राजेन्द्रप्रसाद अर्याल
चुलबुले, चञ्चले, अस्थिर छ मन
हिजो अन्तै थियो
आज कवितामा छ मन
नाप्न नसकिने, जोख्न नमिल्ने
कतै नरोकिने, कबै नथाक्ने
बिजुलीभन्दा द्रुत गतिको
वेग कसैले थाम्न नसक्ने
भण्डारण क्षमता असीमित भएको
एउटा बृहत् सन्दुक हो मन ।
दशौँ इन्द्रियहरूमा नपर्ने
एघारौँमा परेर के भो ?
सबै ईन्द्रियहरूको सारथी हो मन
प्राणी जगतको राजा हो मन ।
सुषुप्तिमा या जागृतिमा
अथक, अविराम चलिरहने
कहिले उर्लने भेल बनेर
कहिले शान्त समुन्द्र भएर
रूवाउने, हँसाउने मनको बानी
कल्पनाशीलताको हो यो खानी।
लीला छ यसको अपरम्पार
कृष्ण बनेर मन दयावान् हुन्छ
द्रौपदीको लाज ढाक्न पुग्छ
कृष्णको उही मन पवित्र हुँदैन
वस्त्र लुकाई गोपिनीहरूको
गोप्य अङ्गको प्यासी बन्छ
असल मात्र हैन उद्दण्ड पनि छ
कहिले यो मन राम बन्छ
कहिले रावण भै सीता हर्छ ।
अति अनियन्त्रित अति विचलित
पथभ्रष्ट र गतिछाडा मन
बाटो बिराउँछ-पागल बन्छ
महौषधीको सेवन गराई
बसमा राख्न सक्नु पर्छ
रोकौँ बरालिनबाट मनलाई
सङ्किर्ण होईन बिराट बनाऔँ
सन्तुष्टिको श्रीपेच पहिरी
सम्यमताको चन्दन लगाऔँ ।
मन बिहिन तन कस्तो होला ?
सास बेगरको लास बन्ला
मनका कतिपय गोप्यताहरू
उजागर हुँदैनन् जीवनपर्यन्त
चिता वा चिहानमा पुगेर
भष्म हुन्छन् लाससँग ।
०००
कवि परिचयः राजेन्द्रप्रसाद अर्याल गोरखा नेपालमा जन्मेका हुन् र हाल म्याडिसन, अमेरिकामा बसोवास गर्छन् । उनी नियात्रा, कविता, कथा, निबन्ध, गीत, गजल आदि विधाम कलम चलाउन रुचाउँछन् । उनका फ्रान्सको भ्रमण मेरो संस्मरण, (नियात्रा, २०६२) माल्भा (नियात्रा, २०७३) तथा आजको मान्छे (कविता संग्रह, २०७८) कृतिहरु प्रकाशित छन् ।
