३ साउन २०८१,काठमाडौं
कवि उमेश अकिञ्चनको तेस्रो काव्यकृति ‘सायद किनाराहरू’ राजधानीमा आयोजित एक समारोहमा प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवा, समीक्षक राजकुमार बानियाँ, नायक जीवन लुईटेलल तथा कवि स्वयमले सामुहिक रुपमा विमोचन गरे ।
विमोचनपश्चात् प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले इतिहासका हरेक कालखण्डमा हुने विद्रोहमा कविहरूले कवितामार्फत शालीन विद्रोह गरी परिवर्तनलाई निष्कर्ष दिन अद्वितीय भूमिका खेलेको विचार राखेका छन् । उनले अकिञ्चन उपनाममा कविता लेख्ने नेपाल सरकारका उपसचिव खड्गराज राई कर्तव्यनिष्ठ कर्मचारी र कवि भएकाले सामाजिक रूपान्तरणमा उनको विशिष्ट योगदान रहेको सन्दर्भ उद्घाटन गरी कृतिको पूर्ण सफलताको कामना गरेका छन् ।
अकिञ्चनको कवितामाथि प्रकाश पार्दै विमला तुम्खेवाले समाज, प्रेम र मानवीय अस्तित्वलाई कविताले सम्बोधन गरेको बताइन् ।
कवि श्रवण मुकारुङले विशिष्ट लय र ध्वनि निर्माण गरी अकिञ्चनले समकालीन नेपाली कविताका फाँटमा हस्तक्षेपकारी उपस्थिति प्रस्तुत गरेबताए।
कवि अकिञ्चनले कविता लेखनमा आफूलाई आजको यात्रासम्म साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई सश्रद्धा स्मरण गर्दै कविता लेखनको इमानदार प्रयत्न निरन्तर अघि बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका सहजकर्ता डा. हेम भण्डारीले कविताजस्तै सफेद चरित्र बाँचेका अकिञ्चनले कवितामा सर्वकालिक मूल्य स्थापित गरेको बताए ।
‘सायद किनाहरू’मा ४१ कविता सङ्गृहीत छन् ।
०००
