भाष्कर मैनाली शर्मा दार्जिलिङ
जीवनमा चुनौती सबैलाई हुन्छ। तर ती चुनौतीलाई अवसरमा बदल्न सक्ने व्यक्तिहरू बिरलै हुन्छन्। यिनै बिरल प्रेरणामध्ये एक हुन् – विवेक कामी। बोल्नमा कठिनाइ भए पनि उनले कहिल्यै आफ्नो कमजोरीलाई अवरोध बन्न दिएनन्। बरु त्यसलाई आत्मबल बनाएर आफूलाई साहित्य, समाजसेवा र मानव सेवामा समर्पित गरे।
एकान्तबाट सुरु भएको साहित्यिक यात्रा
विवेकको साहित्यिक यात्रा एकान्तमा लेखिएका कविताबाट सुरु भयो। हिन्दी र नेपाली दुवै भाषामा कलम चलाउने उनी प्रारम्भमा समाजको उपेक्षा र तिरस्कारलाई शब्दमार्फत अभिव्यक्त गर्न थाले। ती शब्दहरू एक दिन कवितामा परिणत भए, जसले पाठकको मन छोयो। उनका कविता आज विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन्।
सम्मानहरू जसले बाटो खोलिदिए
विवेकको प्रतिभा र सामाजिक योगदानलाई कदर गर्दै सन् २०२२ मा मध्यप्रदेशको एक प्रसिद्ध साहित्यिक पत्रिकाबाट उनलाई “युवा सम्मान” प्रदान गरियो। त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन। डुवार्स पोइट आइडल २०२५ मा छैठौं स्थानमा विजेता भए। डुवार्स आइकोन अवार्डबाट सम्मानित भए। अखिल भारतीय कामी दमाई सार्की एकता मञ्चबाट साहित्य र समाजसेवाको लागि सम्मानित भए। अन्तर्राष्ट्रिय बिरसा मुंडा सम्मान जस्तो महत्वपूर्ण अवार्डले उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनायो।
रक्तदान अभियानमा अग्रणी भूमिका
सिर्फ साहित्यमा नभई मानव सेवामा पनि विवेक सदैव अग्रपंक्तिमा रहन्छन्। हालसम्म १५ पटक रक्तदान गरिसकेका उनी स्वयंले दर्जनौं रक्तदान शिविर सञ्चालन गरिसकेका छन्, जसबाट सयौं व्यक्तिहरूले जीवनदान पाएका छन्। युवामाझ रक्तदानको चेतना फैलाउने अभियानमा उनी निरन्तर सक्रिय छन्।
दिव्यांग अधिकारका लागि नेतृत्व
दिव्यांग व्यक्तिहरूका समस्या बुझ्दै समाधान खोज्न विवेकले स्थापना गरे – कालचिनी खण्ड दिव्यांग संघ। यस संस्थाका सचिवको रूपमा उनी दिव्यांग समुदायको आवाज बनेका छन्। सरकारी समन्वय, आवश्यक सुविधा र सामाजिक जागरणका लागि उनी लगातार काम गरिरहेका छन्।
महिला र बाल अधिकारमा पनि क्रियाशील
विवेक “शक्ति जनागुक्ती” नामक संस्थाका सचिव पनि हुन्, जुन संस्था बालविवाह, महिला हिंसा, र लैङ्गिक असमानताविरुद्ध संघर्ष गर्दै आएको छ। उनी गाउँ–बस्तीमा गई सचेतना कार्यक्रम चलाउने, पीडितलाई कानुनी सहयोग उपलब्ध गराउने कार्यमा संलग्न छन्।
साहित्यिक र धार्मिक क्षेत्रमै समर्पित
युवापुस्तामा साहित्यको चेतना फैलाउने उद्देश्यले उनले “डुवार्स युवा साहित्य संवाद” संस्था गठनमा महत्वपूर्ण भूमिका खेलेका छन् र हाल यसको कोषाध्यक्ष छन्। यसअन्तर्गत कविता वाचन, साहित्यिक गोष्ठी, पुस्तकमेला आदि कार्यक्रमहरू नियमित सञ्चालन हुँदै आएका छन्। त्यस्तै, उनी गंगुटिया क्षेत्रको हनुमान मन्दिरका सचिवको रूपमा धार्मिक र सांस्कृतिक गतिविधिमा पनि सक्रिय छन्।
“इकोस्फियर” – शिक्षाको एक अनुपम प्रयास
विवेकको अर्को प्रेरणादायक परियोजना हो – इकोस्फियर। यो एक खुला पुस्तकालय हो, जुन प्रत्येक आइतबार रुखको छायाँमा संचालन हुन्छ। यहाँ बालबालिकालाई शिक्षा, कला र साहित्यसँग सम्बन्धित गतिविधिमा सहभागी गराइन्छ – जस्तै पुस्तक पढ्ने, चित्र बनाउने, कविता लेख्ने, समूह छलफल आदि। विवेक यसको संस्थापक सदस्य हुन्।
प्रेरणा बनेको जीवन
विवेक कामीको जीवन नै एउटा प्रेरणाको उदाहरण हो। कठिन परिस्थितिमा पनि हार नमान्ने, समाजका सबै वर्गलाई समेट्ने, र निरन्तर सकारात्मक परिवर्तनको प्रयास गर्ने व्यक्तित्व विरलै पाइन्छ। दिव्यांग भए पनि उनले कहिल्यै आफूलाई कम आँकेनन्, बरु अरूका लागि उदाहरण बने।
आज विवेक कामी एक सशक्त कवि मात्र होइनन्, एक समर्पित समाजसेवी, नेतृत्वकर्ता र परिवर्तनको संवाहक हुन्। उनको जीवनले हामी सबैलाई सन्देश दिन्छ –”कुनै पनि अभाव तपाईंको लक्ष्यको बाटो रोक्न सक्दैन, यदि तपाईंमा संकल्प छ भने।”
०००
लेखक परिचयः भाष्कर मैनाली शर्मा भारतको दार्जिलिङमा जन्मेका हुन् र हाल सिलिगुडीमा वसोवास गर्छन् । उनले हिमालय दर्पण पत्रिकामा “घोप्टे युग” निवन्ध प्रकाशन गरेर साहित्य यात्रा अघि बढाएका हुन् । उनले दार्जिलिङ, कालेबुङ, सिक्किम, डूवर्स र नेपालका पत्र पत्रिकाहरूमा साहित्यिक तथा साहित्येतर लेखहरू नियमित रूपमा लेख्दै आइरहेको छन् ।
