२२ असार, २०८०, काठमाडौं
उपन्यासकार लीलाध्वज थापाको १०३ औं जन्मजयन्तीका अवसरमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा यसअघि घोषित लीलाध्वज साहित्य सम्मान इतिहासविद् तथा साहित्यकार ज्ञानमणि नेपाललाई कार्यक्रमका प्रमुख अतिथि त्रिविका पूर्व उपकुलपति प्रा.केदारभक्त माथेमाले समर्पण गरे भने प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले दोसल्ला ओडाएर सम्मान गरे ।
सम्मानमा २५ हजार नगदसहित सरस्वतीको मूर्ति समेत रहेको छ ।
पुरस्कार ग्रहण गरिसकेपछि समारोहलाई सम्बोधन गर्दै नेपालले सम्मान ग्रहण गर्दा खुशी लागेको वताए । सो अवसरमा कविहरु प्रा. रमेश शुभेच्छु, मोमिला जोशी, वलराम दाहाल, सीता भट्टराई र काजी रोशनले आ-आफ्नो कविता वाचन गरेका थिए ।
समारोहलाई प्रमुख अतिथिका हैसियतले सम्बोधन गर्दै प्रा. माथेमाले विद्वान अन्वेषक, साहित्यकार जस्तो लुकेको प्रतिभालाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानले छानेर उपयुक्त व्यक्तिलाई सम्मान प्रदान गरेकोमा खुशी व्यक्त गरे ।
सभालाई प्रमुख वक्ता प्रा डा लेखप्रसाद निरौलासहित प्रा डा रामप्रसाद ज्ञवाली, साहित्यिक पत्रकार रोचक घिमिरेले समेतले सम्बोधन गरेका थिए ।
