विमल गिरी, बेल्जियम
डायास्पोरिक मन-१
उताबाट आफन्त सम्झदा तिर्खा हरहर लाग्छ
गुन्द्रुक ढिंडो सम्झदा पिजा बर्गर जहर लाग्छ
जिन्दगी भोगाइका सकस भोग्दै कैलेकाहीं त
परदेशमै जिन्दगी टुङ्गिन्छ कि भन्ने डर लाग्छ ।
डायास्पोरिक मन-२
हाम्रो यो अजम्बरी सम्बन्ध यस्तो होस्
सधैंलाई होस् कैले पनि सस्तो नहोस्
सु:ख दुखमा क्षण क्षणमा पढ्न मिल्ने
सम्बन्ध पुस्तक र पाठकको जस्तो होस् ।
मुक्तककार परिचयः मुक्तककार विमल गिरी साल्पा सिलिचुङ्ग ४ सालेवा,भोजपुरमा जन्मेका हुन् र हाल ब्रसेल्स, बेल्जियममा बसोवास गर्छन् । विसं २०४३ सालमा मधुपर्कमा गीत प्रकाशनसँगै उनको साहित्य यात्रा अघि बढेको हो । उनका सम्झनाका तरेलीहरु ( गीती सङग्रह)२०६६,गोधूलि मन (मुक्तक सङ्ग्रह)२०६८, स्पन्दनका छालहरु, (मुक्तक सङ्ग्रह)२०७२,विभाजित मन,(हाइकु सङ्ग्रह)२०७३, सुनाखरी (हाइकु सङ्रह)२०७९ लगायतका कृतिहरु प्रकाशित छन् ।