रेणु अधिकारी “मौनता”
कलमको मसी सक्काएर
फ्याक्न पाउँदा
मन आनन्दित भए जस्तै
जीवनको मसी सक्काएर फ्याँकिने कुराले ,
मानिस किन खुसी हुँदैन?
जीवनको मसी सक्काएर ।
बिसर्जित हुने कुराले
मानिस किन दु:खी हुन्छ ?
मैले धेरै कलमहरूको दाह संस्कार गरिसकेँ
एउटा कलमलाई सम्पुर्ण रुपमा रित्याएर
एउटा कापीलाई भरिभराउ पारेर
म आफुले आफुलाई
जितेको महशुस गर्दछु ।
मेरा मनका भावना, इच्छा, चाहाना
र असन्तुष्टिहरूलाई
उन्मादिला खुसीका पलहरूलाई
पोखिदिन्छु छताछुल्ल हुनेगरी
रुन्छु, हाँस्छु, मुस्कुराउछु
कलम चुपचाप लेखिरहन्छ
कापी चुपचाप सहिरहन्छ ।
म आफ्ना बोझिला मनका भावनाहरू
जीवन र जगत सँग गाँसिएका
पलपलका अनुभुतिहरूका कुम्लाहरू
एक डोको घाँस
गर्लम्म पिंढीमा घोप्टाए जस्तै
घोप्टाइदिन्छु कापीका पनाहरूमा ।
कापी चुपचाप बोकिरहन्छ।
कलमले आमाको गर्भ जस्तै
सहनशिल छातीमा
अन्याय र अत्याचारको बिरुध्द
कोरेका तीखा शब्दरुपी बाणले,
सामाजिक निरंकुसता र अन्धबिश्वासको जालोलाई
च्यातेर धुजाधुजा पारिरहेको छ ।
आफ्नै घरभित्र जकडिएको
लैङ्गिक भेदभाब र
समाजमा बिद्यमान जातीय विभेदता,
अनि धनी र गरिब बीचको खाडलको बिरुद्द
धावा घोल्दा घोल्दै ,
आफ्नो रगत सक्केको पत्तै पाँउदैन
हो उस्तै उस्तै हो कलम र जीवन
आफ्नो जीवनका सम्पूर्ण कर्तब्य पुरा गर्दागर्दै
यो गरौंला , त्यो गरौंला भन्दाभन्दै
आफ्नो समय सक्किएको पत्तै हुँदैन
सक्किनु दु:ख होइन ।
तर असफल भएर सक्किनु भने अभिशाप हो ।
सफल भएर सक्किनु सृष्टिको नियम हो ।
प्रत्येक कुराहरू
निर्माण हुनको लागि सक्किने गर्छन् ।
सुरु हुनाका लागिको अन्त्य
एउटा मसी सक्किएको कलम जस्तै ,,,,,,,,
कवि परिचयः रेणु अधिकारी “मौनता” कागेस्वरी नगरपालिका डाँछीमा जन्मेकी हुन् र हाल टोखामा बस्छिन् । वि सं २०७० “बिन्ती “ कविता सुर्यदयमा प्रकाशित भएपछि उनको लेखनयात्रा अघि चढेको हो । उनका अनुभुति (कविता सङ्ग्रह) २०७६ तथा एकपोल्टो बादल (लघुकथा सङ्ग्रह) २०७९ प्रकाशित छन् । फूटकर रुपमा उनका कथा ,लघुकथा, कविता, नियात्रा , संस्मरण, मुक्तक, गीत र गजलहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।
