३ चैत २०८२, काठमाडौं
२०८२ सालको दण्डपाणि – नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति , परराष्ट्र, अन्तराष्ट्रिय मामलाविज्ञ तथा दीर्घ शिक्षासेवी विद्वान् प्रा. डा. जयराज आचार्यलाई अर्पण गरिने भएको छ। फागुन ३० गते बसेको दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र कार्यसमितिको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याय र कोष संस्थापक राजेन्द्रप्रसाद अर्याल रहेको प्रतिभा चयन उपसमितिको सिफारिसका आधारमा सो निर्णय गरिएको जनाइएको छ । वि.सं. २०६२ सालमा स्थापित दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले आफनो स्थापना कालदेखि बिभिन्न सामाजिक काम गर्नुका साथै राष्ट्रिय महत्त्वका विषयमा योगदान पुऱ्याउने इतिहासज्ञ ज्ञानमणि नेपाल , साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , ज्योतिषज्ञ तथा इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा .सुरेशराज शर्मा , राजनीतिक विश्लेषक प्रा डा. सुरेन्द्र केसी.लगायतका डेढ दर्जनभन्दा बढी विद्वत् प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ।
पुरस्कारको राशि रू ५०,०००/- (अक्षरेपी पचास हजार रुपिया)रहेको छ र साथमा अभिनन्दन पत्र प्रदान गरिनेछ । बिज्ञप्तिका अनुसार आगामी चैत्र १३ गते काठमाडौंमा उक्त पुरस्कार अर्पण गरिने छ।
यो पुरस्कार गोरखामा वि.सं १९६३ मा जन्मनुभएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ, इतिहास ,ज्योतिष शास्त्र र संस्कृतिका अध्येता तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल तथा उनकी धर्मपत्नी नन्दकुमारी का नाममा उहाँका सन्तानहरुले सो पुरस्कार स्थापना गरेका हुन् ।
०००
