भानु जयन्तीका अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता

मुख्य समाचार

२ साउन,२०८२‌

आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसर पारेर कुमारी आवासीय माध्यमिक विद्यालय र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा कुमारी आवासीय माध्यमिक विद्यालयमा नेपाली साहित्यको जगःआदिकवि भानुभक्त आचार्य विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सुसम्पन्न भयो।
कुमारी आवासीय माध्यमिक विद्यालयको छाता संस्था युरासिया एकेडेमीका अध्यक्ष पारसमणि पौड्यालको सभापतित्व र प्र .डा महादेव अवस्थीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथिका रूपमा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साल र भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छु रहेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नीलकण्ठ ढुङ्गानाले भानु प्रतिष्ठानसँग सहकार्य गरेर यस्तो किसिमको कार्यक्रम गर्न पाउनु अहोभाग्य भएको कुरा बताए । विद्यालयमा आएर यस किसिमको कार्यक्रम सौहार्दपूर्ण ढङ्गमा सम्पन्न गरिदिएकोमा भानु प्रतिष्ठानप्रति आभार प्रकट गरे । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भानु प्रतिष्ठानका महासचिव डा. रमेश शुभेच्छुले नयाँ पुस्तामा भानुभक्त र भानुभक्तको योगदानको अवगत गराउने उद्देश्यले यस्ता किसिमका कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले गत सार १९ गतेदेखि विभिन्न ठाउँमा कार्यक्रम गरी आज समापन गर्दैछौँ भन्दै कुमारी आवासीय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सृजनशीलताको प्रशंसा गरे । कार्यक्रममा बोल्दै विशेष अतिथि एवं भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्सालले नयाँ पुस्तालाई नेपालको प्राचीन साहित्य,कला र सङ्गीतबारे जानकारी दिनुपर्ने आवश्यकता रहेको बताए । साथै उनले भानुभक्तले नेपाली साहित्यमा पु-याएको योगदानबारे अग्रज पुस्ताले अनुज पुस्तालाई धेरै कुरा सिकाउन पर्ने कुरा व्यक्त गरे । उनले भाषा र व्याकरणका क्षेत्रमा अघिल्लो पुस्ताले त्रुटि गरेमा भावी पुस्ताले पनि त्यसैलाई अनुकरण गर्ने हुनाले त्यसतर्फ सतर्क रहनुपर्ने बताए । उनले वक्तृताका नियमहरु पनि बताएर विद्यार्थीलाई हौसला प्रदान गरे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा .डा महादेव अवस्थीले भानुभक्त आचार्यका बारेमा अझै धेरै अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले हालसम्म भानुभक्त आचार्यको बारेमा एकजना व्यक्तिले मात्र विद्यावारिधि अनुसन्धान गरेको सन्दर्भ उल्लेख गर्दै भानुभक्त आचार्यका बारेमा अनुसन्धान गर्न नयाँ पुस्ता आउनुपर्ने आवश्यकता औँल्याए । उनले रामायण अनुदित कृति नभई रामकथामा आधारित मौलिक कृति भएको बताए । कार्यक्रमका बारेमा बोल्दै युरासिया एकेडेमीका अध्यक्ष एवम् कार्यक्रमका सभापति पारसमणि पौड्यालले कार्यक्रमबाट भानुभक्त आचार्यका बारेमा आफूले थप ज्ञान प्राप्त गरेको उल्लेख गरे । साथै उनले भाषा साहित्यका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा विद्यालयमा यस किसिमको कार्यक्रम गर्न पाउँदा अपूर्व आनन्दको अनुभूति भएको कुरा व्यक्त गरे । कार्यक्रममा कविहरू त्रिलोचन आचार्य, नारायण नेपाल, खगेन्द्र दाहाल, योगेन्द्र पौडेललगायतले आफ्ना श्रुतिमधुर रचनाहरू सुनाएका थिए । साथै विद्यालयका विद्यार्थीहरूद्वारा नृत्य, गायन र कवितावाचन समेत गरिएको थियो।
१५ वटा विद्यालय सम्मिलित प्रतियोगितामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कार ,प्रमाणपत्र ,मेडल र आकर्षक पुरस्कारहरू प्रदान गरिएको थियो। सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र पाठ्यसामग्री प्रदान गरिएको थियो भने विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो। प्रतियोगितामा जीवनतारा एकेडेमीकी छात्रा सेरिना तामाङले प्रथमस्थान प्राप्त गर्न सफल भइन् भने रिभेरा इन्टरनेसनल एकेडेमीकी छात्रा अभिरा काफ्लेले द्वितीय स्थान प्राप्त गर्न सफल भइन्। त्यसैगरी तृतीय स्थानमा क्रमशः हिमशिला बोर्डिङ स्कुलकी प्रेन्सी सुवेदी र अल्पाइन एकेडेमी यशोदा घिमिरेले तृतीय स्थान प्राप्त गर्न सफल भएका थिए।
कार्यक्रममा भानु प्रतिष्ठानका सचिव साहित्यकार पुरु लम्साल र लेखक तथा अध्यापक सुष्मा देवकोटा निर्णायकका रूपमा रहेका थिए । कार्यक्रमको सञ्चालन शोभा अधिकारीले गरेकी थिइन् । भानु प्रतिष्ठानले यस कार्यक्रमसँगै भानु जयन्ती सप्ताहका सबै कार्यक्रम समापन भएको बताए ।