अनेसास दिवसमा स्रष्टा सम्मान र कृति लोकार्पण

समाचार

११ जनवरी २०२५, भर्जिनिया

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई अभिनन्दन तथा तीन कृतिहरूको लोकार्पण गरिएको थियो ।

कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र वरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास लोकार्पण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै दाहालले मुलुकबाहिर बस्ने नेपाली नेपालको गहना नभएर धुकधुकी भएको भनाइ राखे ।

सम्मानित साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसास नेपाली भाषा, साहित्य, कला, सँस्कृति, सभ्यता र शिक्षालाई विश्वभर फैलाउने विशाल संस्था बनेको भन्दै यसलाई अनेसासमा लागिरहेका व्यक्तिहरूको जिम्मेवारी हुने भनाइ राखे ।

अनेसास केन्द्रका उपाध्यक्ष सुदीपभद्र खनालले हाम्रा सन्ततिहरूलाई नेपाल र नेपाली भाषाबारे जानकारी गराउनु हाम्रो कर्तव्य हुने बताए ।

सपना र छायाहरू कवितासङ्ग्रहको समीक्षा अनेसास पुरस्कारसमिति संयोजक तथा बीओटी उपसभापति तीर्थ पाण्डे गरेका थिए । कृतिले आञ्चलिकता प्रस्तुत गर्न खोजेको र कृतिमा केही सीमाहरू रहे पनि अधिकांश सबल कविताहरू समावेश रहेको धारणा राखे ।

बीओटी सचिव तथा समीक्षक नारायण अधिकारीले उक्त कृतिको समीक्षा गर्दै सङ्ग्रहमा छोटा र लामा दुवै आकारका शक्तिशाली कविताहरू रहेको, कविले स्वदेश र विदेशका अवस्थालाई काम गरेको तर भाषिक रूपमा केही त्रुटिहरू देखिएको बताए ।

विमोचित कृतिका कवि राम अधिकारीले आयोजक संस्था डीसी च्याप्टरलाई धन्यवाद ज्ञापन गरे ।

अनेसास बीओटी महासचिव प्रकाश नेपालले कवि अधिकारीलाई शुभकामना दिँदै लोकार्पित कृतिबाट कविता वाचन गरेका थिए ।

अनेसास केन्द्रका पूर्व अध्यक्ष भीम रेग्मीले सन १९९१ मा स्थापना गरिएको अनेसास आज विश्वका अनेक मुलुकहरूमा पुगिसकेको बताए ।

अनेसासका पूर्व अध्यक्ष तथा बीओटी सल्लाहकार पुरु सुवेदीले ‘नन्दा’ काव्य नेपाली काव्य जगतमा नयाँ पन लिएर देखा परेको बतीए ।

अनेसास डीसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदीको अध्यक्षता र महासचिव जगन्नाथ पौडेलको सञ्चालन रहेको कार्यक्रमको सुरुमा अनेसास डीसी च्याप्टरका वरिष्ठ उपाध्यक्ष कवीन्द्र सिटौलाले स्वागत मन्तव्य प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *