व्यङ्ग्य: दार्जिलिङे फुटबल मैदानका टेसिलो भाषा

गद्य विविध साभार रचना

कृष्ण प्रधान, भारत 

 

आउनोस् श्रोताहरू तपाईलाई म एकक्षण फुटबल मैदानमा लान्छु । देख्नुभो होइन । अब केही बेरमै यहाँ फुटबल म्याच शुरु हुनेछ। देख्नुभो हजूररु हेर्नोस् ता भित्ताभरि टाउकै-टाउको। फुटबल म्याच हेर्न बऱ्याम मानिसहरू । ग्वारग्वारती आइरहेछन् । लु सुन्नुहोस् । पारी भित्ताबाट आएका आवाजहरू-

किप्पर कस्तो ?- चुम्बकजस्तो ।

ब्याक कस्तो ?- भित्ताजस्तो ।

डिफेन्स कस्तो ?- हम्मरजस्तो ।

सेण्टर कस्तो ?- बिजुलीजस्तो ।

टिम कस्तो  ?- काँड़जस्तो ।

स्कूल साइडबाट आएको समवेत स्वर सुन्नोस् –

किप्पर कस्तो ?- चुम्बकजस्तो ।

तारापाते तारापाते – यायाया…. यायाया…. यायाया

डम्फुको तालैमा – छ्याप्…छ्याप्…..छ्याप्

रातो जर्सी झ्याप्….झ्याप् झ्याप् झ्याप् ।

ब्याक कस्तो ?- भित्ताजस्तो

तारापाते तारापाते – यायाया….यायाया….यायाया

तारापाते तारापाते – यायाया….यायाया….यायाया

डम्फुको तालैमा – छ्याप्….छ्याप्…..छ्याप्

सेतो जर्सी झ्याप्…..झ्याप् झ्याप् झ्याप् ।

सेण्टर कस्तो ? – बिजुलीजस्तो ।

तारापाते तारापाते – यायाया….यायाया….यायाया

तारापाते तारापाते – यायाया….यायाया…..यायाया

डम्फुको तालैमा – छ्याप्….छ्याप्…..छ्याप्

सेतो जर्सी झ्याप्…..झ्याप् झ्याप् झ्याप् ।

टिम कस्तो ? –  काँड़जस्तो ।

तारापाते तारापाते – यायाया….यायाया….यायाया

तारापाते तारापाते – यायाया….यायाया….यायाया

डम्फुको तालैमा – छ्याप्……छ्याप्…..छ्याप्

रातो जर्सी झ्याप्…..झ्याप् झ्याप् झ्याप्

सेतो जर्सी झ्याप्…..झ्याप् झ्याप् झ्याप्…..

आजको म्याच ठ्याप्…..ठ्याप्….ठ्याप्……

दार्जिलिङमा मात्र होइन यहाँका कमान-बस्ती, कुना काप्चामा हुने प्रत्येक फुटबल म्याचमा पाखा-भित्तामा बसेका हजारौं दर्शकको मुखारिविन्दबाट उपरोक्त लयात्मक स्वर सुन्न पाइऩ्छ । भित्ता पाखामा बसेका हजारौ-हजारौं दर्शकको मुखारविन्दभाट गुञ्जेको उपरोक्त समवेता स्वरले फुटबलरहरूलाई एक प्रकारको उर्जा प्राप्त हुन्छ ।

संसारभरि हुने फुटबल म्याच हेर्न  र दार्जिलिङमा हुने फुटबल म्याच हेर्न अर्कै मज्जा र आनन्द छ । हाम्रो पहाड़को फुटबल मैदानमा भुराभुरीदेखि बूढ़ा-बूढी मात्र होइन तरुणी-तन्नेरीहरूको बराबरी सहभागिता देखिन्छ । विशेष मैदानमा रहेका मोठ बाइस जना खेलाड़ी, एकजना रेफरी र दुइजना एसिसटेण्ट रेफरीको सहभागिता देखिन्छ । फुटबल म्याच हेरेर आनन्द, मज्जा, रोमाञ्च उपभोग गर्नुभन्दा पनि मैदानका पाखा-भित्तातिर बसेका बऱ्याम दर्शकहरूले फुटबलरहरूमाथि गरेका कमेण्टस् सुन्न हाँसउठ्दो  मात्र होइन साह्रै मज्जाइलो सँगसँगै टेसिलो  र मिठाइलो पनि हुन्छ, सुनुँ सुनुँ लाग्ने । जति सुने पनि धित नमर्ने । दुइ टोलीमाझ भएको म्याच जस्तोसुकै होस् तर फुटबल मैदानका पाखा-भित्ताबाट गुञ्जेका युवा-युवतीहरूका व्यङ्ग्यात्मक स्वर मात्र होइन बूढृा-बूढ़ीको कटाक्ष शब्दवाणले मैदानका भित्ता-पाखामा बसेका दर्शकहरू हाँसेका गगनभेदी हाँसोले म्याचको मज्जा नै अर्कै हुन्छ । विदेशतिरका स्टेडियमतिर दर्शकवर्गको समवेत् गीतले मैदानमा प्रतिद्वन्दिता गरिरहेका फुटबलरहरूलाई उत्साह र उर्जा प्राप्त हुन्छ । तर हाम्रो पहाड़मा फुटबल हेर्न ग्वारग्वारती आएका दर्शकहरूका मुखारविन्दबाट कुनै समवेत् उत्साहवर्द्धक गीत गाएको आजसम्म मैले सुनेको छैन ।

फुटबल म्याच भन्नु नै ड्यासिह, पुसिङ, डुब्लिङ, रफ ट्याकलिङको खेल हो । दार्जिलिङे फुटबलको भाषा गुल्चे खेल्नु भनिन्छ। हाम्रो यतातिरको फुटबल म्याचमा पनि गुल्चे खेल्ने, धक्की लाउने, समय चोर्ने कलाहरू प्रशस्तै देखिन्छन् । तर मैदानभित्र पसेपछि व्यक्तिगत भेदभाव बिर्सेर दार्जिलिङे फुटबलरहरू खेलको भावना लिएर नै खेल्ने गर्छन् ।  दर्शकहरू पनि उस्तै छन् । खेलको मातले उधुम पागल हुन्छन् । बुरुक-बुरुक हुन्छन् । पाखा-भित्तामा बऱ्याम लागेर बसेका दर्शकहरू एकातिर फुटबल टोलीका पक्षमा हुन्छन् भने अर्कोतिर विपक्षमा । यी दुवै पक्षकाहरूले आफ्नो टोलीलाई काखी च्यापे पनि विपक्ष टोलीका फुटबलरहरूप्रति किसिम कटाक्ष गरेर सातोपुल्लो खान्छन् । तर यो सातोपुल्लो खानुमा कुनै पूर्वाग्रह भने ठयाम्मै देखिन्न । दार्जिलिङे फुटबललाई यिनै रसिक, रौसे दर्शकहरूले जीवन्त, झर्झराउँदो बनाएको छ । यसले मैदानमा भएका अऩ्य दर्शकहरूलाई कति मज्जा आउँछ त्यसको वर्णन गर्ने शब्द मसित छैन ।

म आफू पनि एकजना  फुटबल कमेण्टेर भएकोले माथि कमेण्ट्री बक्समा बस्दा आफ्नो पालो नआइञ्जेल पाखा-भित्ताबाट गुञ्जेका गगनभेदी व्यङ्ग्यात्मक कमेण्टस् सुन्नमै मस्त हुने गर्दछु । आउनोस् म मेरा प्रिय दर्शकवर्गलाई एकक्षण भएपनि फुटबल कमेण्ट्रीकै भाषामा दार्जिलिङे फुटबलको मिठाइला, टेसिला अनि व्यङ्ग्यात्मक भाषाहरूबारे जानकारी गराउने प्रयास गर्नेछु । कमेण्टेटरकै भाषामा तपाईहरूलाई फुटबल मैदानमा पुऱ्याउँनेछु ।

आउनोस्…..दर्शकवृन्द । अहिले म यहाँको चानमारी ग्राउण्डमा आज सम्पन्न हुने रातो जर्सी र सेतो जर्सीमाझको म्याचको सोझै धाराविवरणी सुनाउन चाहन्छु । अहिले म आठ फुट अग्लो र चार फुट चौड़ाइ भएको मचानमाथि बसेको छु । फुटवलको भाषामा यसलाई कमेण्ट्री बक्स भनिन्छ ।

नमस्कार श्रोतावृन्द । म देख्दैछु मैदान माझमा रातो र सेतो जर्सीधारी फुटबलरहरू पङ्क्तिबध्द भएर उभिएका छन् । प्रमुख अतिथि गणमान्य नेतासित परिचय आदान-प्रदानको क्रम चलिरहेछ । फुटबलरहरू माननीय नेतासित करमर्दन पछि नेताजीले गोली शुट गरेपछि आजको रोमाञ्चक म्याच आरम्भ हुनेछ । म देख्दैछु, नेताजीको हातमा गोली छ ।

पाखा(भित्ताबाट – आम्बो…..क्याटका क्याट नोटका बिटा सुम्सुम्याउऩे हातमा गोली ।

पारी भित्ताबाट साइसाइ र सुइसुइ।

अब आजको यो रोमाञ्चक म्याच उदघाटन गर्न गोली भूइँमा राखेर नेता़जी सुट गर्ने तयारमा छन् । थपड़ी र साइसाइ र सुइसुइले मैदान थर्किन्छ । नेताले सुट गर्ने हुँदा मैदानमा चिप्लेर नेताजी लड़ेका देखिरहेछु । भित्ता-पाखाबाट गगनभेदी आवाज गो……….ल । यसपालीको बेष्ट कप तिमीलाई नै हो ।

गोली चल्यो । सेण्टर फरवर्डले गोली बढ़ाउँदैछ……दर्शकका समवेत् स्वर मैदानभरि यसरी छरिन्छ पक्ष- लैजाऊ……लैजाऊ…..नडराई लैजाऊ…..गोल लगाऊ । सकेनौ भने गोली हातले टिपेर पोष्टमा हालिदेऊ…..पहाड़ेको चल्छ ।

विपक्ष – पोल्ट्रीको कन्ये  कुखुराजस्तो गोली लानेको खुट्टा भाँच्……

पछाड़िबाट विपक्षका टोली आएको देख्दा, ऊ……झिङे् आयो……झिङे आयओ…..पछाड़िबाट  हब्सी काले न काले आयो…..हब्सीलाई गोली नदेलास्….लैजा….लैजा…..

विपक्ष – खोस्…..खोस्…..लङ्की लगाइदे न झिङेलाई । छिटो…..लगिसक्यो झिङेले…..

विपक्ष टोलीको खुट्टाबाट गोली थुत्न एक तमासले दुगुरिरहेको फुटहबलरको  च्यापूमा लामो दारी देखेर….त्यो बन बोकाले गोली खोस्ला है……ए बन बोका खोरमा जा….. यो ता कस्तो गन्हाउँछ होला हई …..

माथिबाट आवाज – जाऊ न……बैनी ! सुँघेर आऊ न । दामी गन्हाउँछ ।

आफ्नो साथीलाई दिएको पास लामो केश हुने साथी खेलाड़ीले  रिसिभ गर्न नसक्दा पारी भित्ताबाट व्यङ्ग्यवाण-ूत्यो झ्याम्लेलाई किन पास देको……एई झ्याम्ले खाँदै गरेको चुइङ्गगम कमिटीलाई फर्का । निकाल् त्यो झ्याम्लेलाई ।

एकापट्टि एघार र अर्कापट्टि एघारजना फुटबलरमाझ एकजना रेफरी । ११५ गज (१०५ मीटर) लमाइ अनि ७५ गज (६८.५ मीटर) चौड़ाइ भएको आयतकार मैदानभित्र गोल छिराउने ताकमा मैदानको घरि यता घरि उता, घरि तल घरि माथि दुगुरिरहेका फुटबलरहरूलाई जस्तै पाराले खेल्दा पनि भित्ता-पाखामा बसेका दर्शकहरूबाट केही न केही कटाक्ष आइनै रहेका हुन्छन् । मैदानमा राम्रो खेल्दा पनि धर छैन, नखेल्दा ता झन् कुरै आएन । राम्रो खेल्नेलाई ( किसिम नाम राखेर) एई ….. त्यो पोल्दा पोल्दै उम्केको धमरधुसेको खुट्टा भाँच् ।

फेरि अर्को आवाज (त्यो लिखुरेको हरेशलाग्दो फिलामा बुटले थचक्कै बस्ने गरि दे न है ।

अर्को भित्ताबाट (सिकुटे खुट्टा हुनेलाई) सिकुटेको खुट्टाबाट गोली खोस्…..सकेनस् भने फुल्लिने गरी दे ।

तलबाट थपिन्छ – देऊ….देऊ त्यो सिकुटेलाई फुलिन्ने गरी देऊ। एई सिकुटे १ हिँड़्दा झोलामा ढुङ्गा बोकेर हिँड़्नु है भाइ । जस्तो हुरी आयो भने पनि डर हुँदैन ।“

झुक्केर एकजनाको हातमा गोली लाग्छ…..जानी जानी नभएकोले रेफरी ह्याण्डबलको सङ्केत गर्दैन । विरोधी टोलीले विरोध गर्छन् । पक्षका टोलीको पनि विरोध सुनिन्छ । गोली चल्यो ।

छेवैबाट – ह्याण्डबल  किन नदेको  रेफरीले ।

तलबाट – रेफरीलाई दियो होला नि ता हौ ।

मैदानमा रनक्क भएर आएका बूढ़ा – चल्छ….चल्छ पहाड़़ेको  ह्याण्डबल चल्छ । सक्दैनस् भने भन म आउँछु…..फुल्लाउनु ।

मैदानको भित्ता-पाखा गगनभेदी हाँसोले गुञ्जयमान हुन्छ । ……..

पल्लो भित्ताबाट – फकुण्डो होकि क्या हो बड़ा फुकेर फुलाउने ?

अर्को स्वर – कहाँबाट फुक्ने बड़ा ?

गगनभेदी हाँसो अनि साइसाइ र सुइसुइ मैदानभरि मड़ारेर पल्लो भित्तासम्म पुगेर ठोक्किन्छ ।

रातो जर्सी र सेतो जर्सीका फुटबल योद्धाहरूमाझ मैदानमा घमासान प्रतिद्विन्द्वी भइरहेछ । दार्जिलिङे फुटबलको भाषामा “भाले युद्ध ।“ दार्जिलिङ फुटबलकै भाषामा भन्नु हो भने, आजको म्याचलाई सेतो भाले र रातो भालेको युध्द भन्दा हुन्छ । एउटा बेग्लै उत्तेजना, च्यूँच्यूँले म्याच टेसिलो भइरहेको छ । दुवै टोलीका फुटबलरहरू गोल गर्न काकाकुली तिर्सनामा छटपटिरहेका छन् भने मैदानका भित्ता-पाखामा युवतीहरूको इत्र्याइँ, हाँसो । च्यूँच्यूँले मैदानमा एक प्रकारको मज्जाइलो वातावरण सिर्जना भएको छ ।

दुवै टोलीका फुटबलरहरू जण्डा देखिएका छन् । कोही भन्दा कोही कम्ति छैनन् । मैदानभित्र खेल्ने बाइस जना फुटबलरहरूको जीउडाल किसिम-किसिमको देखिन्छ । माथि पाखा-भित्ताबाट फुटबलरहरूको शारीरिक भाषा जस्तो देखिन्छ कमेण्ट पनि उस्तै प्रकारको सुनिन्छ । उनीहरूको खेल्ने तक्निक आ-आफ्नै पाराको देखिन्छ । मैदानमा कुनै फुटबलरलाई चङ्खे देखिन्छ, कसैलाई छरितो, छिट्टो ता कसैलाई छटपटे देखिन्छ भने कति चाहिँ लुम्सो पनि देखिन्छ । जस्तोसुकै होस् माथि भित्ता-पाखाबाट तरुणीको रुपीजस्तो स्वरले घोंचाइँ, कटाक्षको सोड़्क्याइँबाट कुनै फुटबलरले छूट पाउँदैनन् ।

गोली खुट्टामा खेलाउँदै विपक्षीको सिमानामा द्रूत गतिमा धावा बोलिरहेका फुटबलरलाई – त्यो मृगले अब गोल गर्छ होला हौ ।

छेवैबाट – त्यो घोड़ालाई छेक….छेक । गोली लानु नदे ।

द्रूत गतिमा गोली लिएर मृग वा घोड़ाकै वेगमा एकतमासले दुगुरिहेको समयमा विपक्षी टोलीका फुटबलरले धक्की दिएर मृग वा घोड़ाजस्तो दुगुर्नेलाई हुत्याएर पर उछेट्छ । हुत्तिने फुटबलरको नाक थाप्दै – त्यो गुल्चे….नसप्रेको इस्कुसको जरालाई  रेड कार्ड़ देखा एई सिभिक पुलिस (रेफरी) ।

जति घड़ीका काँटाले समयलाई उछिँदैछ उति उति आजको यो रातो भाले र सेतो भालेमाझको म्याच उत्तेजना र च्यूँच्यूको लिङ्गेपिङमा हु्र्रिरहेछ । स्ट्राइकरहरू गोल लाउने दाउमा छन् । प्राय:जसो फुटबलमा स्ट्राइकरहरू स्ट्राइकिङ जोनमै उभिएका हुन्छन् । साथीले देब्रेतिर वा दाहिनेतिरबाट पास दिए कि डङ्ङै गोल छिराउनु । आधुनिक फुटबलको तक्निक पनि यहो हो । आजको यो म्याचमा पनि दुवै टोलीका स्ट्राइकरहरू आ-आफ्नो स्ट्राइकिङ जोनमा उभिएका देखेर दर्शकहरू कहाँ चूपो लागि बस्न सक्छन् र ? रुङिरहनेलाई त्यो झिङेलाई त्यहाँबाट खेद्…..एई झिङे जा आजिलाको दोकानमा तोङ्बा चुस्नू ।

गोली चल्दैछ…..धुमधामले । अहिले कर्नर भएको छ । ब्याक पोजिशनको खेलाड़ी विपक्षीको डि बक्समा आइपुग्छ । दाहिनेपट्टिबाट कर्नर शट । गोली माथिबाट ठिक पेनाल्टी बक्सको अघिल्तिर खस्दा (फुटबलको भाषामा एरियल बल) नखस्दै ब्याक उफ्रेर हेड गर्छ । गोल भइहाल्यो भने हेड गर्नेलाई…… आँ……हेडमाष्टरुको हेड दामी छ  है । इच्छा करता है हेडमाष्टरका हेड चुम लू । कथङ्कल गोल लाउन चुक्यो कि विपक्षीको कटाक्ष मैदानभरि रुमलिएको सुनिन्छ ( घन्टाउकेको टाउको ग्यारेजमा लानुपर्छ । एई घन्टाउके ! हेलमेट लाएर आइज ।

म्याचले रफ्तार लिएको छ । एकले अर्कालाई लण्ड्याउने,  छक्याउने। धक्की दिन  क्रम जारी छ । गुल्चे खेलको जगजगी छ । शर्ट पास, लङ्ग पास सराबरी । एकजनाले पास रिसिभ गर्न सक्दैन । अर्को भित्ताबाट कर्कश समवेत् स्वर – त्यो साँढ़्लाई निकाल् ।

अर्को भित्ताबाट – के को साँढ़ र? भूसतिघ्रेुलाई छिप्पेको बोका जस्तो देख्छ हेरन । छिप्पेको बोका हेरेर हेर्नु पर्दैन ।

मध्यान्तरको सिटी बज्छ । माथि भित्ता-पाखाबाट एकजनाले मैदान थर्किने गरी लयदार स्वरका साथै गगनभेदी थपड़ीले फुटबल मैदानको भित्ता(पाखा मस्त हुन्छ –

किप्पर कस्तो ? – चुम्बकजस्तो

तारापाते तारापाते – यायाया…..यायाया……यायाया

डम्फुको तालैमा – छ्याप्……छ्याप्…….छ्याप्

रातो जर्सी झ्याप्……झ्याप् झ्याप् झ्याप् ।

ब्याक कस्तो र? – भित्ताजस्तो । हम्मरजस्तो

तारापाते तारापाते – यायाया…..यायाया……यायाया

डम्फुको तालैमा – छ्याप्…..छ्याप्…….छ्याप्

सेतो जर्सी झ्याप्……..झ्याप् झ्याप् झ्याप् ।

सेण्टर कस्तो ? – बिजुलीजस्तो ।

तारापाते तारापाते – यायाया…..यायाया…..यायाया

डम्फुको तालैमा – छ्याप्…….छ्याप्……..छ्याप्

आजको म्याच ठ्याप्……ठ्याप्…….ठ्याप् ।

टिम कस्तो ?  –  काँड़जस्तो ।

तारापाते तारापाते – यायाया……यायाया…….यायाया

डम्फुको तालैमा – छ्याप्……छ्याप्…….छ्याप्

रातो जर्सी झ्याप्……झ्याप् झ्याप् झ्याप्

आजको म्याच ठ्याप्……ठ्याप्……ठ्याप्…….

भित्ता- पाखाभरिबाट समवेत् स्वरमा गुञ्जेको यो लयदार शब्दहरूसितै समवेत् गगनभेदी थपड़ी गुञ्जिँदा मैदानमा थुप्रिएका कुन दर्शकहरू बुरुक्क-बुरुक्क हुँदै थपड़ीमा थपड़ी मार्दै, तालमा ताल मिलाउँदै नझुम्लान् । यो समवेत् लयदार गगनभेदी पङ्क्तिको लयमा उफ्रीपाफ्री नगर्ऩे दर्शक विरलाकोटि पाइएलान् । मात्रै नब्बे मिनटको यो दार्जिलिङे फुटबल म्याचमा सिङ्गो दार्जिलङको मन, मुटु, हृदय एउटै आमाको कलेजामा सिरान लाएर सुतेको देखिन्छ । दार्जिलिङे फुटबलले नब्बे मिनटसम्म एकार्काको मनोमालिन्य, वैरभाव, ईख(ईबी, हानाहान(तानातान तथा सम्पूर्ण पूर्वाग्रह सबै निमिट्यान्नै पार्छ । राजनैतिकको तैँछाड़्-मैंछाड़्, सिङ्-जुझाइँ, शङ्का-उपशङ्का, काटमार, उछिना-उछिन तथा लुछाचुँढ़ीले मात्तिएकी दार्जिलिङलाई यो दार्जिलिङे फुटबलले नब्बे मिनटसम्म फुटबलकै डसनामा मिठाइलो निंद्रा प्रदान गर्ने गर्छ । राजनैतिक सोँड़क्याइँले हजारौंपल्ट मर्दै बौरी उठ्ने यो दार्जिलिङलाई दार्जिलिङे फुटबलले सञ्जीवनीको काम गरेको छ । मल्हम पट्टीको काम गरेको छ । यसैले ता फुटबल भनेपछि सिङ्गो दार्जिलिङ, कमान-बस्ती, कुना-काप्चाबाट सात काम छोड़ेर पनि ग्वारग्वार्ती फुटबल हेर्न सखारै खाजा-पानी आदि बोकी आउँछन् । सामान्य नब्बे मिनट भए पनि वर्षौंदेखि झेल्दै, खप्दै आएको तमाम् पीर-व्यथा बिसाउँछन्…..तारापति तारापित यायाया……डम्फुको तालैमा छ्याप्…छ्याप्…..छ्याप् मा भुलिन्छन् अनि दार्जिलिङे फुटबल मैदानका मिठाइला, टेसिला भाषाहरू मुटुकै सिरानीमा राखेर फेरि आफ्नै गुँड़तिर फर्कन्छन् । दार्जिलिङे फुटबलमा जुन उधुम मज्जा र आनन्द छ त्यो अन्य ठाउँको फुटबलमा छँदै छैन भन्ने मेरो दाबी छ ।

फुटबल म्याचमा रेफरी अनि एसिसटेण्ट रेफरीको ड्रेस एउटै रङको हुन्छ । द्वितीयार्ध शुरु गर्नलाई मैदान पहिले उनीहरूको प्रवेश हुन्छ । रेफरी र लाइन्स म्यान हातमा गोली लिएर मैदानभित्र प्रवेश गर्ने बित्तिक्कै फेरि पारी भित्ताबाट आवाज आउँछ – आयो….आयो…..तीनजना जम्ल्याहा दाजुभाइ आयो ।

कुनाबाट आवाज – जम्ल्याहा होइन हौ तिम्ल्याहा। थ्री बुलेट्स ।

माथिबाट – आँ…..दशैंको लागि किनेको भेष्ट दामी रहेछ ।

तरुणा स्वर – के को दसैंको लागि। अस्ति म मैले हरेक मालमा किन्दै गरेको देखेकी।

घड़ी हेर्दै रेफरीले फुटबलरहरूलाई मैदानभित्र पस्ने सङ्केत गर्दै तिरिरि…..सिटी फुक्छ ।

फेरि कमेण्टस् – मैला लिने मिन्सिबलको मान्छे आयो है ……..

गगनभेदी हाँसोको बादलले मैदान ढाक्छ । फेरि घोर्ले स्वर –

फेरि कटाक्ष – रेफरी कस्तो ? – मिन्सिबलको मैला बोक्ने सिटीवालजस्तो ।

तारापाते तारापाते……..तिर् तिर् तिर्

सिटीको तालैमा…….छ्याप्…….छ्याप्…….छ्याप्……

तिर्……तिर्…….तिर्  । तिर……तिर……तिर् । (आफूले घरबाट ल्याएको सिटी बजाउँदै)

अर्को आवाज – लाइन्सम्यान कस्तो ? – रेललाई झण्डी हल्लाउने गार्डजस्तो ।

तारापाते तारापाते – यायाया…….यायाया…..यायाया

रेफरीको तालैमा…..झ्याप् झ्याप झ्याप ।

तिर्…..तिर्…….तिर्  । तिर……तिर……तिर् । (आफूले घरबाट ल्याएको सिटी बजाउँदै)

भित्ता_पाखाबाट टिनको च्याप्ला, भुल्डुङ, ढ्याङरो। डम्फु, मादल बजेको सुनिन्छ । यो वाद्यवादनले फुटबलरहरू सँगसँगै तमाम् दर्शकहरूलाई अर्कै मज्जाको संसारमा रमण गर्न वाध्य गराउँछ ।

म्याच शुरु । गोली चल्यो । दुवै टोलीमा एकाध नयाँ फुटबलर सामेल गरेको देखिन्छ । रातो जर्सीका  स्ट्राइकरले काँड़जस्तै विपक्षीको पोष्टमा शुट गर्छ । किप्पर चिलजस्तो उड़ेर गोली च्याप्पै समातेर भूइँमा लोटछ । थपड़ी र साइसाइ र सुइसुइले मैदान थर्किन्छ । दर्शकदीर्घाबाट आवाज आएर सबैको कानमा थुरिन्छ – किप्पर कस्तो ?  – (समवेत् स्वर) चुम्बकजस्तो ।

फेरि अर्को आवाज अर्को कुनाबाट – किप्पर कस्तो र? – (समवेत् स्वर)  फेभिकलजस्तो ।

सिङ्गो मैदानबाट समवेत् स्वर तारापाते तारापाते – यायाया……तारापाते तारापाते यायाया……डम्फुको तालैमा छ्याप……छ्याप……छ्याप ।

साधारण गोली मिस गर्ने किप्परलाई कटाक्ष – ए…..चुहुने किप्पर । जाऊ भाइ…..एम सीलले चुहुने टालेर आऊ ।

छेवैबाट गीत सुनिन्छ…..  छपनीले छान्छान् डबकीले हान्…….चुहुने किप्परको हापेन तान्……

म्याचलाई पूर्णरुपले उत्तेजना र च्यँच्यूँले अङ्कमाल गरिसकेको छ । दु:खको कुरो……आकाश धुम्मिएको छ दर्शकहरू ! एक राश धुस्सेले फुटबल मैदानलाई बाहुपाशमा कसेको छ । मैदानमा कसैले कसैलाई देख्न सकिरहेको छैन । रेफरीले केही क्षणको निम्ति म्याच स्थगित गरेका छन् । पानी पर्ने सम्भावनाले पाखा(भित्तामा बसेका दर्शकहरू रङ्गी-विरङ्गी छाता ओढ़ेर बसे पनि रौसैपन, ठट्टामा भने कुनै विराम लागेको छैन । टिनको च्याप्ला, भुल्डुङ, ढ्याङरो । डम्फु, मादल अविराम बजिरहेछ्न् । एकजनाको विरक्तिलो आवाज सुनिन्छ – ठैट ! धुम्म लागेर ऱड्डी भयो नि !

अर्को उराठलाग्दो स्वर – यो अरु केही होइन कि लोदरे छपनी किप्परको लोदर लागेको । छपनीको कुरा सुन्ने बित्तिकै ग्यालेरी साइडबाट एकजनाले गीत गाएको सुनिन्छ-

मादल घन्काउँदै – छपनीले छान्छान् डबकीले हान्

डबकीको निगारैले लाग्यो मलाई बान्

तलबाट

गोल गर नि लै लै गोल गर

गोलपोष्टको जाली छेँड़ पार

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

पारीबाट

छ्क्याई देउन राजा छक्याई देउन

घुमाउरो शुटले गोल हालि देउन

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलेको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

अर्को कुनाबाट

घुम्माई लेउन नानी घुम्माई लेउन

बाड़ुली कम्मर घुम्माइ लेउन

माथ्लो भित्ताबाट

ओहोई नकदले भित्तैमा टाउको दले

(दोहोऱ्याउँछन् सबैले)

बीचबाट

गोल हेरुँला झ्याम्लेको गोलै हेरूँला

सँगै बसी आजिलाकोमा जाँड़ै खाउँला

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

छेउबाट

साथै बसौली नानी साथै हाँसौली

दुई दिनको जीवन यो सँगै बिताउली

तलबाट

रातो भाले नि लै लै सेतो भाले

जसरी हुन्छ मरेर पनि गोल गर

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

पारी पाखाबाट

वारी पिपल नानी पारी वर

टिमको ताल मिले गोलको के डर

सबै समवेत् स्वरमा

ओहो……….ओहो…….हो……हो…….हो…….हो…….हो….हो ।

हुर्रर…..आहै है…..आह है लरबरी आहै है

ओहोई नाकदले भित्तैमा टाउको दले

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

(दोहोऱ्याउँछन् सबैले)

गोलपोष्टको छेउबाट

फुटबलैमा यो लै लै फुटबलैमा

देखाई देउन गोल गरेर ठमठमी

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

अर्को पोष्टबाट

छम्छमी नानी छम्छमी

देखाइदेऊ दुनियाँलाई छम्छमी

छम्छमी नानी छम्छमी

देखाइदेऊ दुनियाँलाई छम्छमी

तरुणीको समवेत स्वर कत्ति मज्जाइलो नि आजको फुटबल

भेट गरायो हाम्लाई मनै झलललल

लहै बरी लै लै यो फुटबल

गोल गर्नै पर्ने लगाई बल

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान् ।

समवेत् स्वर

कत्ति रमाइलो छ नि आजको दिन

भेट भयो दैव संयोग हाम्रो मिलन

लहै बरी लै लै हाम्रो योबन

पिउनै पर्ने यो डबकी जाँड़ छिन छिन्

कमेण्ट्री बक्समुन्तिरबाट

लहै बरी लै लै यो फुटबल

गोल गर्नै पर्ने लगाई बल

गर्नैपर्छ गोल  लगाई बल

लण्ड्याई लण्ड्याई नि लै लै बुटले हान्

गोलैको तिर्सनाले लाग्यो मलाई बान्

गोली गर नि लै लै गोल गर

गोलपोष्टको जाली छेँड़् पार

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान्

गोलैको तिर्सनाले लाग्यो हाम्लाई बान्

लाग……यो……हाम्लाई बा,……..न्

समवेत स्वर

लहै बरी लै लै हाम्रो जोबन

जसरी भए नि गोल गर्नै पर्ने यो आजको दिन

छपनीले छान्छान् डबकीले हान्

डबकीको निगारैले लाग्यो मलाई बान्

जता बाट भए नि गोल गर

स्ट्राइकरको गोलको लाग्यो तिर्सना

डबकीको निगारैले लाग्यो मलाई बान्

गोलैको तिर्सनाले लाग्यो मलाई बान्

लाग्……..यो……मलाई बा,……न् ।

(गङ्गा वरदान – प्यारोडी)

स्वागत दर्शकहरू ! धुम्मले केही नदेखिए पनि कसैको कानमा धुम्म लागेन होला भन्ने विश्वास छ मलाई । यो खेल मैदानबाट समवेत स्वरमा गुञ्जेको गीत हामी सबैले रसास्वादन गऱ्यौं । दार्जिलिङे फुटबलको यसैमा ता छ…….मज्जाइलो आनन्द ।

म्याच शुरु भयो । आकाश सफा।  केही क्षण म्याच स्थगित भएकोले थकित भएका फुटबलरहरूको थकावट सामान्य थोर भएकै हुनुपर्छ । पहिलेभन्दा तीव्र वेग र जोशमा फुटबलरहरू गोल गर्नलाई हिंस्रक बाघजस्तो झम्टेका देखिन्छन् । सेतो जर्सीले रातो जर्सीको सिमानामा गोली पुऱ्याएर किप्परलाई भेदने प्रयास गरे पनि रातो  जर्सी पट्टिका डिफेन्स एरियामा भित्ताजस्तो भएर उभेको ब्याकले विपक्षीलाई  डि बक्सभित्र ढिम्किनै नदिएकाले रातो जर्सीको पट्टीका समर्थक मैदानै थर्केर कराएको आवाज उपस्थित दर्शकहरूका कानैमा आएर थुरिन्छ – ब्याक कस्तो ? –  हम्बरजस्तो ।

उताबाट – भित्ताजस्तो ।

फेरि समवेत् स्वर – तारापाते तारापाते – यायाया…….तारापाते तारापाते झ्याप्….. झ्याप्….. झ्याप्…. हाम्रो ब्याकको अघि सबै स्याप्…..स्याप्….स्याप्।

आफ्नो साथीलाई पास दिन गल्ती हुँदा – पास बाङ्गो कि खुट्टा बाङ्गो ?

अर्को कटाक्ष – ओई बाङ्गे ! जाऊ भाइ तिम्रो खुट्टा ग्यारेजमा लगेर वेल्डिङ गरेर ल्याऊ ।

अर्को चर्को स्वर – ग्यारेजमा नभए सनासोले सोझो पारेर आऊ । जाऊ भैया…..डोनेशन उठाएर खर्च हामी दिउँला…..

यो कमेण्ट्री बक्सबाट म देख्दैछु,  अनुहारभरि डण्डीफोरै डण्डीफोरले वास गरेको अनुहार लिएर एकजना गोली गुँड़ाउँदै विपक्षीको सिमानामा धावा बोल्नु जाँदैछ । दाहिने तिरबाट गोली सेण्टर गर्दा खुट्टा जिप्टेर गोली साइड लाइनको बाहिर जान्छ । दर्शकहरू चुकचुक गर्छन् । साइड लाइनको छेवैबाट – खाली खुट्टा खेल्ने बानी छ कि क्या हो भाइलाई…… बूट लाएर पनि बाहिर पो गोली  हानेको । कि आँखा कना छ क्या हो ?

पोष्ट बाहिरबाट –

ए फलानु नम्बर (फुटबलरको जर्सी नम्बर तोकेर) भ्यागुते । यो कुवा होइन है ग्राउण्ड हो…..ब्रो ग्राउण्ड हो ।

फेरि थपिन्छ – के को भ्यागुते…..देखेनौ कचल्टिएको फर्सीजस्तो । यो कचल्टिएको फर्सीको खुट्टा होकि लौरो हो ।

अहिले मैदानमा सामान्य ग़़ञ्जागोल सृष्टि भएको छ । रेफरीको गलत निर्णयमा फुटबलर र रेफरीमाझ भनावैरी भएको देखिन्छ । अवस्था सम्हाल्न वा रेफरीलाई गोहार गर्न दुइ लाइन्सम्यान पनि त्यही हुद्दामा सामेल भएको देखिन्छ । भित्ता-पाखामा बसेकाहरू आ-आफ्नै टोलीको पक्षमा कराइरहेछन् । कराउनेहरूमा विशेष तरुणीहरू रुपीजस्तै कराएका सुनिन्छ । रेफरीको निर्णय प्रति सबै असन्तुष्ट देखिँदैछन् ।

 

एउटा व्यङ्ग्यवाण – मिन्सिबलको मैला  स्टाफलाई निकाल्……..यो तेरो मैला ढ्वाङ होइन । भोलि बिहान मेरो घरमा आएर सिटी फुक्नू ।

अर्को स्वर – रेफरी होुकि जाबेद जेफ्री हो ?

तुरुन्तै जवाफ अर्को कुनाबाट – के को जेफ्री र? यो रेफरी ज्योग्राफी हो नि …..ज्योग्राफी ।

लाइन्सम्यान्स समेत घानमा पर्छन् – तेरो झण्डी सिङान पुछेर फ्याँक् । यो ठाउँ तेरो होइन…..जा स्टेशनमा गएर रेललाई हल्ला तेरो झण्डी।

मैदानमा दर्शकदिर्घाबाट आएको व्यङ्ग्यवाण। झटारो, कटाक्षले रेफरी, लाइन्स म्यान र फुटबलरहरूलाई के कतिको असर पर्छ कोनि सो अनुमान गर्न नसके पनि फुटबल मैदानको चारैतिर बसेका हजारौं दर्शकलाई भने यो व्यङ्ग्यवाणले टेसिलो खुराक प्रदान गर्ने गर्दछ । दार्जिलिङे फुटबल मैदानमा प्रक्षेपण गरिने यही व्यङ्ग्यवाण, झटारो, कटाक्ष ता दार्जिलिङे फुटबलको ज्यान हो । भन्नु उसो होइन, दार्जिलिङे फुटबलमा यस्ता व्यङ्ग्यवाण, झटारो, कटाक्ष प्रक्षेपण नहुँदो हो ता दार्जिलिङे फुटबल रस निचोरेको कागतीजस्तै नै हुनेथ्यो । यिनै व्यङ्ग्यवाण, झटारो, कटाक्षले दार्जिलिङे फुटबललाई जीवन्त राखेको छ…..अजर-अमर बनाएको छ ।

मैदानमा अग्ला-होंचा, सिकुटे, मोटे विभिन्न आकार-प्रकारका फुटबलहरू देखिन्छन् । त्यस्ता होंचा फुटबलरलाई पनि किसिम व्यङ्ग्यवाणले स्वागत गरेको सुनिन्छ – बामपुड़्केु, डल्लेु, लोहोड़ेु, ङ्तुङु, ग्वाँचेु आदि आदि ।

 

यस्ता होंचा फुटबलरले गोली बिगारेको खण्डमा यस्तो कटाक्ष सुनिन्छ – अमुम्मई….ढेढे़ बालक । फुटबल खेल्नै नसक्ने रहेछ…..किन फुटबल खेल्न आउनु ? त्यो ढेढ़े बालकलाई लाबरको गोली देऊ । जाऊ नानु…..घरमा गएर आँगनमा सुँगुरको फकुण्डो प्र्याक्टिस गरेर आऊ बाबु । नानुको ओॆठ निचोर्य़ो भने आमाको दूध आउँछ होला ।

तुरुन्तै कटाक्ष – के को आमाको दूध । देखेनौ छिप्पेको मोरा….ओँठ हेर न स्कुटरको टायरजस्तो । ओंठ निचोऱ्यो भने के को आमाको दूध…..निचारेर मात्रै हेरन….जाँड़ कि ता गड्डीको तरर…..चुहुन्छ । देखेनौ ? मोरोको जीउडाल…..प्रेशर कुकुरमा हाल्यो पन्ध्र सिटीमा पनि नपाक्लाजस्तो छ मोरो ।

त्यस्ता होंचा फुटबलरले जस्तै राम्रो खेल देखाए पनि भित्ता(पाखाबाट कटाक्ष, व्यङ्ग्य बन्द हुने होइन क्यारे ।

हाँसउठ्दो मिठाइलो पेँच – त्यो छिप्पेको फर्सीको फुरफुर झार् । मागेको जर्सी लाएको होुकि क्या हो मोराले ? मान्छेभन्दा जर्सी नै ठूलो हेरन । यो ग्याँचेलाई ता जर्सीले पुरेर मार्छ होला हौ नारायण….मार्छ होला हौ । यसबाहेक पनि यस्ता होंचा कदका फुटबलरलाई पुर्तुङ् ग्वाँचेु, ढ्याब्रेु आदि नामले जिस्काएको पनि सुनिन्छ ।

लु भयो । दार्जिलिङे फुटबलको भाषा नै मिठो । मनमा चस्सै लाग्ने तर उधुम मज्जाको न्यानो। फुटबलर पातले भए पनि धर छैन – त्यो तिखुरेलाई टिपेर फ्याँक् ।

त्यो मरञ्च्याँसेलाई फुकेर साइड लाइन बाहिर पठाइदे ।

फेरि अर्को सल्लाह – एई लुते ? हावा चल्दैछ । गोजीमा ढुङ्गा हालेर कुद् । अहिले हावाले लुतेलाई साइड लाइन बाहिर उड़ाएर लैजाला है ।

अर्को उटपटाङ कटाक्ष – उड़ाएर के बाहिर लान्थ्यो यो लिखुरेलाई…..उड़ाएर सोझै बैनीको काखमा (छेवैमा बसेकी युवतीलाई सङ्केत गर्दै) आएर बुबु माग्ला नि ।

समवेत गललल…..हाँसोले मैदान पनि लजाएर के गरूँ कसो गरुँ हुन्छ ।

अग्ला फुटबलरले गोली विपक्षी टोलीको सिमानातिर बढ़ाउँदा – लग्यो……लग्यो….. लाम्खुट्टेले लग्यो । डेङ्गोको पाइलट । खोस् त्यो लाम्खुट्टेको खुट्टाबाट गोली ।

अर्को कटाक्ष – लाम्खुट्टेको कप्टेरो बाँसजस्तो खुट्टा भाँच् । एई हड्डी।।।नछु हाम्रो टिमको गोली ।

अर्को झटारो – शिसिलखुट्टेको चुरीफुरी झार् । देऊ न है त्यसको पानी पेट कि आगो पेटमा ।

त्यस्तै प्रकारले लामो कपाल हुनेलाई झ्याप्लेु, जगटेु, केश बाटेकालाई गुजुल्टेु, बैनी, जगटेु, मैदानमा घरि पनि घरि पनि बिना कारण लड्नेलाई नतङ्ग्रेको पाड़ा, कालो रुपरङ हुनेलाई धम्मरधुसेु । अगुल्टोले झोस्दा झोस्दै उम्केको । अगुल्टेु, कुण्डल लाउनेलाई कान्छी, रफ खेल्नेलाई डोजरु, काँड़जस्तो सुट गर्नेलाई बुलेटु, नशै नशा निस्केकोलाई खिनौटेु भनिएको सुनिन्छ भने फुटबलरको शारीरिक अङ्गको हिसाबमा यसरी नाम राखेको सुनिन्छ । बाङ्गो वा मिस पास गर्नेलाई खुट्टा बाङ्गेु, लजाउँदै खेल्नेलाई मुस्कानु, थ्याप्चे अनि सिकुटेलाई दापु, दरो खुट्टा हुनेलाई फलामेु, जिङरिङ्ङ कपाल हुनेलाई झुस्रेु, एक ठाउँमा उभिएर खेल्नेलाई ढेँढ़ु, अल्छेु, सुम्साँढ़ेु । मैदानमा विपक्षी फुटबलर साथीलाई ह्याँकुलाले मिच्न खोज्नेलाई सिङसाँढ़ेु, छाड़ा छोड़ेको साँढ़ु, गोरोलाई सेतेु, मैदा पोल्ट्रीको कन्ये पोथी, बोक्रा उप्काएको अण्डा आदि । नहेरी सुट गर्नेलाई नङ्ग्रेु ।

दार्जिलिङे फुटबलमा भनिने, सुनिने यस्ता मिठाइला, टेसिला शब्दहरूले नै दार्जिलिङे फुटबललाई बँचाएको छ, तमाम् दार्जिलिङे दर्शकहरूलाई बँचाउनु मात्र होइन मोहनी लगाएको छ । हामीले नसुनेका यस्ता भाषाहरू कति होलान् कति । कति बिर्सिसक्यौं पनि होला हामीले । त्यसको सङ्कलन गर्न सके एउटा विशाल ग्रन्थ नै तयार हुनेथ्यो ।

दु:खको कुरो, १९८६ को आन्दोलनपछि दार्जिलिङे फुटबलमा दार्जिलिङे फ्लेभर पाइँदैन । आन्दोलनपछि दार्जिलिङे फुटबलको रौनक हराएको छ । यसको अर्थ दार्जिलिङे फुटबल म्याच आयोजन हुँदैन भन्ने होइन । पहिलेजस्ता रौसे, उल्लाहा, फटाहा दर्शकहरू त्यति देखिँदैन फुटबल मैदानमा अचेल । पहिलेजस्ता दर्शकहरू ग्वारग्वारती मैदानमा जाँदैनन् । त्यसको कारण, हिजोआज दार्जिलिङे फुटबल दर्शकहरूले (सबैले होइनन्) राजनीतिक गगल्स लाउन थालेका छन्। राजनीतिक गगल्सले लाइन्स म्यानको झण्डीलाई विपक्षी पार्टीको झण्डी देख्छन् । रेफरीको सिटीलाई विपक्षी पार्टीले जिस्काएको देख्छन् । किप्परले चुम्बकजस्तो गोली च्याप्पै-च्याप्पै समात्दा आफ्नै पार्टीको मान्छेको घाँटी अँठ्याएको देख्छन् । राजनैतिक गगल्स लाउनेहरूले पोल्दा पोल्दै उम्केकोजस्तो देखिने फुटबलरले विपक्षी टोलीको सिमानामा सुट गर्दा आफ्नै घर जलाउन आएको देख्छन् । मैदानमा गुड़्ने निष्प्राण ८.६६ इञ्च (२२ सेण्टिमीटर) वृत्ताकार फुटबल कुनै पनि फुटबलरले सुट गर्दा आफ्नै घरमा बम फ्याँकेको देख्छन् । कथङ्कल रेफरीले कुनै पनि फुटबलरलाई येल्लो वा रेड कार्ड देखाए रेफरीलाई कट्टर विपक्षी देख्छन् भने एसिसटेण्ट रेफरीले आफ्नो झण्डी तेर्स्याएर देखाए, असिसटेण्ट रेफरीलाई आफ्नै पार्टीको विभिषण ठान्छन् । दार्जिलिङे राजनीतिको गगल्सले सबै कुरा उल्टा देख्न थालेको छ अचेल । जबसम्म दार्जिलिङका रसिक, रौसे, फटाहा, उल्लाहा दर्शकहरूले राजनीतिको गगल्स खोल्दैनन् तबसम्मै दार्जिलिङे फुटबलमा टेसिला, रसिला, महकिला, रमाइला, मज्जाइला व्यङ्ग्यवाण, कटाक्ष, घोंचपेंच हाम्रो कर्णकुहरमा गुञ्जिन पाउने छैन । अनि अब्बल, जण्डा फुटबलरहरू निमिट्यान्नै भएको कारण पनि यही यही दार्जिलिङे राजनीतिको शङ्कालु गगल्सकै कारण हो ।

येन-केन-प्रकारेण दार्जिलिङेमा फुटबलको वक्षस्थलमा फुटबल हुनेनै छ……नयाँ-नयाँ फुटबलरहरू जन्मनेछन्….नयाँ नयाँ दर्शकहरू फुटबल हेर्न जानेछन् तर मैदानमा यस्ता भाषा सुन्न पाइएऩ भने दार्जिलिङे फुटबल खँजाहा भएको जस्तो लाग्नेछ  हामीलाई । यसकारण दार्जिलिङे फुटबल मैदानमा बोलिने फुटबल भाषाको फ्लेभर यथावत् राख्नु हो भने फुटबल हेर्न जाने दर्शकले सबभन्दा पहिले आफूले लाएको राजनीतिक गगल्स उनको पार्टी अफिसमै फुकालेर मैदानमा जानुपर्नेछ । त्यसो गरे मात्र दार्जिलिङे फुटबल  भाषाको गौरव, महत्त्व फर्किनेछ । नत्र चरालाई ढुङ्गो हाने झैं नै हुन्छ ।

किप्पर कस्तो ? – चुम्बकजस्तो

ब्याक कस्तो ? – भित्ताजस्तो

डिफेन्स कस्तो ? – हम्मरजस्तो

सेण्टर कस्तो ? – बिजुलीजस्तो ।

टिम कस्तो ? – काँड़जस्तो ।

East and West Rato Bhale is the best

जय दार्जिलिङे फुटबल ।

दार्जिलिङे फुटबलको जय होओस्

 

लेखक परिचयः साहित्यकार कृष्ण प्रधान बिबिधविधाका उर्वर लेखक तथा सम्पादक हुन् । खरसाङमा जनमेका उनको सिर्जनभूमि कर्मभूमि सिलगढी रहेको छ । स्कूले जीवनमा नवौं कक्षामा हुँदा नै पहिलो रचना प्रकाशित गरेका उनका कविता, निवन्ध प्रवन्ध, एकाङकी, जीवनी, समीक्षा समालोचना, उपन्यास, अनुवाद गरी दर्जनौं पुस्तक प्रकाशित छन् र साहित्यिक रचना तथा योगदानका लागि पुरस्कार, मान सम्मान पनि प्रशस्त प्राप्त गरेका छन् ।

1 thought on “व्यङ्ग्य: दार्जिलिङे फुटबल मैदानका टेसिलो भाषा

  1. आहा! यो लेखले पाठकलाई रमाइलो बनाउँछ। यसमा भाषाको कुरा छ, खेलको रोमाञ्च, दार्जिलिङको फुटबलको इतिहास, बाल्यकालको nostaljik छ। यसले समाजभाषिक अध्ययन गरेको छ। बधाई छ लेखकलाई

Leave a Reply