सन् २०२४ मा साहित्य लेखन र पठन अनुभव (लघु वार्ता-दुई)

अन्तरवार्ता

गोविन्द सिं रावत

(भर्खर बितेको सन् २०२४ सालमा साहित्य लेखन, पठन, सक्रियता गतिविधिमा के कस्तो अवस्था रह्यो भनेर केही साहित्यकारहरूसँग विश्वपरिक्रमाले जिज्ञासा राखेको थियो । यसै क्रममा क्यानाडाको टोरन्टो बस्नु हुने साहित्यकार गोविन्द सिं रावतबाट प्राप्त जबाफहरू प्रस्तुत छ०

१, लेखनका हिसाबले सन् २०२४ साल कस्तो रह्यो र फुटकर र सग्ला कृतिहरु के के लेखिए ?

बितेका वर्षमा पनि समयानुसार विभिन्न साहित्यिक कार्यक्रममा सहभागिता हुने मौका पाए । लेख्ने कामले निरन्तरता पाउँदै गयो । कथा, कवितासँगै धेरै फुटकर रचनाहरू लेखिए । जस्तै क्यानडामा पहिलो पटक आयोजना भएको मिसेज नेपाल क्यानाडाको प्रतियोगिताको सन्दर्भमा नेपाल र नेपाल बाहिर सौन्दर्य प्रतियोगिताको इतिहास कोट्याएर क्यानडाको पहिलो प्रतियोगिताका बारेमा ‘सौन्दर्य प्रतियोगिताको थालनी र मिसेज नेपाल क्यानडाको श्रृङ्खला’ । आफ्नो संलग्नतामा शुरु भएको प्रत्येक वर्ष टोरोन्टोमा आयोजना हुने नेपाली मेला, हिमालयन फेस्टिभल सम्बन्धी ‘ हिमालयन मेला अर्थात गीत संगीत नृत्य र खानाका परिकारको संगम’ । नेपाली चलचित्रका बारेमा नेपाली चलचित्र पुरस्कार, सम्मान र अस्करको दौंड’ सम्बन्धी लेख । सत्तरीको दशकदेखि क्यानाडामा बस्दै आउनु भएकी समाज सेवी राधा बस्नेतको बारेमा ‘राधा बस्नेत; क्यानडाका नेपालीहरुको शुभचिन्तक’ लेख । बेलायतबाट प्रकाशित विद्युतीय पत्रिका समकालीन साहित्यका सम्पादक कृष्ण वजगाँईका बारेमा ‘नभेटेर चिनेको एउटा कलम वीरको शब्दचित्र’ क्यानाडामा गीत लेखन र त्यसको स्वराङ्कन एवम् छायाङ्कन गरेर यु–ट्युबबाट चर्चित बन्नु भएका रबी बस्नेतका बारेमा ‘प्रसङ्ग गीतको चर्चा क्यानाडाका गीतकार रविमान सिंह बस्नेतको’ । लोसारका बारेमा ‘टोरोन्टोमा लोसार पर्वको विशाल जमघट’ आदिसँगै विभिन्न विधा गत आफ्नो सिर्जनाले पनि निरन्तरता पाई रह्यो ।
२, पठनको हिसाबले नेपाली र अनेपाली भाषाका के कस्ता कृतिहरू पढ्नु भयो ?
पढ्ने कामलाई निरन्तरता दिँदै भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’, डा. भगवान कोईरालाको ‘ह्दय’, राम कोईरालाको ‘म र मेरी उनी’, क्यानाडाकी एघार वर्षीय कनिष्ट लेखिका श्रृयांशी ज्ञवालीको अंग्रेजी काल्पनिक बाल उपन्यास ‘द डार्क सेकरेट अफ उन्नेम’, भूटानी लेखक जे.एन. दाहालको ‘प्रहेलिका’ उपन्यास अनि धेरै फुटकर रचनाहरू पढ्ने मौका पाए ।
३, पढ्न खोजेर पढ्न नपाएका कुनै कृति रहे कि र?
धेरै कृतिहरु चाहेर पनि पढ्न पाएको छैन । अब नेपाल गएर ल्याएपछि पढने विचारमा छु ।
४, साहित्यिक गतिविधि, समारोहहरूमा कत्तीको सहभागिता रह्यो ?
नेपाल भ्रमणको क्रममा साहित्यिक पत्रकार सङ्घ तथा अन्य संस्थाबाट आयोजित कार्यक्रमहरूमा सहभागी हुने मौका पाए । यहाँ नेपाली साहित्य समाज, क्यानाडाको भर्चुयल र प्रत्यक्ष काव्य गोष्ठीमा सहभागी भई काव्य वाचन गरेको थिए । साहित्य परिषद् भुटानले पहिलो पटक विन्डसरमा आयोजना गरेको भुटान साहित्य सम्मेलनमा सहभागी भई आप्रवासी नेपाली साहित्यका बारेमा छोटो कार्यपत्र प्रस्तुत गर्ने मौका पाए ।
५, अहिले नयाँ के लेख्दै हुनुहुन्छ ?
हाल म क्यानाडामा नेपालीहरूको आगमन र विस्तारका बारेमा एउटा पुस्तक र आफ्नो कथाहरूको एउटा सङ्ग्रह निकाल्ने तरखरमा रहेकोले त्यसैको लेखाइमा लागेको छु । यसका अतिरिक्त आफूले पढेका केही पुस्तकका बारेमा लेख्ने तरखर गर्दै छु ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *