प्रभा बराल कवयित्री, गजलकार, नियात्राकार र उपन्यासकार हुन् । अहिले उनको ताजा कृति “फिलिङ्गो” उपन्यास चर्चामा छ । यसअघि उनका शब्दहरु अविराम यात्रामा (कविता सङ्ग्रह), तृष्णाको पहाड (गजल सङ्ग्रह), असिनाको कथा (वाल कविता सङ्ग्रह), आत्महत्याको जङ्गल (नियात्रा सङ्ग्रह) प्रकाशित थिए ।
१. ‘फिलिङ्गो’ उपन्यास के ले लेखायो ? यसको प्रेरणास्रोत के हो ?
साहित्यसर्जकका नाताले लेखकीय विषयवस्तु खोजीरहेकी हुन्छु । परदेशमा पुग्दा आफ्नै नेपाली दाजुभाइ दिदीबहिनीले गरेको सङ्घर्षहरुले ‘फिलिङ्गो’ लेखायो । विदेशमा श्रम गर्न पुगेका दिदीबहिनीहरुले आफ्नै मान्छेबाट भोगेको पीडा अत्यन्त खेदजनक लाग्यो । यी कुरालाई आफ्नै आँखाले देखेपछि म अत्यन्त भावुक भएँ । मेरो लेखकीय मन द्रवीभूत भयो । पीडितहरुको अज्ञानता र सोझोपनमाथि पीडकले फाइदा उठाएको ठम्याएपछि ‘फिलिङ्गो’ लेख्ने प्रेरणा जाग्यो ।
२. पहिलो कृति ‘आत्महत्याको जंगल’ नियात्रा थियो । दोस्रो कृति उपन्यास ‘फिलिङ्गो’ पनि जापानी परिवेशकै लेख्नुभयो । जापानसम्बन्धी लेख्न बाँकी छ कि सकियो ?
२०७२ सालमा नियात्रा सङ्ग्रह लेखेपछि २०७७ सालमा ‘फिलिङ्गो’ उपन्यास लेखेँ । यी कृतिबाहेक जापानका विश्वविद्यालयमा पढेर नेपाल फर्किएका विद्यार्थीहरुले खोलेको JUAAN भन्ने संस्थाले हरेक वर्ष जापानसम्बन्धी निबन्ध प्रतियोगिता गर्छ । त्यसमा साकाई लायन्स क्लब तथा इमानिसी मेमोरियल फेलोसिप ट्रष्टको सन् २०१८ को फेलोसिप पुरस्कार र सोही संस्थाबाट सन् २०२० को उत्कृष्ट निबन्ध पुरस्कार पनि प्राप्त गरेँ । मसँग लेख्नका लागि अझै प्रशस्त सामग्री छन् । जापानसम्बन्धी केही फुटकर कथाहरु पनि लेखेर प्रकाशन गरेँ । जापान एउटा यस्तो देश हो कि त्यहाँ गएर त्यहाँको जनजीवनमा भिजेपछि लेख्ने सामग्री प्रशस्तै पाउन सकिन्छ । ‘आत्महत्याको जंगल’ नियात्रा कृति पाठकहरुले धेरै नै मन पराउनु भएको छ । यो कृतिमा पछिल्लो जापान भ्रमणका केही अंश समेटेर दोस्रो संस्करण निकाल्ने योजना छ । जापानसम्बन्धी छुट्टै कृति निकाल्ने सोचमा छैन ।
३. यो उपन्यास चितवनबाट पुरस्कृत भयो । मदन पुरस्कारको सूचीमा पनि परेको छ कस्तो अनुभूति भइरहेको छ ?
प्रकाशन भएको चार महिनामै पचास हजार राशिको चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार पाउँदा असाध्यै खुसी लाग्यो । कृतिप्रति उहाँहरुको यति छिटो मूल्याङ्कन पाउँदा निकै हौसला प्राप्त गरेँ । फेरि मदन पुरस्कारको सूचीमा समेत छनौट हुँदा उस्तै खुसी लाग्यो । दुई हजार प्रति पुस्तक पाँच महिनामै बिके र पुन: दोस्रो संस्करणमा गइयो । महिलाको सत्वका बारेमा लेखिएको हुनाले नै यसले पाठकको मन जितेको हो कि भन्ने अनुभूति गरिरहेकी छ । निकै खुसी लागिरहेको छ ।
४. यो उपन्यास प्रकाशित भएपछि निकै तारिफ भएको छ तपाईको नजरमा केही छुटेजस्ता, नमिलेजस्तो, कमजोरी भएजस्तो केही लागेको छैन ?
उपन्यासका बारेमा हरेक दिन नै मैले पाठकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेकी छु । पाण्डुलिपिमै निकै संवेदनशील भएर काम गरियो । सामान्य भाषागत त्रुटि होलान् तर यस कृतिले दिने मूल सन्देश दिन सफल भएको होला भन्ने कुरामा म आशावादी छु ।
५. ‘फिलिङ्गो’ पछि आगामी कृति पाठकहरुले के र कहिले पढ्न पाउँछन् ?
‘फिलिङ्गो’ पछि आगामि कृति उपन्यास नै हुन पनि सक्छ । एउटा नवीन विषयमा उपन्यास लेख्ने सोचाइ बनाएकी छु । उक्त विषयमा आधारित सन्दर्भ ग्रन्थहरु जुटाउने र पढ्ने गरिरहेकी छु । ठ्याक्कै यही मितिमा भनेर तोक्न मन पराउँदिनँ । ‘फिलिङ्गो’ पनि चुपचाप चुपचाप काम गरेर एकैचोटी प्रेसमा गएपछि सामाजिक सञ्जालबाट जानकारी दिएकी हुँ । पहिल्यै हल्ला गर्न मलाई अलि असजिलो लाग्छ ।
(प्रस्तुति: सुदामा)
