रमेश सुभेच्छु
आज राजेन्द्र सुवेदी हाम्रा अगाडि हुनुहुन्न । उहाँ नभए पनि उहाँले छोडेर गएको साहित्यिक, शैक्षिक र सामाजिक योगदान हामीसामु जीवन्त छ । उहाँ आफ्ना कृतिहरुमा अमर बनेर रहनुभएको छ ।
हाम्रा लागि कोभिड महामारीका बिच भएको राजेन्द्र सुवेदीको निधन अप्रत्यासित र असामयिक थियो । सोच्दै नसोचेको कुरा भएको थियो । कुरा गर्दागर्दै अस्पताल पुग्नुभएको व्यक्ति फर्कन सक्नुभएको थिएन । हामीले त्यस शोकलाई सामना गर्न निकै समय लाग्यो । त्यस गहिरो शोकलाई विस्तारै शक्तिमा बदल्दैछौँ । हामी त्यो पीडाबाट बाहिर आउने प्रयास गर्दैछौँ ।
सुवेदीज्यू यस समाजको विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा हामीले उहाँको जीवनकालमै बोध गरेका थियौँ । आजको समारोहका सभापति प्रा.डा जीवेन्द्रदेव गिरी सरको नेतृत्वमा सर्जक राजेन्द्र सुवेदी अभिवादन समिति गठन भएको थियो । त्यस समितिमा डा. रमेश भट्टराईलगायत सहकर्मीदेखि हामी शिष्यशिष्याहरु संलग्न थियौँ । उहाँको सत्तरीऔँ जन्मोत्सव नेपाल बार एसोसिएसनका सभा हलमा भव्यताका साथ मनाएका थियौँ । अर्को जन्म दिनमा मैले लेखेको राजेन्द्र सुवेदीका आयाम कृति लोकार्पण भएको थियो । उहाँका कृतित्वलाई मूल्याङ्कन गरेर कृति निकाल्ने योजना पनि हुँदै थियो । देश र विश्वपरिवेश कोरोना महामारीका चपेटामा पर्यो । हामी कोही विरामी भएर फर्कियौँ । राजेन्द्र गुरु फर्कन सक्नुभएन ।
सुवेदी गुरु बितेपछि उहाँकै गुरु प्रा.डा. वासुदेव त्रिपाठीका अध्यक्षतामा राजेन्द्र सुवेदी स्मृति सभाको गठन भयो । त्यस सभाले भर्चुअल माध्यमबाट शोकसभाको आयोजना गर्यो । सुवेदीका कृति लोकार्पण र स्मृतिसभा, उहाँका नाममा निर्मित वृत्तचित्र प्रदर्शन आदि गरी सुवेदीलाई सम्झने काम पनि गर्यो । यस पटकदेखि ती पूर्वसंस्थाका प्रतिनिधिहरु र परिवारका सदस्यहरुसहित राजेन्द्र सुवेदी स्मृति केन्द्र संस्था बनेको छ । यो संस्था विधिवत् रुपमा दर्ता भइसकेको छ । यस संस्थाका नाममा बैँक खाता पनि खुलिसकेको छ । अब यस संस्थाले सुवेदीका नाममा आधिकारिक काम गर्ने छ । त्यस्ता कामको सुभारम्भ भइसकेको छ ।
संस्थामार्फत र व्यक्तिगत रुपमा पनि हाम्रो आह्वाहन छ : राजेन्द्र सुवेदीले जीवनमा गुन लगाउनुभएको थियो र उहाँलाई गुन लगाउनु छ भने यस संस्थामा आउनुहोस् । हामी हातेमालो गरौँ । अहिले देखिने गरी यस संस्थामा प्रा. डा. जीवेन्द्रदेव गिरी, डा. रमेश शुभेच्छु, कमल सुवेदी, पुष्पा सुवेदी घिमिरे, डा. नारायणप्रसाद गड्तौला, डा. सावित्री श्रेष्ठ, डा. हरिप्रसाद सिलवाल, डा. सीता सुवेदी पन्थी, धीरकुमार श्रेष्ठ र होम भट्टराई रहेका छौँ । उहाँकी जीवनसँगिनी इन्दिरा सुवेदी यस संस्थाको संरक्षक हुनुहुन्छ । संरक्षकज्यू र सुपुत्र सुपुत्रीहरुका सत् प्रयासमा दश लाख रुपैयाको अक्षयकोषको स्थापना गरिएको छ । यस कोशबाट आगामी साउन १९ गतेदेखि राजेन्द्र सुवेदीका नाममा राजेन्द्र सुवेदी साहित्य पुरस्कार र राजेन्द्रसुवेदी कला पुरस्कार गरी दुई ओटा पुरस्कार अर्पण हुने छन् ।
दाताहरु भेटिए र अक्षयकोश वृद्धि भयो भने सुवेदीले योगदान गरेका शिक्षा र सञ्चार क्षेत्रलाई पनि समेटेर थप पुरस्कारहरु राखिने छन् । ती पुरस्कार भविष्यमा गौरवपूर्ण पुरस्कार हुने छन् । हामी पुरस्कारको रकम समयसापेक्ष तय गरी समयसापेक्ष रुपमा बढाउँदै जानेछौँ ।
सुवेदीका थुप्रै कृतिहरु प्रकाशन गर्न बाँकी छन् । मूलत: उहाँको साहित्यकोश नेपाली साहित्य जगत्ले बेलामा पाउन सकेन । त्यसको उचित सम्पादन र प्रकाशनको चाँजोपाँजो मिलाउनु छ ।
उहाँका छरिएर रहेका रचनाहरु संकलन र प्रकाशन गर्नु छ ।
उहाँमाथि अध्ययन अनुसन्धान गराउनु छ । उहाँ विश्वविद्यालयमा छँदा विद्यार्थीहरुलाई आफ्ना विषयमा शोध गर्न दिनुभएन । अब उहाँका विषयमा शोध गर्ने सोधार्थीहरुलाई पनि सम्मान र प्रोत्साहन गर्दै जानुपर्ने छ । अझ बढी त सुवेदीले सिकाएकै देखाएकै मार्गदर्शनमा रहेर यो समाजमा साहित्य संस्कृति, शिक्षा र सञ्चार क्षेत्रमा सकेको केही गर्नु छ ।
सुवेदीको नाम अमर बनाउन हुलाक टिकट प्रकाशन, काठमाडौँको कोटेश्वर एरिया र पाँचथरको उहाँको जन्मस्थानमा कुनै मार्गको नामकरण, उहाँको प्रतिमा स्थापना आदि धेरै काम गर्नुपर्ने छ । सबै भन्दा पहिला हामी उहाँका कृति बाहिर ल्याउँछौँ र क्रमश: राजेन्द्र सुवेदी ग्रन्थावलीका रुपमा समग्र कृति एकै शृङ्खलामा प्रस्तुत गर्नेछौं ।
सुवेदी आफैमा बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका बहुआयामलाई प्रस्तुत गर्नु, उजागर र स्थायी बनाउनु यस संस्थाको उद्देश्य हो । हामीले संस्थामा साधारण सदस्य, आजीवन सदस्य, विशिष्ट सदस्य आदि व्यवस्था गरेका छौँ । यहाँहरु सबैमा यस संस्थासँग जोडिन पनि आग्रह गर्दछौँ ।
सुवेदीलाई यहाँ चिनाउन थालेँ भने म असफल बन्न सक्छु । उहाँलाई चिन्ने महानुभावहरुकै उपस्थिति छ । उहाँका स्वजनहरु नै बढी उपस्थित हुनुहुन्छ । उहाँका कक्षामा पढेका शिष्यशिष्याहरुकै बढी उपस्थिति छ । उहाँका माध्यमबाट ताप्लेजुङका कुनाको विद्यालय मात्र लाभान्वित भएन, काभ्रेका कुनाको विद्यालय मात्र लाभान्वित भएन, उहाँका योगदानबाट इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पस मात्र लाभान्तिवत भएन । काठमाडौँका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, पाटन र थापाथली एवम् कोटेश्वर क्याम्पस मात्र लाभान्वित भएनन् सिङ्गो त्रिभुवन विश्वविद्यालय लाभान्वित भयो । सिङ्गो नेपाल संस्कृत विश्वविद्यालय र नेपालका अन्य विश्वविद्यालय लाभान्वित भए । भारतका सिक्किम र गुवाहाटी विश्वविद्यालय लाभान्वित भए । यहाँ भन्दा उच्च शिक्षा सेवा के हुन सक्छ ? उहाँकै पालामा नेपाली विषयको दर्शनाचार्यको कक्षा आरम्भ भयो । उहाँकै पालामा नेपाली विभागको निजी पुस्तकालय विद्यार्थीका लागि खुल्ला भयो, आदि अनेक पक्ष छन् ।
सञ्चार क्षेत्रमा उहाँका माध्यमबाट बनारसको कुनै साहित्यिक संस्था र पत्रिका मात्र लाभान्वित भएन ।, पाँचथर ताप्लेजुङको र झापाको कुनै साहित्यिक संस्था र पत्रिका मात्र लाभान्वित भएन, रत्न प्रकाशन लगायत कुनै ठुलो प्रकाशन मात्र लाभान्वित भएन सिङ्गो गोरखापत्र संस्थान लाभान्वित भयो । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभाग र अन्य विश्वविद्यालयका पत्रकारिता विभगहरु लाभान्वित भए । यो विषय पनि अथाह छ ।
सुवेदीको सिर्जनात्मक योगदान फुटकर कवितादेखि महाकाव्यसम्म, कथादेखि उपन्याससम्म र निबन्ध विधामा सशक्त छ । उहाँको सैद्धान्तिक र प्रायोगिक समीक्षा आफैसँग प्रतिष्पर्धी थियो । म सुवदी गुरुका बारेमा यति बोलूँ- उहाँका प्रयत्नबाट देवकोटाको समीक्षक व्यक्तित्व बाहिर आएको पक्ष पनि बिर्सनु हुँदैन र उहाँका सम्पादनमा आएका दर्जनौँ कृति पनि बिर्सनु हुँदैन ।
(प्रस्तुत आलेख राजेन्द्र सुवेदीको एकासीऔँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित स्मृति सभामा २०८० साउन १९ मा प्रस्तुत मन्तव्यको अँश हो । -सम्पादक)
लेखक परिचयः प्राध्यापक डा. रमेशकुमार लुईंटेलको साहित्यिक नाम हो रमेश शुभेच्छु । सुभाङ पाँचथरमा जन्मेका उनी हाल टीकाथली लीतपुरमा बसोवास गर्छन् । विसं २०५७ देखि हालसम्म उनका गजल, शोक काव्य, गजल गाथा, हास्य ब्यङ्ग्य, वालकाव्य, शिशु कविता, कविता सङ्ग्रह, समीक्षात्मक कृतिहरु दर्जनौंको सङ्ख्यामा प्रकाशित छन् । उनका सम्पादित कृतिहरु पनि दर्जनौं छन् । उनका कृतिहरु पाठ्यक्रममा समेत प्रशस्त रहेका छन् ।
Thank You so much Biswo Pariarama.