई सिधा कथा सुनाऊ ।”

“अबको कथा तिम्ले मुटु दह्रो पारी सुन्नुपर्ने छ ।”

 

पूर्व घटना नं. ३ –

 

“म चार वर्षकी छँदा मेरी आमा मरिसकेकी रै’छिन् । आमा मरेकी नै बिस वर्ष भयो । बाले मलाई पालनपोषण त गर्नुभो । जब म तरुनी भएँ । बाकै गिद्घे नजर ममाथि परिरहको रहेछ । तर म भने बेखबर थेँ ।

बा सोमबार र बिहीबार हाटमा मासु काट्ने काम गर्नुहुन्थ्यो । त्यसैले, बा राति घर आउँदा पूरै मातेर आउनुहुन्थ्यो । राति सुत्ने बेला बाले मलाई “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भनेर खोइ कुन्नि के दबाई दिनुहुन्थ्यो । म होलान् त भनेर विश्वास मानी ज्ञानी बनी खाइदिन्थेँ ।”

लाटीका यी सबै दृश्यहरू एकेक गर्दै स्क्रिनमा देखिए ।

“त्यो दबाई खाइसकेपछि मलाई झपझप निद्रा लागेर आउँथ्यो । म निदाइहाल्थेँ । एकैचोटि म बिहान ब्युँझिन्थेँ । तर ब्युँझेपछि भने मलाई खोइ कस्तोकस्तो असहज अनुभूति भएर आउँथ्यो । मेरो कपडामा पनि माड् लागेजस्तो कक्रक्क सेतोसेतो पदार्थ लागेको हुन्थ्यो । तर म वास्तै गर्दिनथेँ ।

पछि गएर मलाई बादेखि बिस्तारै शंका लाग्न थाल्यो । एकदिन, बा त्यसरी नै हाटबाट घर राति मातेर आउनुभो । मलाई सुत्ने बेला त्यसरी नै “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भन्दै हातमा दबाई थमाउनुभो । तर मैले बाको सामुन्ने खाजस्तो मात्रै गरेँ र दबाई नथा’पाउने गरी फाल्दिएँ ।

अहँ, मलाई पहिलेझै निद्रा लाग्दै लागेन । तर पनि म निदाजस्तो नाटक गरी सुतिरहेँ ।

मेरो कोठामा डिबिया बलिरहेको थ्यो । करिब यस्तै आधा घण्टापछि बा मेरो बिछ्यौनामाथि चढ्नुभो । मैले आफ्नो आँखा बन्द गरी सुतिरहेकी थेँ । बाले मेरो बिस्तारै सुरुवाल तान्न थाल्नुभो । मैले बिस्तारै चिम्से आँखा पार्दै बालाई हेर्ने कोसिस गरेँ । बा पुरै नग्नावस्थामा लिङ्ग उत्तेजित पारी मलाई बलात्कार गर्ने कोसिस गरिरहेको थाहा पाएँ ।

म एक्कासि छटपटाएँ । बाले हल्ला भो भने लाजमर्दो हुन्छ भन्ठानेछ क्यारे, उत्तिखेरै बिजुलीको चालमा मेरो छातीमाथि चढ्दै दुई हातले मेरो घाँटी कसेर दाबेको दाब्यै गर्नु’भो । मेरो सासै ठ्याक्कै रोकियो । अन्ततः मेरो मृत्यु भो ।”

स्क्रिनमा लाटीलाई घाँटी दाबी मारिएको बीभत्स दृश्य देखिदै थियो । एक्कासि स्क्रिनको लाइट अफ् भयो ।

हल एकछिन सुनसानमय भयो । रमणका आँखा एक्कासि भरिएर आए । उसलाई लाटीका यी दयनीय दृश्यहरूले मनमा आगोले झैँ नराम्रो गरी डाम्यो ।

“अनि के तिम्रो कथा सकियो ?” रमणले भावुक हुँदै भन्यो ।

एक्कासि स्क्रिनमा लाटी ह्वाँह्वाँ रोइरहेकी देखिई । एकछिनसम्म रोइरही ।

“छैन ।”

“अनि भन न त ।”

“त्यसपछि मैले सबैसँग बदला लिएँ ।” उसले मन दह्रो बनाई भनी ।

“ह्वाट् ? तिम्ले मरेर कसरी बदला लियौ ?”

“मान्छे मरेपछि जब आत्मा निस्किन्छ शरीरबाट । तब त्यो आत्मा प्रेतात्मा बनी निकै शक्तिशाली बन्दोरहेछ । ऊ उत्तिखेरै दृश्यमा पनि देखिन सक्छ र उत्तिखेरै अदृश्य पनि हुन सक्छ । ऊ उत्तिखेरै मान्छेको रगत, नसा र दिमागभित्र पनि प्रवेश गरी असर पार्न सक्ने क्षमता प्राप्त गर्छ ।

हो, मैँ पनि प्रेतात्मा बनेँ र त्यसरी नै एक अद्भुत शक्ति प्राप्त गरेँ ।” लाटीले यत्ति भनी ।

“वाहियात् ! यस्तो नि कैँ हुन्छ ?”

“के तिम्लाई विश्वास लागेन ?”

“अहँ ।”

“ऐले तिमी काँ छौ ?”

“म पुरानो हवेलीभित्र ।”

“याद गर त तिमी, एउटा बादलको टुक्रा आई तिम्रो छाती वरिपरि घुमी हराउँदा तिम्लाई एक छुट्टै अनुभूति भाथ्यो कि थेन ?”

रमणले एकेक गर्दै पूर्व दृश्य सम्झ्यो र भन्यो, “थ्यो थ्यो ।”

“हो, त्यो एक टुक्रा बादल मैँ थेँ । त्यो छायाजस्तो घोडाको प्रेतात्मा पनि मैँ थेँ । बुझ्यौ ?” लाटीले अर्थ्याउँदै भनी ।

“अँ, बुझेँ, बुझेँ । भन तिम्ले कसरी बदला लियौ ?

“म मेरो तेह्रौँ तिथि सकेपछि पनि मलाई आफ्नो घर छाडी कहीं जान मनै लागेन । मेरो सामुन्ने म आफ्नै बालाई देख्दा औडाहा भई आउँथ्यो र बालाई कसरी मार्ने भनी छटपटिन्थेँ ।

मलाई घाँटी दाबी मार्ने आफ्नै बलात्कारी बा, मलाई विश्वासघात गर्ने आफ्नै प्रेमी गन्धे र मलाई बलात्कार गर्ने सुब्बालाई कसरी मार्ने भनेर जुक्ति सोचिरहन्थेँ ।

एक्कासि मभित्रको मेरो मनले भन्यो, “ऐ लाटी, तँ ऐले मान्छे होइनस् मान्छे । तँ त मरेकी प्रेतात्मा होस् प्रेतात्मा । तँसँग अपार शक्ति छ । किन तँ आफ्नो शक्तिको प्रयोग गर्दैनस् ?”

अनि पैले आफ्नै बालाई मार्ने निर्णय गरेँ । बा त्यो दिन पनि हाटबाट रक्सी पिएर आउनु भाथ्यो । बा सुत्न भनी माथि टाँडमा उक्लिनुभो र लुङ्गी खोलेर उत्तानो परी सुत्नु’भो ।

 

बदला घटना नं. १ –

 

मध्येरातमा बालाई निद्रामा पारी म आफ्नो प्रेतात्मा शक्तिद्वारा उनको शरीरभित्र छिरेँ ।”

एक्कासि स्क्रिनमा लाटी, लाटीको रूपबाट ढोलकेको शरीरमा सेतो धुवाँजस्तो भई प्रवेश गरेकी दृश्य देखियो । अनि फेरि ढोलके एक्कासि जुरुक्क उठ्यो । अनि उसले आङ जिरिङ्ङ गर्यो ।

उसको बडी ल्याङ्ग्वेजमा तुरन्तै परिवर्तन भएको देखियो । दुवै आँखा ठुल्ठुला बनाई पिर्लिक्क पारी हेर्यो उसले ।

“मैलै बाको शरीरमा खुब कामोत्तेजना ल्याइदिएँ ।”

उसको राइफल हनुमान कट्टु बाहिरबाटै ठाडो ४५ डिग्रीको कोणमा तेर्सिएको देखियो ।

“अनि मैले बाको मनभित्र कट्टु खोल्ने इच्छा जगाइदिएँ र मेरो अर्को नाङ्गो रूप बाको अघि ठिङ्ग उभिएकी देखाइदिएँ र उनको शरीरबाट बाहिर निस्केँ ।”

एक्कासि स्क्रिनमा ढोलकेले हनुमान कट्टु खोल्दै गरेको दृश्य देखियो । ऊ पूर्ण रूपमा दिगम्बर भयो । उसको अघि लाटी दिगम्बर अवस्थामै ठिङ्ग उभिइरहेकी थिई । ऊ लाटीनजिक अघि बढ्दै गयो । नजिक पुगेपछि उसले लाटीलाई गम्रङ्ङ अँगाल्यो ।

हेर्दादेर्दै लाटीको अनुहार बदलिदै गयो र एक डरलाग्दो प्रेतको रूपमा प्रस्तुत भई । उसको लामो नि लामो फिजिएका कपाल भुइँसम्मै लत्रिएका थिए । हात र खुट्टाका नङ्हरू बिरालाका नङ्ग्राजस्ता लामालामा भएर आए । फेरि एक्कासि उसको अँगालोबाट फुत्त हराई प्रेत ।

ढोलके आत्तियो र उसको सातोपुत्लो उड्यो ।

फेरि अचानक उसको पछाडि स्क्रिनमा देखिई त्यही प्रेत र जोड्जोड्ले हाँस्दै भनी, “आऊ बा, मलाई बलात्कार गर बलात्कार । म तिम्रै छोरी लाटी हुँ लाटी ।”

ढोलकेले पछि फर्की हेर्यो । उसको निमिषमै रक्सीको नसा दिमागबाट उत्रियो ।

ऊ भाग्न खोज्यो तर मिलिक्क बिजुली चम्केझैँ ऊ भाग्ने दिशातिर फेरि त्यही प्रेत ठिङ्ग उभिई ।

फेरि ऊ अर्को दिशामा भाग्न खोज्यो । फेरि त्यसैगरी प्रेत मिलिक्क भाग्ने दिशामा ठिङ्ग उभिई ।

ऊ कतै पनि भाग्न सकेन ।

ऊ थचक्कै टाँडको भुइँमा बस्यो र दुई हात जोड्दै माफी माग्दै भन्यो, “लाटी मलाई माफ गर्दे, माफ । छोरी मलाई माफ गर्दे, माफ । म अपराधी हुँ अपराधी ।”

“म तेरो लाटी हुइनँ । म तेरो छोरी हुइनँ । म त मात्रै लाटीको मरेकी प्रेतात्मा हुँ, प्रेतात्मा ।”

प्रेतले रिसाउँदै यत्ति भनी र मिलिक्क स्क्रिनमा प्रेत हराएकी देखिई ।

फेरि सेतो धुवाँजस्तो ढोलकेको शरीरमा एक टुक्रा धुवाँ प्रवेश गरेको स्क्रिनमा देखियो ।

उसले फेरि आङ जिरिङ्ङ गर्यो । उसले अघिझैँ दुवै आँखा सेतोसेतो पारी पिर्लिक्क पल्टायो ।

ऊ बसिरहेको ठाउँबाट जुरुक्क उठ्यो र सिरानीतिर बढ्यो । उसले  सिरानी पल्टायो । सिरानीतल एउटा धारिलो छुरी देखियो । उसले दायाँहातले त्यो छुरी च्याप्प समायो र बिछ्यौनामाथि चढ्यो ।

माछा तार्नुअघि माछालाई चिराचिरा पारेजस्तै गरी छुरीले उसले आफ्नै राइफल ठाउँ ठाउँमा चिराचिरा पार्यो । अन्ततः उसले आफ्नै राइफल च्वाट्टै पारी जरै भिराई काट्यो । काटिएको राइफलको टुक्रा बिछ्यौनामा फ्यात्त झर्यो । एक्कासि राइफल काटिएको ठाउँबाट ह्वालह्वाल रगत बग्न थाल्यो । ऊ निकै तड्पियो र छट्पटायो ।

फेरि एक्कासि उसको आफ्नै हातले घाँटी दाब्दै ऊ माथितिर हावामा लट्किदै गरेको स्क्रिनमा देखियो । ऊ पासो लागेजस्तै गरी छट्पटायो अनि एक्कासि हावामा झुन्डियो । मानौँ, उसलाई कसैले पासो लगाई मारेको हुँदो हो ।

एकछिनसम्म ढोलके टाउको लत्रक्क परी हावामा चचहुइ …चचहुइ खेलिरहेको स्क्रिनमा देखियो ।

फेरि एक्कासि स्क्रिन ब्ल्याकआउट् भयो ।

हलमा एक्कासि घामको उज्यालो पोखियो ।

रमणले पूर्व पर्खी हेर्यो । उसले देख्यो एउटा रातोपहेँलो नाङ्लोजत्रै घाम आकाशिदै थियो ।

“अहो ! उज्याले नि भैसकेछ । अनि, तिम्रो कथा सकियो त ? लाटी, ए लाटी । तिम्रा कथाहरू सकिए कि बाँकी छन् ? उसले लाटीलाई फेरि थप प्रश्न गर्यो ।”

“……….”

लाटी अझै स्क्रिनमा आइन ।

“तिम्ले कथा नसुनाउने हो भने मलाई जाँबाट ल्याथ्यौ त्यैँ लगेर छोड्देऊ । लाटी, ए लाटी, सुन्दैछ्यौ तिमी ?” रमणले पुनः लाटीलाई स्क्रिनमा ल्याउने कोसिस गर्दै भन्यो ।

लाटी एक्कासि स्क्रिनमा फेरि देखिई तर ऊ ह्वाँह्वाँ अविरल रोइरहेकी थिई ।

“तिम्रा कथा सकिए कि बाँकी छन् अझै ?” रमणले फेरि प्रश्न गर्यो ।

“कथा त बाँकी छन् अझै । तर भो, अब मलाई सुनाउनु छैन ।” लाटीले आँसु पुछ्दै यत्ति भनी ।

“अनि, बाँकी बलात्कारीहरूलाई कसरी मार्यौ नि ?” रमणले अझै थप प्रश्न गर्यो ।

“मैलै जसरी बाको शरीरमा पसेर बा स्वयम्ले आफ्नै लिङ्ग काटीकाटी मरे । हो, त्यसैगरी मैले सबैलाई मारेँ ।”

“अनि, त्यसपछि ?”

“गन्धेलाई ।”

“उसलाई किन मार्यौ ?”

“किनकि, गन्धे मेरो पहिलो मायालु थ्यो । तर उसले पनि मसँग विश्वातघात गर्यो र मसँग सुती हिँडेको खबर गाउँगाउँ सुनाई हिँड्यो ।”

एकछिन रोकिई लाटी र छाती फुलाउँदै लामो सास तानी र फेरि त्यसैगरी लामो सास छोडी र भनी, “हेर, रमण । आमा मरेकी घरमा एक युवती छोरी कुनै बादेखि कैल्यै सुरक्षित रहन्नन् । यदि रहे भने नि बाका कामुक नजरले बारम्बार बलात्कार गरिरहेका हुनेछन् ।

बाले आफ्ना कामुक आँखाद्वारा छोरीकी स्तनमा बलात्कार गर्नेछन् । छोरीकी नाइटोमा, कम्मर, नितम्ब र तिघ्रामा बारम्बार बलात्कार गर्नेछन् । आँखाविना पनि मनका हातले छोरीका सारा शरीरभरि सलबलाई बारम्बार बलात्कार गरिरहनेछन् ।

ती बा के बा ? जस्ले आफ्नै छोरीलाई बलात्कार गर्छन् । त्यो समाज के समाज ? जुन समाजमा सुब्बाहरूजस्ता हिंसक बलात्कारीहरू मान्छेका रूपमा लुकेर बस्छन् ।

हेर रमण, म यत्ति भन्छु, यो संसारमा कुनै आमाका गर्भमा कुनै छोरीका भ्रूणहरू आइन्दा बस्दै नबसोस् र संसार छोरैछोराले भरियोस् । अनि, हेर्नुछ मलाई संसारमा चारैतिर घुमीघुमी जहाँ पुरुषले नै पुरुषहरूमाथि बीभत्स बलात्कार गरिरहेका दृश्य ।

बस्, यत्ति हेर्नुछ मलाई रमण । के तिमी साँच्चै ! मेरा यी ‘अलिखित कथाहरू’ लेखिदिन्छौ ?”

“बुडा, ए बुडा । होइन, उठ्ने बेला भ’न ? घाम त टाउकैमा उभिई सक्यो त ?” रमाले चर्को स्वरमा झक्झकाउँदै उठाइन् रमणलाई ।

“हँ” गर्दै एक्कासि रमण सपनाबाट तर्सिदै उठ्यो र बिछ्यौना छाम्यो । उसले आफूलाई ठिमीको आफ्नै घरको बिछ्यौनमा पायो । ऊ डरले असिनपसिन भएको थियो ।

तुरन्तै उसले केही सोच्न सकेन । उसलाई यति थाहा भयो कि, ऊ गहिरो एउटा डरलाग्दो सपनाबाट ब्युँझिदै थियो । उसले केही सम्झिन खोजेजस्तै गरी टोलाइरह्यो ।

“हैन, के टोलाइ’रा ? उठ्नूस् न छिटो र फ्रेस हुनूस् । कफी राखिदे’की छु टेबुलमा ।” यत्ति भनी उनी कोठाबाट बाहिरिन् ।

रमणले सपनामा देखिएको एकेक घटनाहरू सम्झ्यो । उसले कथा सार्दै गरेको नोटबूक सम्झ्यो । उसले झट्टै पेन सम्झ्यो । अनि फेरि उसले झोला सम्झ्यो । यतैकतै छ कि भनेर छामछामछुमछुम पनि गर्यो । तर उसले केही भेटेन ।

भेटोस् पनि कसरी उसले ? त्यो त सपना थियो उसको ।

फेरि उसले स्क्रिनको लाटी सम्झ्यो । अनि फेरि ढोलकेले लाटीलाई सपनामा बलात्कार गर्न खोजेको दृश्य सम्झ्यो । उनको राइफल चिराचिरा पारी काटिएको दृश्य सम्झ्यो ।

फेरि एकवर्षअघि आफैँ बाइकमा गई गौशाला इलाका प्रहरी कार्यालयमा रिपोर्ट गरेको ढोलकेको एक पहेली पूर्ण मृत्युको घटना सम्झ्यो उसले । त्यस्तैगरी, ढोलके मरेका एक वर्षभित्रका सबै रहस्यमयी राइफल चिराचिरा परेर राइफलै छिनाई मरेका गन्धे र सुब्बाका मृत्युका पहेलीपूर्ण घटनाहरू गाउँमा घटेका आफ्नै कानले सुनिएका सबै घटनाहरू एकेक गर्दै सम्झ्यो उसले ।

अन्तमा उसले आफू र लाटीका बिच दुवैजनाका सहमतिमा भएका यौन सम्बन्ध पनि सम्झ्यो ।

यति सम्झिसकेपछि ऊ ह्वाँह्वाँ पश्चतापको रुवाइ रुनसम्म रोयो । उत्तिखेरै उसलाई आङ जिरिङ्ङ भई जाडो भई आयो ।

एकैछिनमा उसलाई १०४ डिग्रीको जरो आयो ।

“रमा, ए रमा । लौन ! मलाई त हनहनी जरो पो आयो त । मर्छु पो क्या हौ म त ?” भन्दै लुगलुग काम्दै फाइबरसिरक तान्दै जाडोमा कुकुर गुडिल्किएर सुतेझैँ सुत्यो रमण ।

रमा आत्तिदै आइन् र रमणको छेउमा बसिन् । एकछिन जिउहातमा पानी पट्टी गरिदिइन् ।

रमणको जरो अलि ओर्लेको जस्तो भयो र ऊ एकैछिनमा निदायो ।

 

***

 

आकाशबाट एउटा चिल उड्दैउड्दै आयो र झ्यालबाट रमणको कोठाभित्र स्वाट्ट छिर्यो र खुट्टानिर पलङछेउ भुइँमा बस्यो ।

त्यो चिल हेर्दाहेर्दै सेतो वस्त्र पहिरेकी त्यही लाटी बनी र रमणले ओढिरहेको सिरक बिस्तारै तान्दै भनी, “रमण, ए मेरो रमण ।”

रमण एक्कासी आत्तिएर “हैट् ! हैट् !” भन्दै ब्युँझियो ।

रमा पनि रमण चिच्याएको सुनेर दौडिदै आइन् । उसको छेउमा बसिन् र अँगालिन् रमणलाई ।

त्यहाँ कुनै लाटी थिइन न त त्यहाँ कुनै चिल नै थियो । थियो त केवल  त्यो रमणको भ्रम थियो । थियो त केवल त्यो रमणको आफ्नै मनमा उम्रिएका डर, त्रास र भयका एक भयानक डरलाग्दो सपना थियो ।

रमण रमाको तातो साथ पाएपछि निदायो ।

“रमण, तिमी नडराऊ । त्यो सम्भोग त तिमी र मेरोबिचको सहमतिको सम्भोग थियो ।” कानमा कसैले सासे स्वरमा फुस्फुसाएजस्तो लाग्यो रमणलाई ।

रमणले अनायासै आँखा पिर्लिक्क खोल्यो । उसले दायाँबायाँ हेर्यो तर उसले केही देखेन । केवल आफूलाई अँगालीरहेकी आफ्नै पत्नी रमालाई देख्यो ।

ऊ ढुक्क भयो र फेरि निदायो ।

 

***

 

रमणले लाटीको सत्यकथा “अलिखित कथा” लेखेर आफ्नो “पहेली” शीर्षकको कथासङ्ग्रहमा छाप्यो । त्यो कथासङ्ग्रह देशव्यापी रूपमा चर्चामा त आयोआयो । देशव्यापी नै नेपाली पाठ्यक्रमको रूपमा विद्यालयको कक्षा दशमा राखिने सरकारी मान्यता पनि प्राप्त गर्यो ।

यो सन्देशमूलक कथा स्कुलमा नै पढाइ हुनथालेपछि कुशमाढी गाउँ त के पुरै देशमा नै बलात्कारीका सङ्ख्या बिस्तारै घट्दैगए भन्ने खबर सुनियो ।

चोकचोक र चिया पसलहरूमा जताततै “अलिखित कथा” कै चर्चा बढ्न थाले । हुर्किएका छोरीचेलीहरू जति सबैले आफ्ना सुरक्षाका लागि स्कुल ब्यागमा किताबसँगसँगै एउटा चक्कु पनि बोकी हिँड्न थाले ।

“बलात्कारीहरूलाई ‘अलिखित कथा’ मा लेखिएजस्तै लाटीले जस्तै बलात्कारीहरू जति सबैका लिङ्ग काट्नु पर्छ ।” भन्दै महिला समाजवादी समुहहरू एकजुट हुन थाले ।

 

०००

 

कथाकार परिचयः राजबाबु श्रेष्ठ सागर ईटाटार महोत्तरीमा जन्मेका हुन् र हाल भक्तपुर नयाँ ठिमीमा बस्छन् । गीत, गजल, कविता, हाइकु, मुक्तक, उपन्यास लगायतका बिधामा कलम चलाउने उनका “हराएका छोराहरू” कविता सङ्ग्रह(२०७७), “देशको चिना” मुक्तक सङ्ग्रह (२०७७), “यादका वस्तीहरु” गीति सङ्ग्रह (२०७८),”बन्द फ्रेमभित्रको चिट्ठी” उपन्यास (२०५७) प्रकाशित छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *