१५ गते ०२८१, पोखरा
साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु-याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो ।
पुरस्कार ग्रहण गरेपछि पुरस्कृत प्रतिभा मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले विश्व साहित्यमै लोकप्रिय भएर पनि आख्यानका क्षेत्रमा लाग्ने व्यक्तिको कमी भएको बताए । आख्यानका क्षेत्रमा दिइने सम्मान र पुरस्कारको समेत अभाव भएको समयमा लमजुङ–पोखरा सम्पर्क समितिले आख्यानका क्षेत्रमा लाग्नेहरूका लागि पुरस्कार सञ्चालन गर्नु प्रशंसनीय भएको धारणा सरुभक्तको थियो ।
पुरस्कार संस्थापक प्रेमकुमारी गुरुङले आफू पनि साहित्यमा रुचि राख्ने व्यक्ति भएकाले साहित्यकारलाई प्रोत्साहन गर्नुपर्छ भन्ने मनसायले पुरस्कार स्थापना गरेको बताइन् ।
लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीको अध्यक्षतामा भएको कार्यक्रममा गायिका हरिदेवी कोइराला, कवि रमेश श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष दीपकराज घिमिरे, प्रतिभा छनोट समितिका सदस्य लक्ष्मण थापा, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको थियो ।
हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । कल्याण पन्तको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष ईश्वर चिलुवालले स्वागत गरेका थिए ।