कालीगण्डकीको सभ्यता लोकार्पित

समाचार

०४ असोज २०८२, काठमाडौं

 

निबन्धकार टीकाराम ढकालद्वारा लिखित’कालीगण्डकी सभ्यता’कृतिको एक कार्यक्रमका बीच मञ्चासिन व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भएको छ।
कृति पौराणिक तथा ऐतिहासिक पृष्ठभूमिका निबन्ध हरूको सङ्ग्रह हो।
इतिहासविद् प्राध्यापक दिनेशराज पन्तको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व निबन्धकार तथा समालोचक गोपी मैनाली रहेका थिए। अन्य आमन्त्रितहरूमा प्रा.डा.भागवत ढकाल,ठाकुर शर्मा भण्डारी,डा.दुविनन्दन ढकाल,प्रा.डा.श्रीधर गौतम,सूबसेन ओली तथा युवराज भुसाल लगायत रहेका थिए।
कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व समालोचक तथा निबन्धकार गोपी मैनालीले आख्यानीकरण गरिएका कृतिहरू धेरै छन् तर गण्डकी सभ्यताको शीर्षकमा लेखिएको यो पहिलो पुस्तक भएको बताए । पुस्तकका लेखक ढकाल भए पनि नेपत्थ्यका नायक ठाकुर शर्मा भण्डारी हुन् भन्दै मैनालीले ढकालले कालीगण्डकीको सभ्यतालाई अक्षरमा अभिलेखिकरण गरेर ठूलो काम गरेको बताए।
आफ्नो लेखकीय मन्तव्यमा निबन्धकार टीकाराम ढकालले अबोध यात्रीले शुरू गरेको यात्रा हो यो भन्दै आफू लेखक नभई संकलक मात्र भएको बताए।त्रिवेणीदेखि कोरालासम्म आफूले चार पटक पैदल यात्रा गरेको र यात्राको क्रममा देखे सुनेको,भोगेको अनुभव र अनुभूतिलाई प्रस्तुत गरेको बताए।
लोकार्पित पुस्तकमाथि समालोचकीय मन्तव्य राख्दै प्रा.डा.भागवत ढकालले धार्मिक,सांस्कृतिक तथा ऐतिहासिक कुराको खोजीलाई प्रस्तुत गरेर एक उत्कृष्ट कृति दिएको बताए।
पुस्तकका भूमिका लेखक समेत रहेका समालोचक ठाकुर शर्मा भण्डारीले लेखक ढकाललाई संस्मरण लेख्न आफूले बरोबर घच्घचाएकोमा कृति प्रकाशनमा आफूलाई नै अगाडि सारेको बताउँदै लेखक ढकालको यो पहिलो कृति भए पनि कृतिमा बहुल विषयवस्तु समेटिएको प्रष्ट्याए।
कार्यक्रममा समालोचक युवराज मैनाली,युवराज भुसाल, कृष्णचन्द्र शर्मा भण्डारी,प्रा.डा.श्रीधर गौतम,तिलकराम पौडेल तथा सूबसेन ओलीले शुभकामना मन्तव्य राखेका थिए।
सभापतिको आसनबाट बोल्दै इतिहासविद् प्राध्यापक दिनेश राज पन्तले पुस्तकबाट भन्दा पनि लेखकको वक्तव्यबाट आफू प्रभावित भएको बताए।पुस्तकमा सबै कुरा आएका छन् भन्दै सभापति पन्तले पक्षाघात भएर अस्वस्थ समयमा पनि यस्तो कृति आउनु सानो कुरा नभएको बताए।गौरव गाउनु र इतिहास लेख्नु फरक कुरा हो भन्ने उनको तर्क थियो।
सङ्गीता ढकालको आयोजना तथा नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमी,रूद्रेश्वर चोक,बुढानीलकण्ठको सह-आयोजनामा कार्यक्रम सञ्चालन भएको थियो।
डा.दुविनन्दन ढकालको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेशनल ब्लुमिङ्ग फ्लावर एकेडेमीकी प्रिन्सिपल शर्मिला कुँवरले धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रमको सहजीकरण तथा सञ्चालन कवि निर्मलरमण पराजुलीले गरेका थिए।

०००

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)