विश्ववल्लभ
(गीतकारको रूपमा सुविख्यात विश्वचल्लभको २३ असोज२०८१ का दिन निधन भयो । उनी गीतकार थिए र उम्दा गीतकार र सुविख्यात कवि ईश्वरवल्लभका सहोदर भाई थिए । उनले गद्य रचनामा खासै कलम चलाएको पाईंदैन । प्रस्तुत लेख उने आफ्ना सहोदर दाई ईश्वरवल्लभको बारेमा लेखेका हुन् । तथापि, यो लेखमा दाजुभाईको वालापनका सन्दर्भ छन्, पारिवारिक सन्दर्भहरू छन् । यो लेख ईश्वरवल्लभको विषयमा हुँदाहुँदै पनि विश्ववल्लभको बिषयको पनि हो । यसैले दिवङ्गत गीतकार विश्ववल्लभमा श्रध्दाञ्जलीस्वरुप यो लेख साभार गरिएको छ । यो लेख मधुपर्कमा प्रकाशित भएको थियो । -सम्पादक)
सम्झनामात्र बाँकी रहृयो
अरु केही छैन ।
मन्दिरै मन्दिरको यो सहरमा
ईश्वर कतै छैन ।
भनिन्छ- नेपाली भाषा, साहित्य, सङ्गीत, कला र संस्कृति हाम्रो अमूल्य धन हो तर यसका सर्जक सदा दीन हीन र तिरस्कृत किन ? सदा भोका, नाङ्गा र रोगी किन ? यसको उचित जवाफ हिजो पनि थिएन, आज पनि छैन, भोलि पनि नहुन सक्छ ।
यो सुन्दर देश सदा आपसी कलह, लोभलालच, सत्तामोह भुँवरीमा फसेकाले नेपाली वाङ्मयको विकास प्रवर्द्धन हुन नसकेको पक्का हो ।
साथै सदा सर्जकहरूले आर्थिक सङ्कट र अनेकौँ समस्यामा पिल्सिन पर्ने, उचित मूल्याङ्कन नहुनाले अमूल्य प्रतिभाहरू देशबाट पलायन हुनु वा देशमै अनेकौँ दुःख कष्ट सहेर बाच्न, रुन्चे हाँसो हाँस्न विवश छन् । त्यसै मध्येका एक थिए कवि, चिन्तक, गीतकार र मेरो दाइ ईश्वरवल्लभ पनि ।
ईश्वर दाइसँग बितेका समय, सुखद, दुःखद क्षणहरू साटासाट गर्न चाहन्छु र आफूलाई हलुको पार्न चाहन्छु ।
समय पनि कति छिटो छिटो बग्दो रहेछ पानी बगे जस्तो ।
घना जङ्गलमा डढेलो लागे जस्तो । कस्तो पट्यार लाग्दो एक्लोपन, शून्यपन ।
हिजो आज भन्दाभन्दै हामी छुट्टएिको दुई वर्ष लागिसकेछ । छोरा आनन्दले, मैले आर्यघाटको चितामा अग्निदाह गरेको, ईश्वरको अस्तुलाई आर्यघाटको फोहर पानीलाई पवित्र सम्झिएर बगाएको, उसको नासो उसैलाई जिम्मा लाएको चैत १० गते मध्याहृन । ऊ आगो थियो खरानी भो, खरानी पानी भो, बग्यो कता कता धेरै टाढा भो ।
उचित पालनपोषणको कमी, गाँस, बास, पढाइ लेखाइको अस्तव्यस्तता, स्वार्थी समाजमा बालक काल बितेको, खेल्ने रमाउने बेलामा जेठो भएको नाताले साना भाइको स्याहारसम्भार बोक्ने, ईश्वरवल्लभलाई समयले विद्रोही कवि बनाएको छ ।
त्यसैले रगतैरगतको कविता, त्यो पनि आमाको, ‘मेरी आमाले आत्महत्या गरेको देश’ यो उनको आक्रोश र विद्रोहको बिम्ब हो । हाम्रो बाल्यकाल यसरी नै बित्यो, सम्झँदा पनि कहालीलाग्दो, दिक्कलाग्दो ।
हाम्रा पिताजी- पं. मुरलीधर भट्टराई ख्यातिप्राप्त विद्वान् तथा प्रखर पुराणवाचक । उनको पुराणवाचन व्यङ्ग्य प्रहार नै राणाशासकको लागि विष भो । तिनैताक मुरली पण्डितलाई जन्मकैद र सर्वस्व सजाय तोक्नु मामुली नै थियो । भनिन्छ, बाहुन भएर मात्र बाँचेको रे नत्र प्राण सजाय पक्का । हामी राजद्रोही, कैदीका सन्तान, हामीले दुःख नपाए कसले पाउने ?
पिता मुरलीधर, आमा राममायाका तीन छोरामध्ये जेठो ईश्वरवल्लभ, माइलो स्वतन्त्रवल्लभ, कान्छो म विश्ववल्लभ । माइला दाइ स्वतन्त्रवल्लभको पिताजी जेलमा हुँदा अल्पायुमा नै, भोक रोगमा उचित स्याहारसुसार र औषधिउपचार नपाउँदै तीन वर्षको उमेरमा अकाल मृत्यु भयो ।
आँधीबेहरी सरह चारै तिरबाट आपत्, विपत्, सङ्कट सहने र आमा र बाह्र वर्षको दाइमात्र । म काखे बालक, हामी सबैको लालनपालन, आमाको रगत पसिनाबाट प्राप्त ज्याला, थोत्रा जडौरी कपडा, खानाबाट हुन्थ्यो रे । हामीलाई सहयोग गर्ने, माया गर्नेहरू पनि कठोर सजाय पाउने डरले खुलेर अगाडि आउन तर्सन्थे ।
येन केन हाम्रो बाल्य काल गुज्रँदै थियो, अपमान सहने, भोक खप्ने, नाङ्गै बस्ने सडक छाप भएर यताउता कालीमाटीमा भौँतारिने, कसैले दियो खाने, नपाए भोकै बस्ने बानी परिसकेको थियो । यसै समय बज्यैको मृत्यु हुन्छ । पिताजीलाई आमाको किरिया कर्म गर्न जेलबाट छोडिन्छ । मैले पहिलो पटक बाबु देखेको र पिताजी भनेर चिनाउने आफैँले बोकेर ढोगाउने ईश्वर दाइ नै हो ।
जन्मपछि मृत्यु, सुखपछि दुःख, हाँसोपछि आँसुले पछ्याई नै रह्यो । पिताजी छुट्नु सुख थियो भने कान्छी आमासँगको गृहकलह अकल्पनीय पीडा ।
पतिको अनुपस्थितिमा अनेकौँ दुःखकष्ट, पीडा, अपमान सहेर छोराहरू हुर्काएर बसेकी निरीह, असहाय नारीले कैयौँ वर्षदेखि प्रतीक्षित प्यारो पतिबाट सौता उपहार पाएको क्षण कति दुःखद होला ? यही दुःख कष्ट सहन, खप्न नसकेर कालीमाटीको घरको अँध्यारो कोठामा, आफैँले खुकुरीले रेटेर आत्महत्या गर्नुहुन्छ । यो दुःखद घटना म बालकलाई साधारण थियो भने यो चोट १३-१४ वर्षे ईश्वरवल्लभलाई असाधारण र अकल्पनीय । आमाको रगतले लतपत भएको खुकुरी पखाल्नु, भुइँ पुछ्नु आदि घटनाले ईश्वरवल्लभलाई विद्रोहको बाटोतिर नयाँ जीवन, नयाँ परिवेश र गन्तव्यमा पुर्याउँछ ।
यी हुन्, हाम्रा तीता अतीतका अविस्मरणीय सम्झना । ममतामयी आमाको माया र छाया स्नेह पनि नपाउने भएपछि चारैतिर अँध्यारो नै अँध्यारो देख्नु, छट्पटिनु स्वाभाविकै हो ।
पुनः हाम्रा दुःखका दिनहरू आरम्भ भए । जसको वर्तमान सुन्दर हुँदैन उसको भविष्य पनि अँध्यारो, उबडखाबड सङ्घर्षमय नै हुन्छ । यिनै घटनाबाट छियाछिया भएर ईश्वर दाइको विद्रोह बाबु, सौतेनी आमा, घरपरिवार समाजबाट सुरु हुन्छ, भौँतारिने क्रम । कहिले गोरखपुर, इलाहाबाद, बनारस, पटना पुग्नु र उतैबाट म्याट्रिक पास गर्नु, यही क्रममा रामहरि जोशी दाइको अनुरोधमा मलङ्गवा हाइस्कुलमा करिब दुई वर्ष पढाएर त्यहीँ पनि छोड्नु ईश्वरको नियति थियो ।
गाँस, बास, आफन्त र शान्तिका लागि पहाडकी रानी प्राकृतिक सौन्दर्यकी खानी दार्जिलिङ पुग्छन् । मान्नैपर्छ, यहीँबाट ईश्वरवल्ल्भ कवि बन्छन्, पूर्ण बन्छन् । अनि हुन्छन् कवि वल्लभ । गाँसबासको व्यवस्थाका लागि दार्जिलिङको टर्नबुलमा संस्कृत पढाउन थाल्छन्, गुणी शुभचिन्तक शरण प्रधान, रनजित जगमेर र पिटर कार्थकजस्ता विद्यार्थी भेट्छन् । त्यही स्कुलमा अम्बर गुरुङ, इन्द्रबहादुर राई पनि सहयात्री शिक्षक । यहीँबाट मेलमिलाप, मित्रताको शुभारम्भ भो । भनिन्छ, अझै पनि तीन अङ्कलाई अशुभ नम्बर भन्छन्, तीन टिकट महाविकट भनिन्छ । तर, नेपाली साहित्यको आकाशमा स्वदेश होस् या प्रवासमा तीन स्रष्टाको सङ्गतले नेपाली साहित्यमा ठूलो उथलपुथल ल्याएका छन् । प्रशस्त योगदान पुर्याएका छन् । नेपालमा लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा -त्रिमूर्ति), दार्जिलिङ प्रवासमा पारसमणि प्रधान, सूर्यविक्रम ज्ञवाली र धरणीधर कोइराला -सुधपा) यसलाई संयोग नै मान्नुपर्छ । पछि आएर पुनः इन्द्रबहादुर राई, तिलविक्रम नेम्वाङ र ईश्वरवल्लभ मिलेर -तेस्रो आयाम) । यी सबै तीन समूहले नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको विश्वभरि विकास, विस्तार गरी मौलिक पहिचानलाई जीवन्त राख्न उल्लेखनीय योगदान पुर्याएका छन् ।
सर्वप्रथम भूविक्रम नेम्वाङ -तिलविक्रम नेम्वाङका दाइको अनुरोधमा ईश्वर दाइले सौगात पत्रिकाका लागि ‘वनफूल’ कथा लेख्नुभो भने दार्जिलिङबाट प्रकाशित चर्चित पत्रिकाका लागि अनेकौँ कविता लेख्नुभो । भूविक्रमको माध्यमबाटै तिलविक्रम नेम्वाङसित परिचय हुन्छ, यो परिचय नै पछि गएर वल्लभ र काइँलाको मित्रता घनिष्ठतामा बदलियो, तेस्रो आयामका दुई बलियो खम्बाका रूपमा ।
सन् १९६१ को सुरुआतमा ईश्वरवल्लभको सम्पादनमा ‘फूलपात पतकर’ र तेस्रो आयाम पत्रिका पनि निस्कियो । यी दुवै पत्रिकाको प्रकाशक काइँला दाइ नै थिए । यसै सिलसिलामा नयाँ रूप, नयाँ मोड दिने कार्यमा विद्वान्, चिन्तक इन्द्रबहादुर राईको साथ र सहयोगले तेस्रो आयामलाई लोकप्रिय बनाउन प्रशस्त मलजल पुर्यायो । तिनैको अथक् प्रयासको फलस्वरूप तेस्रो आयाम पृथक् स्वाद र स्वरूपमा स्थापित भएको छ । म पनि समय समयमा दाज्यू सम्झेर दार्जिलिङ पुग्थेँ, रमाउँथेँ । दार्जिलिङको सौन्दर्यमा यदि निष्पक्ष मूल्याङ्कन गर्ने हो भने दार्जिलिङ त्यहाँका साहित्यप्रेमी नेपालीले धेरै माया स्नेह, नाम, गाँस, बासमात्र होइन जीवनसाथी श्रीमती कमला भट्टराई, तीन छोरी रेखा, इशु, रचना र छोरा आनन्दवल्लभ पनि मायाको स्वरूप कोसेली ईश्वरवल्लभलाई सुम्पेका छन् ।
नारायणगोपाल दार्जिलिङ पुग्नु, त्यहीँ प्रेमविवाह हुनु, गोपाल योञ्जनलाई, नारायणगोपालसँग मीत लगाइदिनुमा ईश्वर दाइको योगदान र सहयोग आज पनि चर्चाको विषय बन्ने गरेको छ । आयामिक आन्दोलनले नेपाली साहित्यमा मात्र होइन नेपाली गीति क्षेत्रमा पनि नयाँ मोड र ठूलो चहलपहल नै ल्यायो । १५-१६ सालतिर नेपाली गीतलाई त स्वर्ण युग नै मानिन्छ । नयाँनयाँ कर्णप्रय गीतहरू, नयाँ कलाकार, गीतकार, सङ्गीतकारको जगजगी । प्रवासमा अम्बर गुरुङको स्वर र सङ्गीतमा अगमसिंहको शब्दमा ‘नौलाखे तारा उदायो’ र ‘ए कान्छा मलाई सुनको तारा झारिदेऊ न’, अरुण लामा, शान्ति ठटाल, दिलमाया खाती, कुमार सुब्बा, कर्म योञ्जनका गीत, हीरादेवी वाइबाका लोकगीतको जमाना । नेपालमा नारायणगोपाल, माणिकरत्न, पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी, मीरा राणाका अजर-अमर गीतको रामराज्य नै थियो । यो समयलाई नेपाली गीतको स्वर्णयुग नै मानिन्छ । ईश्वरवल्लभ कुशल नवविचारक कविमात्र थिएनन्, अब्बल दर्जाका गीतकार पनि थिए । उनका सबै गीत प्रिय छन् । अचानक ईश्वरवल्लभ, मनमा अनेकौँ कुण्ठा र शरीरभरि रोग बोकेर काठमाडौँ र्फकन्छन्, किन फर्किए कसैलाई थाहा छैन । बाचुन्जेल दार्जिलिङ फर्केनन् ।
कस्तो मिल्दो यथार्थ, दुवै कवि, लोकप्रिय गीतकार, अजर-अमर साहित्यकार हरिभक्त कटुवाल र ईश्वरवल्लभले अन्तिम समयमा कर्मभूमि छोडेर अन्तिम विश्रामका लागि मातृभूमि रोजे । आफ्नो आमा, आफ्नो माटो, आफ्नै हो । कोही आसाम र्फकन्छन् त अर्को काठमाडौँ ।
‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु बिथोल्न नआऊ ।’ दुवैको एउटै कथा, एउटै व्यथा । कथा अचम्म । कस्तो मिलेको । सन् १९७१ तिर फर्केका वल्लभको काठमाडौँ बसाइ पनि कहाँ सुखद थियो र ? एउटा सानो पुरानो थोत्रो घर र एउटा एक्लो भाइ । सङ्घर्षको सिलसिलामा परिवार नियोजन सङ्घ, चलचित्र संस्थान, योजना आयोगमा काम गर्दै छोड्दै पनि गरेकै हो । साथीभाइ, शुभचिन्तकले सक्दो सहयोग पनि गरेकै हो । कवि, कलाकार कतै बाँधिन चाहँदैन, उन्मुक्त हुन चाहन्छन् र सिर्जना गर्न भने भोकै परे पनि छोड्दैनन्, ईश्वर दाइको पनि यो बानी थियो ।
सन् १९७३ मा ईश्वरवल्लभको अमर कृति ‘आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्’ कवितासङ्ग्रह प्रकाशित हुन्छ । यसै कवितासङ्ग्रहका लागि नेपालको नोबेल पुरस्कार मानिने मदन पुरस्कारबाट सम्मानित गरिन्छ । ‘समानान्तर’ को लागि साझा पुरस्कारबाट पुरस्कृत गरिन्छ । सन् १९७१ मा प्रज्ञाप्रतिष्ठानमा केही वर्ष सदस्य वल्लभ दाइ सदस्यहुन्छन् । राष्ट्रिय दैनिक कान्तिपुरमा विभिन्न विषयमा कैयौँ वर्ष अटुट रूपमा स्तम्भ लेख्नु वल्लभको अर्को साहित्यिक विशेषता हो ।
ईश्वर दाइलाई जति सम्झे पनि कमै हुन्छ, लेख्न अझै धेरै पक्ष बाँकी छन् । ईश्वर दाइका धेरै मित्र भएर पनि घनिष्ठ र प्यारो मित्र धेरै कम छन् । तर पछि आएर वसन्त चौधरी, नरेन्द्रराज प्रसाईसँगको सम्बन्ध मित्रमात्र होइन दाजुभाइको जस्तो थियो । सायद त्यसैले पनि होला, नरेन्द्र र इन्दिरा प्रसाईको अथक् प्रयास र मेहनतको फलस्वरूप श्रीमती उषा शेरचन र डा. रामप्रसादको सहयोग लिएर ‘नइ ईश्वरवल्लभ’ पुरस्कार स्थापना भएको छ । दस हजार राशिको यो पुरस्कार पच्चीसदेखि पचास वर्षसम्मका स्रष्टालाई प्रदान गरिन्छ । यो पवित्र प्रयास, ईश्वरवल्लभलाई सम्झाइराख्ने प्रशंसनीय कार्य हो ।
वि.सं. १९९४ साल असार २९ गते काठमाडौँको जैसीदेवलमा जन्मेका ईश्वरवल्लभको २०६४ चैत १० गते आइतबार मृत्यु हुन्छ । एक कवि, गीतकार, अभिभावक, मित्र दाज्यूको अन्त्य हुन्छ ।
(साभारः मधुपर्क)