मन (कविता)

कविता

राजेन्द्रप्रसाद अर्याल

 

चुलबुले, चञ्चले, अस्थिर छ मन

हिजो अन्तै थियो

आज कवितामा छ मन

नाप्न नसकिने, जोख्न नमिल्ने

कतै नरोकिने, कबै नथाक्ने

बिजुलीभन्दा द्रुत गतिको

वेग कसैले थाम्न नसक्ने

भण्डारण क्षमता असीमित भएको

एउटा बृहत् सन्दुक हो मन ।

 

दशौँ इन्द्रियहरूमा नपर्ने

एघारौँमा परेर के भो ?

सबै ईन्द्रियहरूको सारथी हो मन

प्राणी जगतको राजा हो मन ।

 

सुषुप्तिमा या जागृतिमा

अथक, अविराम चलिरहने

कहिले उर्लने भेल बनेर

कहिले शान्त समुन्द्र भएर

रूवाउने, हँसाउने मनको बानी

कल्पनाशीलताको हो यो खानी।

 

लीला छ यसको अपरम्पार

कृष्ण बनेर मन दयावान् हुन्छ

द्रौपदीको लाज ढाक्न पुग्छ

कृष्णको उही मन पवित्र हुँदैन

वस्त्र लुकाई गोपिनीहरूको

गोप्य अङ्गको प्यासी बन्छ

असल मात्र हैन उद्दण्ड पनि छ

कहिले यो मन राम बन्छ

कहिले रावण भै सीता हर्छ ।

 

अति अनियन्त्रित अति विचलित

पथभ्रष्ट र गतिछाडा मन

बाटो बिराउँछ-पागल बन्छ

महौषधीको सेवन गराई

बसमा राख्न सक्नु पर्छ

रोकौँ बरालिनबाट मनलाई

सङ्किर्ण होईन बिराट बनाऔँ

सन्तुष्टिको श्रीपेच पहिरी

सम्यमताको चन्दन लगाऔँ ।

 

मन बिहिन तन कस्तो होला ?

सास बेगरको लास बन्ला

मनका कतिपय गोप्यताहरू

उजागर हुँदैनन् जीवनपर्यन्त

चिता वा चिहानमा पुगेर

भष्म हुन्छन् लाससँग ।

 

 

०००

 

 

कवि परिचयः राजेन्द्रप्रसाद अर्याल गोरखा नेपालमा जन्मेका हुन् र हाल म्याडिसन, अमेरिकामा बसोवास गर्छन् । उनी नियात्रा, कविता, कथा, निबन्ध, गीत, गजल आदि विधाम कलम चलाउन रुचाउँछन् । उनका फ्रान्सको भ्रमण मेरो संस्मरण, (नियात्रा, २०६२) माल्भा (नियात्रा, २०७३) तथा आजको मान्छे (कविता संग्रह, २०७८) कृतिहरु प्रकाशित छन् ।

 

 

Leave a Reply