कफी

कविता

जीवन खत्री

 

जसरी उमेरको गिलासमा

पहिलो पटक घुल्छ, जवानी

उसैगरी उम्लिरहेको पानीमा

भर्खर घुलेको छ

प्रेम मिसिएर कफी

 

आउ एक पटक चाखी हेर

 

अलिकति कौमार्य बास्ना छरेर

उडी रहेछ बाफ

 

अलिकति मादक स्वाद बोकेर

भरिएको छ कप

 

र कपको डिलबाट

पोखिन पोखिन लागेको छ

पिउँ पिउँ लाग्दो कफीको कल्कलाउँदो रङ

 

आउ

ढीलो नगरी आउ

 

आउँदा,

लज्जाको लिपिष्टिक दलेको ओठ लिएर आउ

 

आउँदा,

हृदयमा क्याफिनको प्यास बोकेर आउ

 

ल्याउनै मन भए,

कोसेली स्वरुप

केही श्याउजस्तो रसिलो चुम्बन

र केही सुन्तलाजस्तो गुलियो उत्सुकता बोकेर आउ

 

र सुरुप्प सुरुप्प पिउ, समयमै

रहरको अगेनोमा आगो निभ्नु अगावै !

कफीमा मिसीएको तातो सेलाउनु अगावै !

सेलाएको कफीमा डुबेर

फोहोरी झिङ्गाले आत्महत्या गर्नु अगावै

 

तिमीलाई पनि थाहै होला

तातो कफीको स्वाद

सेलाएपछि अर्कै अर्कै बन्छ ।

०००

 

कवि परिचयः कवि जीवन खत्री रामेछापमा जन्मेका हुन् । विसं २०६१ सालमा “मेरो कथा मेरो ब्यथा” कविता प्रकाशनसँगै साहित्य क्षेत्रमा पदार्पण गरेका हुन् । उनी साहित्यका कविता, गीत, गजल, मुक्तक, हाइकु एबम् कथा लगायतका विधामा कलम चलाउँछन् । उनका २ गजल सङ्ग्रह ‘मेरो शिखर टाढा छ‘(२०६५), ‘जीवन कसका लागि‘(२०६९) तथा एक कविता सङ्ग्रह ‘आगोको वर्णमाला’ (२०७५) प्रकाशित छन् । हाल उनी दक्षिण कोरियामा  छन् ।

Leave a Reply