सन्दर्भ जन्म शताब्दी ; जनकविकेशरीको हरियो डाँडामाथि…..

गद्य विविध

नीलकमल

आज जीवनको नवौँ दशकमा हिँडिरहेका राजनीतिज्ञ तथा सामाजिक अभियन्ता भगवतीदास श्रेष्ठ सम्झिन्छन् —भारतको शिलाङमा आजभन्दा सात दशकअघि “धुरुधुरु नरोऊ आमा, तिम्रो आँसु पुछेर छाडौँला….” जस्ता देशभक्तिपूर्ण लोकभाकाहरू उराल्दै हिँडेका एउटा कवि र जनगायकका पछाडि आफू ताली बजाउँदै हिँडेको । शिलाङ तथा आसामका विभिन्न भागमा कविता तथा गीतहरू प्रस्तुत गर्दै हिँडेका ती कविलाई आसामका चर्चित कवि हरिभक्त कटुवालले अगुवाई गरेका थिए । भारतका नेपाली बस्तीहरूमा जागरणको बिकुल फुक्दै हिँडेका ती जनकवि तथा गायक थिए जनकवि केशरी धर्मराज थापा ।

वि.सं.१९८१ साउन १ गते हालको गण्डकी प्रदेश रहेको कास्की जिल्लाको बाटुलेचौरमा जन्मेका धर्मराज थापा सानै उमेरदेखि नै विद्रोही तर कवित्वचेतले पूर्ण परिचित थिए । आमा मनमाया र बाबु हर्कबहादुर थापाका छोरा भएर जन्मे  धर्मराज तर समयक्रममा उनी नेपाल आमाकै छोरा बन्न पुगे आफ्नो कर्मले । वि.सं. २००३ सालमा नै पहाडी सङ्गीत नामक गीतिरचना प्रकाशित गरी उनी कलासाहित्यका क्षेत्रमा प्रवेश गरिसकेका थिए । भाषासाहित्य, लोकसाहित्य तथा गायनमा समर्पित थापामाथि तारानाथ शर्माले वि.सं.२०१५ सालमा नै “नेपाली झ्याउरे कुर्लियो……” शीर्षकमा लेख प्रकाशित गरी उनीप्रति सम्मान प्रकट गरेका थिए । यस प्रकरणबाट पनि थापाको लोकसाहित्यका क्षेत्रको पुरानो संलग्नता प्रष्ट हुन्छ । बलशाली देह र त्यत्तिकै मधुर बोलीका धनी थापा एक जमानामा नेपाली राजनीतिका एउटा पृथक् तर युगान्तकारी पात्र डाक्टर कुँवर इन्द्रजित सिंह (डा.के.आइ.सिंह)का कट्टर समर्थक थिए । सात सालको दिल्ली सम्झौता धोका हो भन्ने सिंहको विचारलाई समर्थन गर्दै थापाले थुप्रै लोकपद्यहरू रचेका थिए । यहीँबाट उनमा साहित्य र कलाका माध्यमबाट जनजागरणको स्वर उराल्ने प्रवृत्तिको सुरुवात भएको मान्न सकिन्छ ।

भारतको दार्जीलिङबाट अगमसिंह गिरिले “नौलाखे तारा उदाए, धरतीको आकाश हाँसेछ….” भन्दै उरालेको नेपालीत्वको भावलाई भूपि शेरचनले यताबाट “अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटैमा….” बाट जवाफ दिएका थिए । हुन पनि हो नेपाली गीतसङ्गीतको त्यो जमाना गीतसङ्गीतको सिद्धान्त र प्रवृत्तिको खोजी गर्नेभन्दा त्यसमार्फत जनतामा जागरणको खोजी गर्ने युग थियो । यही परम्पराको खोजीमा लागेका थापाले के. आई. सिंहलाई “नेपाल आउन देऊ…., हरियो डाँडामाथि हलो जोत्ने साथी…….”तथा “धुरुधुरु नरोऊ आमा तिम्रो आँसु पुछेर छाडौँला… “ जस्ता भाखाहरू उरालेका हुन् । विशुध्द लोकभाका र “सिरीमा सिरी नि कान्छी बतासै चल्यो…..” जस्तो लोकआधुनिक भाकामार्फत अगमसिंह र अम्बर गुरुङकालको दार्जीलिङको सङ्गीतसित नेपालबाट मैत्रीपूर्ण प्रतिस्पर्धाको सुरुवात गराउने स्रष्टा पनि रहे धर्मराज थापा । सेतुराम प्रधान, मित्रसेन थापा तथा मेलवादेवी आदिको अविच्छिन्न गीत तथा सङ्गीतको परम्परालाई उनीहरू पछि धान्ने सर्जक पनि उनै माधवप्रसाद घिमिरे तथा धर्मराज थापा आदि हुन् । बालक, वृद्ध र युवा एकजमानामा सबैको रोजाईमा पर्ने उनका गीतहरू लोकशैलीका उन्नत सिर्जना रहेका छन् । थापाले जति गीत गाए ती गीतहरू उनका आफ्नै रचना थिए, यदाकदा लोकलयमा आधारित देखिएकाले सङ्कलन पनि भनिएको हुन सक्छ ।

नेपाली लोकवाङ्मयका शिखर पुरुष थापाले पाँचै वर्षको उमेरमा मातृत्व गुमाउनु पर्‍यो । सानैदेखि गाउँघरमा भजनकीर्तन, दोहोरी तथा चुड्का आदिमा रमाउने उनी वि.सं. १९९६ सालमा विवाहपछि श्रीमती सावित्रीदेवीसित काठमाडौं छिरेपछि उनको जीवनमा नयाँ मोड आयो । किशोरावस्थामा नै रउसे स्वभावका उनी गाउँमा छँदा मेला बजारमा आउने यौवनासित रातभरि नाच्न पनि पछि पर्दैनथे । मानका भावना निर्धक्क साट्थे उनी तरुनीहरूसित । हुँदाहुँदा नेपाली सांस्कृतिक प्रमण्डलको सदस्य भई चिनको भ्रमणमा गएका बेला कल्कलाउँदा चिनियाँ परीहरूले उनको गालामा चुप्प म्वाइँ खाएको पनि उनी निर्धक्क सबैसित बताउँथे । एउटा खुल्ला किताब झैँ लाग्ने उनले लोकसाहित्यको विशेष पत्रिका “डाँफेचरी” निकाले जो आजपर्यन्त पनि लोकवाङ्मयको अनुपम सामग्री मानिन्छ । गोरखापत्र संस्थानका केही समय काम पनि गरे उनले । माधवप्रसाद घिमिरे तथा केदारमान व्यथित आदिसितको बढ्दो हिमचिमले साहित्यिक चेत थप निखारिदै गयो उनको । हुन त यसअघि नै उनले उद्योग नामक पत्रिकामा “सेवा” शीर्षकको कविता छपाएर साहित्यको आकाशमा उदाइसकेका थिए जो समयको हिसाबले २००१ साल थियो । एउटा यस्तो समय पनि आयो डा. के.आई.सिंहको समर्थनमा लेखिएको गीतिकविता “क्रान्तिकारी हे वीर के.आई.सिंह कहाँ गयौ झ्यालखाना तोडेर……” सडक र गल्लीहरूमा गाउँदै हिँड्दा उनले एक महिना जेलजीवन पनि बिताउनु परेको थियो ।

आफ्नो जीवनकालमा तीन दर्जन जति कृतिहरू पस्किए थापाले जसमध्ये “मङ्गली कुसुम”ले मदन पुरस्कारसमेत पाउन सकेको छ । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सहसदस्यसमेत रहेका थापालाई आज पनि लोकसंस्कृतिविद् तुलसी दिवस स्रोतव्यक्ति मान्दछन् । दिवस धनकुटामा १० कक्षाको विद्यार्थी छँदै वि.सं.२०११ सालतिर धनकुटामैँ धर्मराज थापाका जागरण गीतको पारख गरेको कुरा सगर्व सम्झिन्छन् । त्यतिबेला थापा लोकभाकामा जागरण गीत प्रस्तुत गर्ने देशदौडाहामा थिए । कुमार बस्नेत, नारायण गोपाल, लालबहादुर खाती तथा प्रेमप्रकाश मल्ल मधुकर आदिलाई गायनको क्षेत्रमा ल्याउने र आइसकेकाहरूलाई मलजल गर्नमा पनि औधी ठूलो सहयोग रहेको छ थापाको ।  एउटा साधारण किसानका सुपुत्र धर्मराज एक किसिमले भगवती स्वरस्वतीका वरदपुत्र बन्न पुगे । राजा महेन्द्रबाट वि.सं.२०१३ सालमा नै जनकविकेशरीको उपाधि र मासिक जीवनवृत्ति स्वरूप रु. १००।— पाएका उनले त्यो उपाधिलाई सदा शिरोधार्य गरी कार्य गरे । गोरखापत्र संस्थानपछि रेडियो नेपालमा आजीविकाका लागि जागिर खान पुगे थापा जहाँ उनी २००९ सालदेखि २०२६ सालसम्म रहे । २०११ सालमा आयोजित पहिलो राष्ट्रव्यापी कवि सम्मेलनमा प्रथम पुरस्कार पाएका थापा जगदम्बाश्री र मदन पुरस्कारका पनि हकदार बने । यस बीचमा उनले पाएका पुरस्कारहरू आदिकवि भानुभक्त, देवकोटा शताब्दी, इन्द्रराज्यलक्ष्मी, छिन्नलता, साझा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार तथा नइ खरा आदिको त छुट्टै फेहरिस्त रहेको छ । गण्डकी अञ्चलको प्रतिनिधित्व गर्ने भएकाले उनलाई गण्डकी रत्न नामक सम्मान पनि प्राप्त भएको पाइन्छ । ग्रन्थस्तरमा वि.सं.२००३ सालमा रत्नजुरेलीको प्रकाशनबाट साहित्यमा पदार्पण गरेका थापाका तनहुँ फूलबारी (२०३६), गण्डकीका सुसेली (२०२६), बिलौना (२०११), हाम्रो लोकगीत (२०२२), सगरमाथाको सेरोफेरो (२०३१), मङ्गली कुसुम (२०२५), मेरो नेपाल भ्रमण (२०१६), तिलोत्तमाको भेल(२०११), रानीपोखरा (२००९), लोकसंस्कृतिको घेरामा लमजुङ (२०४१) तथा चित्तवन दर्पण (२०३२) आदि प्रमुख रहेका छन् । यसरी हेर्दा गीत तथा कविता त उनको प्रतिनिधि विधा देखिन्छ नै यसबाहेक पनि अनुसन्धान तथा यात्रा संस्मरणका क्षेत्रमा पनि उनको गतिलो दखल देखिन्छ । मराणोपरान्त प्रकाशित नौसिन्दाको जागिर (२०७८) मा उनका लोभलाग्दा संस्मरणात्मक कृतिहरू प्रकाशित छन् जसमाथि समालोचक राजेन्द्र सुवेदीले गम्भीर मिहीन भूमिका लेखेका छन् ।

पाँचै वर्षमा आफ्नी ममतामयी आमा बित्नु र बाबुले अर्की आमा ल्याएपछि उनी भीर र वनपाखा डुलेर प्रकृतिसित मित्रताको हात बढाउन पुगे । तर यसो भए पनि उनी अन्तर्मुखी चाहिँ कहिल्यै भएनन् । यसको फलस्वरूप हुनु पर्छ उनी यात्राप्रिय हुनुको कारण । यही यात्राप्रियताले उनमा स्थलगत अनुसन्धानमा गर्विलो साथ दिएको पूर्णप्रकाश नेपाल ‘यात्री’लाई जस्तै । कविता र गीतका माध्यमबाट नेपाली भावनालाई एकसूत्रमा बाँध्ने कार्य गरेका थापाले जातीय चिन्तनमा सांस्कृतिक जागरणको पनि उद्घाटन गरेका छन् । राष्ट्रिय जीवनका हरेक क्षेत्रमा अद्वितीय योगदान गर्नेहरूमाथि उनले गीतबाट सम्बोधन गरेका छन् । यसै प्रसङ्गमा सगरमाथाका प्रथम आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा यस्तो गीत उनले लेखेका छन् …

कसरी चढ्यौ कसरी बढ्यौ हिमाली चुचुरा

कसरी हिउँको ओछ्यानमाथि निदायौ बिचरा…..

 

श्रम, इमान्दारिता र लगनशीलताको सदैव सम्मान उनका कविताहरूमा पाइन्छ भने युवावयमा रहेको क्रान्तिकारी रोमान्सवाद पछिल्लो कालखण्डमा केही ओझेल पर्दै गएको देखिन्छ । किसानको दैनन्दिनीप्रति समर्पित उनको गीत “हरियो डाँडामाथि हलो जोत्ने साथी……” आज पनि पुराना पुस्ताका सङ्गीतका पारखीहरूमाझ लोकप्रियताको शिखरमा रहेको छ । “आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन …..” उनको अर्को युगान्तकारी गीत हो जसले सांस्कृतिक आन्दोलनको चित्र पेश गर्दछ । मृत्युपश्चात् प्रकाशित नौसिन्दाको जागिर शीर्षकको संस्मरण पुस्तकमा उनको जागिरयात्रा तथा देशदर्शनका रहलपहल संस्मरणहरू निकै रोचक र घतलाग्दा रहेका छन् ।

“साइलीरी मै चौंरीगाई झर्‍यो रिमै मधुवनैमा….”, “आइपुग्यौँ रेलैमा नौ बजे बेलैमा, देहरादूनैमा साथी देहरादूनैमा….. “ तथा “नेपालीले माया मायो बरिलै….” जस्ता गीतहरू आज नेपालको रिमिक्स र रिमेक पध्दतिमा हुर्केको पुस्ताले नसम्झेला तर नेपाली गीतसङ्गीतको परम्परा र पृष्ठभूमिको निर्माणमा यी सिर्जनाहरू कोशेढुङ्गाका रूपमा उपस्थित छन् । नेपालीभाषी भारतीय क्षेत्रमा सांस्कृतिक भ्रमणका सिलसिलामा देहरादून पुग्दा लेखिएको र प्रस्तुत गरिएको “आइपुग्यौँ रेलैमा नौ बजे बेलैमा, देहरादूनैमा साथी देहरादूनैमा…..” बोलको गीतले त्यहाँका नेपालीहरूलाई जुरुक्कै उचालेको थियो । प्रकृतिप्रेम, जातीय उद्घोष र लोकसंस्कृतिको संवर्धनमा तिरी नसक्नुको गुन लगाउने थापाको जीवनको एउटा कालखण्डमा जनकवि गोकुल जोशी पनि जोडिएका थिए । राजनीतिको सङ्कीर्ण घेराले केही समयपछि उनीहरूका बीच दरार पैदा भयो जसले गर्दा पनि के कति धर्मराज र गोकुलका सिर्जनाहरू रहस्यको गर्भमा बिलाउन पुगे यसको खोजीको विषय भने छुट्टै रहनेछ । छिन्नलता पुरस्कार गुठी, हिट्स एफएम, कान्तिपुर एफएम, कलानिधि सङ्गीत महाविद्यालय, इमेज एफएम तथा साझा प्रकाशन आदिबाट सम्मानित र पुरस्कृत थापा वास्तवमा नै लोकजीवनका एउटा खुल्ला विश्वविद्यालय हुन् । महाकवि देवकोटाको कुञ्जिनी नामक अमर कृतिलाई नाट्य रूपान्तर गरी प्रस्तुत गरिएको नाटकमा गोरे राउतको भूमिकामा अभिनय समेत गरेको कुरा अहिले स्मरणीय छ । एउटा रमाइलो कुरा उनै महाकवि देवकोटाले “भरियाले बिसायो भारी भञ्ज्याङको पिपले…… “ भन्ने कविता सुनी त्यसबाट निकै प्रभावित भएर उनलाई बुलबुल शान नामक उपाधि दिएका थिए ।

नेपालका सबै जिल्ला र भारतका भाक्सु, हिमाञ्चल प्रदेश, कालिम्पोङ, मणिपुर, दहेरादुन, डिगबोई, डुवर्स तथा डिब्रुगढ आदिमा सांस्कृतिक यात्रा उनले गरेका थिए । यो यात्रामा मात्रा उनको झण्डै आधा दशक खर्च भएको थियो । उनका अनुसन्धानमूलक कृतिहरू जति निस्किए ती सबै स्थलगत अनुसन्धानमा आधारित रहेका छन् । यस अर्थमा पनि ती पूर्ण आधिकारिक रहेका छन् भन्न सकिन्छ । एउटै व्यक्तिचित्र लेखक, खोज अन्वेषक, गायक, सम्पादक तथा सङ्कलक व्यक्तित्व पाइनु चानचुने कुरा होइन जो थापामा हाबी छ । नेपाली मौलिकतापूर्ण र जागरणमूलक लोकगीतको उठान र प्रवद्र्धनमा आजीवन समर्पित थापा वास्तवमा एउटा विभूति नै हुन् । लोकसाहित्यलाई नेपालीपन, नेपालीमन, जनजीवनसित एकाकारिता र त्यसको वैज्ञानिक रेखाङ्कन गर्ने दम बोकेका धर्मराज थापा हरेक गीत र लोककवितालाई मुखाग्र सुनाउँथे । राजा महेन्द्रले उनलाई रेडियो नेपालको लोकगीत प्रवन्धक बनाएर प्रतिभाको सार्थक कदर पनि गरेका हुन् । हुन त यसअघि नै २०१५ सालको चुनावमा उनलाई निर्वाचन अफिसर बनाइएको थियो । यो अफिसरको भूमिका निभाउँदै देशदौडाहामा जाँदा पनि उनले आफ्ना लोकभाकाहरू जनतामा पस्किन चुकेनन् । अझ थप भाकाहरु  सङ्कलन गर्न पुगे ।

औषत नेपाली साहित्यकार र कलाकारहरूको भन्दा उनको आर्थिक जीवन सफल नै रह्यो । कवि कलाकारको अन्तर्य छाम्ने क्षमता रहेका राजा महेन्द्रको पनि उनीप्रति सकारात्मक दृष्टिकोण रहनु स्वभाविक नै थियो । उनै महेन्द्रको आग्रहमा लैनसिंह बाङ्देल, हरिभक्त कटुवाल, अम्बर गुरुङ तथा ध्रुवनाथ जोशीहरू नेपाल फर्किएका हुन् तर यसको परोक्ष योगदान आफूले प्रवासमा यायावर भइ गाएको “प्रवासी घामै लाग्यो घमाइलो लौ हेर नेपालमा…. “ जस्ता गीतको पनि योगदान रहेको आफ्नो जीवनकालमा उनले दिएको अन्तर्वार्तामा बताएका थिए । अझ उनका लागि सार्थक कुरा त आफ्नै जीवनकालमा उनका नामका धर्मराज साबित्री थापा गुठी स्थापना भयो जसका उनी संस्थापक र संरक्षक रहे । युगीन परिस्थिति, परिघटना र पर्यावरणलाई लोकभाकामा उन्न खप्पिस थापा वि.सं.२०७१ साल असौज २८ गते अनन्त यात्रामा प्रस्थान गरे जसबाट नेपाली जनसांस्कृतिक धरोहरको भौतिक रूपमा अन्त हुन पुगेको छ । मासिक ११ रुपियाँ तलब पाउने गरी मोहन शमशेरले गुठी बन्दोवस्त कालमोचनमा नौसिन्दाको जागिर खाएका थापाको यो साल अर्थात् वि.सं.२०८० साल जन्म शताब्दी वर्ष हुन पुगेको छ ।

०००

लेखक परिचयः नीलकमल कमल सुवेदीको साहित्यिक नाम हो । विसं २०४० तिर परिस्थिति मा बालकथा “चलाख श्याम” प्रकाशनसँगै साहित्य यात्रामा लागेका उनका सुर संगीतका साधक(विसं २०७९), पाँच रमाइला कथा( विसं २०८०) तथा संक्षिप्त नेपाली नाट्यकोष (विसं २०८०) प्रकाशित छन् । उनी कोटेश्वर काठमाडौंमा वसोवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *