२९ असोज २०८२, काठमाडौं
हास्यव्यङ्ग्य शिखर पुरुष भैरव अर्यालका नाममा स्थापित भैरव पुरस्कार कृष्ण प्रधानलाई,भैरव वाङ्मय पुरस्कार हरिप्रसाद शर्मालाई तथा भैरव प्रतिभा पुरस्कार विवश पोखरेललाई भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरे,गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल तथा भैरव अर्यालका सुपुत्र दीपक अर्यालद्वारा सम्मानपत्र,नगद पुरस्कार तथा फूलमाला अर्पण गरियो ।
भैरव पुरस्कारको राशि नगद रू ११११११/-भैरव वाङ्मय पुरस्कारको राशि नगद रू १०११११/-तथा भैरव प्रतिभा पुरस्कारको राशि नगद रू ५११११/- रहेको छ।
पुरस्कृत व्यक्तित्व कृष्ण प्रधानका बारेमा नरनाथ लुइँटेलले प्रकाश पारेका थिए।नेपाली भूगोलबाट पहिलोपल्ट दार्जिलिङ सिलगुढीका कृष्ण प्रधानलाई भैरव पुरस्कार प्रदान गरिएको उल्लेख गर्दै लुइँटेलले कृष्ण प्रधान अध्यापन तथा पत्रकारितामा संलग्न रहेको बताए।प्रधानका हालसम्म ४२ थान कृतिहरू प्रकाशन भएकोमा प्रायःजसो हास्यव्यङ्ग्य क्षेत्रका रहेको बताए।फित्कौलीमा मात्र उनका दुई सयभन्दा बढी लेखहरू प्रकाशन भएका छन् जुन संग्रह का रूपमा आएको छैन।प्रधानलाई भैरव पुरस्कार प्रदान गरेर भारतमा रहेका नेपालीहरूको सम्मान गरिएको बताए।
अर्का पुरस्कृत व्यक्तित्व चित्र कलाकार हरिप्रसाद शर्माको संक्षिप्त परिचय दिंदै पूर्व कुलपति के.के.कर्माचार्यले शर्माको कृतिका बारेमा बोलेका थिए।चित्रकार शर्मा यथार्थवादी कलाकार भएको बताउँदै नेपाली संस्कृति तथा इतिहासका प्रशस्त चित्रहरू उनले सृजना गरेको बताए।पाश्चात्य शैलीका उनका चित्रहरू उत्कृष्ट रहेको बताए।
पुरस्कृत व्यक्तित्व विवश पोखरेलको संक्षिप्त परिचय सहित कृतित्वका बारेमा प्रकाश पार्दै समालोचक प्रमोद प्रधानले विवश पोखरेल विराटनगरमा बसेर नेपाली साहित्यको उन्ननयमा ठूलो योगदान पुर्याउने पात्र भएको उल्लेख गर्दै
विवश पोखरेल पूर्वाञ्चललाई राजधानी लगायत अन्य क्षेत्रसँग जोड्ने सेतु भएको बताए।
कार्यक्रममा नगरपालिका प्रमुख दीपककुमार रिसाल तथा खगेन्द्र संग्रौलाले हास्यव्यङ्ग्य शिखर पुरुष भैरव अर्यालको व्यक्तित्व,कृतित्व तथा गुठीका बारेमा मन्तव्य राखेका थिए भने पुरस्कृत व्यक्तित्वहरूबाट पनि आ-आफ्ना उदगार व्यक्त गरिएको थियो।
कार्यक्रममा कृष्ण प्रधानद्वारा लिखित हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह’पुरस्कार लुँड्याउनेहरू’कृतिको विमोचन पनि गरिएको थियो ।
गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न सो रोचक घिमिरेले भैरव पुरस्कारका बारेमा संक्षेपमा प्रकाश पारेका थिए। मन्तव्यका क्रममा उनले भैरव पुरस्कार हास्यव्यङ्ग्य क्षेत्रका लाई मात्र पुरस्कृत गर्दै आएकोमा यसवर्षदेखि साहित्यमा लामो समयदेखि साधना गर्नेहरूलाई पनि पुरस्कृत गर्न थालिएको र नेपाल बाहिर रहेका नेपालीलाई पनि पुरस्कृत गर्ने योजना बमोजिम कृष्ण प्रधान पुरस्कृत भएको बताए। उनले पुरस्कृत सबै व्यक्तित्वहरूलाई बधाई दिंदै कार्यक्रम सफल बनाउन उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा गुठी सदस्य गोविन्द घिमिरे वेदमणिले स्वागत मन्तव्य राखेका थिए।
भैरव पुरस्कार गुठीको ३७ औँ साधारण सभा समेत सम्पन्न भई साधारणसभाबाट रोचक घिमिरेकै अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको छ।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन गुठी सदस्य निर्मल अर्यालले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)
