गीत: यात्रा जिन्दगीको

छन्द कविता

ज्ञानेन्द्र गदाल, डेन्भर, कोलोराडो

साँझपख घाम डुव्यो, क्षितिजमा छेकिएर
र चन्द्रमा मुस्कुरायो, धरतिमा देखिएर।

लड्दै-उठ्दै हिंडेको छ, सधैं सबको जिन्दगानी
कैले अटल पहाड जस्तो, कैले कलकल बग्दो पानी
कैयौं कथा मेटिगए, बालुवामा लेखिएर
र चन्द्रमा मुस्कुरायो, धरतिमा देखिएर ।

दिनको प्रचण्ड गर्मीलाई, गोधुलीले शितल पार्छ
रातको असंख्य तारालाई, बिहानीले भुइमा झार्छ
रोकिएनन् पाइलाहरु, काँडामाथि टेकिएर
र चन्द्रमा मुस्कुरायो, धरतिमा देखिएर ।

 

गीतकार परिचय: ज्ञानेन्द्र गदाल कवि तथा गीतकार हुन् । गीतमा उनको लगाव बढी छ र २ गीत सङ्ग्रह “मलाई छुने मन (सन्२००३) तथा झरिपछिको आकाश (सन्२०१३) एवम् आधा दर्जन गीति एल्वम् समेत प्रकाशित छन् । उनले सन् २०१८ मा सम्पादन गरेको ” अमेरिकी आकाश: अमेरिकी मन” (अमेरिकाका नेपाली गीतकारका गीतहरुको सङ्कलन) एनआरएन एनसिसी अमेरिकाले प्रकाशित गरेको थियो । उनले विसं २०७४ मा गीति रचना तर्फको “छिन्लता गीत पुरस्कार” प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *