१३ माघ २०८२, भैरहवा
नेपाली साहित्यका कवि रामचन्द्र भट्टराईको ८४ वर्षको उमेरमा हृदयाघातका कारण आफ्नै निवासमा मृत्यु भएको छ । कवि भट्टराईलाई घरमै बेहोश पाइएपछि अस्पत्याल पु-याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
विसं १९९८ साल असोज ५ गते भुवन पोखरी पाल्पामा जन्मिएका उनले वि.सं. २०१९ सालमा “भाँचिएको तामा” कविता प्रकाशनसँगै साहित्य यात्रा प्रारम्भ गरेका थिए ।
राजनीतिमा समेत सकृय भट्टराई साठीको दशकसम्म लेखनीमा बढी सकृय थिए ।
उनका बोई (२०३२-गीतिकाव्य), हलो (२०३७-कविता सङ्ग्रह), ह्रदयका फूलहरू (२०४६-कविता सङ्ग्रह), झिङ्गे माछो (२०४७-कविता सङ्ग्रह), सुखानीको रगत (२०४९-गीत सङ्ग्रह), ‘मृत्युञ्जय महाकाव्य’को संक्षिप्त अध्ययन( २०६०-शोधपत्र), आगोका फूलहरू (२०६१-कविता सङ्ग्रह), सेतो हात्ती (२०६३-कविता सङ्ग्रह), ज्वाला (२०६४) उपन्यास लगायतका कृतिहरू प्रकाशित छन् ।
उनले सुस्केरा द्वैमासिक र समालोचना दैनिक तथा दैनिक निर्णय अखवारहरू समेत सम्पादन गरेका थिए ।
उनी नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पूर्व अध्यक्ष समेत रहेका थिइ र राष्ट्रिय सभा सदस्य समेत भएका थिए ।
उनी ‘विशिष्ट छन्दसाधना पुरस्कार–२०७९’ बाट पुरस्कृत भएका थिए ।
साहित्य तथा महिला आन्दोलनमा सक्रिय उनकी पत्नी मैया भट्टराईको वर्ष निधन भएको थियो।
०००
