इन्द्रकुमार श्रेष्ठ सरित्
म म नै हुँ कसैको प्रतिलिपि हैन
मलाई बिर्सिजानेहरुसँग पनि मेरो गुनासो छैन
मनमा कुँदिएको शीलालेख हो मेरो माया
असिना र पानीले सक्ने छैनन् मेट्न
इच्छा लागेजति लिन सक्छ्यौ परीक्षा
म बाहेक तिम्रो प्रेममा अरु कोही उत्तीर्ण हुने छैन ।
जिन्दगीले जिन्दगीलाई नै थिलथिलो बनायो त के भयो?
माया बस्ने मनलाई मैले मायाकै छहारी दिएकै छु
मायालाई जित्नैपर्ने मेरो कुनै शर्त र दाबी छैन
तर तिम्रो माया पाउने अधिकार म कसैलाई दिने छैन ।
तिम्रै लागि देखेका सपनाका चाङ कति छन् कति
सपनाको त्यही संसारमा रमाऊ भन्दै
मात्रै तिमीलाई प्रेमपूर्ण रंगीन निम्तो छ
तिम्रो लागि माया, प्रेम र विश्वास कति छन् कति
मनमा सुटुक्क आएर त हेर
त्यहाँ मात्र तिमी र तिमीमात्रै छ्यौ ।
कसैलाई सम्झिन्न भन्छु
तिमीलाई पनि बिर्सिन्छु भनेर मसक्क आँट्छु
तर तिमी त मेरो मुटुको राजधानीमै बसेकीछ्यौ
तिमी बिनाको शून्य राजधानीमा
ममात्र एक्लै बाँच्न कहाँ सक्छु ?
जिन्दगीले देखेको सपना र तिमी
मैले संसार हेर्ने दुई आँखा नै हौ
आशा, चाहना र संघर्षका जँघार पारगर्दै जाँदा सुस्ताएर
कहिलेकाहीँ तिमीलाई क्षणभरका लागिमात्रै भए पनि
सम्झेरै बिर्सुँ भन्छु
तर बिर्से पनि सम्झे पनि
मनमा, तनमा तिमी नै तिमी पाउँछु ।
०००
कवि परिचयः इन्द्रकुमार श्रेष्ठ सरित् राधापुर, म्यान्मार (बर्मा)मा जन्मेका हुन् र हाल काठमाडौंमा बसोवास गर्छन् । उनको पहिलो प्रकाशित रचना कविता विसं २०३५ मा नयाँ सन्देश (साप्ताहिक) मा प्रकाशित भएको थियो । उनी कथा, लघुकथा, कविता, उपन्यास, गीत, गजल, संस्मरण लगायतका विधामा कलम चलाउँछन् । उनका कथासङ्ग्रह ६, कवितासङ्ग्रह २, उपन्यास १, लघुकथासङ्ग्रह १ प्रकाशित छन् ।