२५ मंसिर २०८०, काठमाडौं
कवयित्री मोमिलाको नेतृत्वमा विसं २०६३ मा स्थापित नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरुको घोषणा गरेको छ । विसं २०८० का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई तथा रु. एक लाख राशिसहितको राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठलाई पुरस्कृत गरिनेछ ।
रु. ७५ हजार राशिसहितको ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्रीलाई, रु. ५० हजार राशिसहितको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार साहित्यपोस्ट अनलाइनका प्रधान सम्पादक, पत्रकार अश्विनी कोइरालालाई, रु. ६० हजार राशिसहितको थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई तथा रु. ५० हजार राशिसहितको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार युवा सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठलाई प्रदान गरिनेछ ।
प्रतिष्ठानले वार्षिक रुपमा कलाश्री पत्रिका पनि निरन्तर प्रकाशित गर्दै आएको छ ।
देश तथा विदेशमा स्रष्टा यात्रा पनि प्रतिष्ठानले गर्ने गरेको छ ।