१५ जनवरी २०२४, न्यूयोर्क
न्यूयोर्क निवासी राम खत्री र गीता खत्रीले आफ्नो नाममा स्थापना गरेको रामगीता वाङ्मय मन्दिरले प्रत्येक २ वर्षमा प्रदान गरिने “प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार” का लागि आव्हान गरिए अनुसार प्राप्त कृतिहरुमध्येबाट पुरस्कार हेतु ९ कृतिको सूचि सार्वजनिक गरिएको छ ।
शुरुमा १० कृतिको नाम सार्वजनिक गरिएकोमा एक पुस्तकको नाम गलत भएपछि दोश्रो विज्ञप्ति नाम सच्चिएर प्रकाशित भएको थियो ।
तर सूचिमा प्रकाशित एक पुस्तकका लेखकको नाम सूचिबाट हटाउन लेखकले अनुरोध गरेको भन्दै त्यस कृतिको नाम केरेर तेश्रो विज्ञप्ति प्रकाशित भयो ।
अहिले बिभिन्न पुस्तकको नाम गलत भएको, पुस्तकको नाम सच्चिएको तथा फरक फरक ब्यक्तिले रातो, नीलो र पहेंलो रङको मसीले एक पुस्तक र लेखकको नाम केरेको गरी ५ प्रकारका प्रेस बिज्ञप्ति समाचार माध्यमहरु र सामाजिक सञ्जालमा देखिएका छन् ।
तेश्रो बिज्ञप्ति अनुसार पुरस्कारका लागि छनौट भएका ९ कृतिहरुमा विक्रम भक्त जोशीको “चोभार ब्लुज”, चन्द्र गुरुङको “जब एउटा मान्छे हराउँछ”,मनोज थारुको “टुवरा”, इल्या भट्टराईको “मिसर”,हरिबोल काफ्लेको “यशोधरा”,युवराज नयाँघरेको “याकजी”,राजेन्द्र तारकिणीको “बिगन रामको मादल”,अशोक थापाको “सन्तापको धून” तथा राजेन्द्र विमलको सरवरिया टोल” रहेका छन् ।
यी ९ लेखकमध्ये युवराज नयाँघरे मदन पुरस्कार प्राप्त लेखक हुन् ।
प्रेस बिज्ञप्ति अनुसार यी ९ मध्ये १ कृतिको छनौट गरी पुरस्कार प्रदान गरिनेछ र पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।
०००
धन्न, यो कोणबाट समाचार बनाएर संस्थापकलाई निरन्तर प्रोत्साहित गरिरहने एकजना साहित्यकार साथी पनि हुनुहुन्छ र रामगीताको सुकर्मले पनि निरन्तरता पाएको छ ।