ॐ… सुपरम्यान (कविता)

कविता

जगन्नाथ पौडेल

 

खण्ड: क

 

हिंडिरहेछु

एक डल्लो टाउको अड्याएर

केही थान करङको थाँक्रोमा

दौडिरहेछु

लिलिपुटे पाइतालाहरूमा

आफ्नै अनन्त ब्रह्माण्ड

 

र बुझिरहेछु

संसार मुठीमा छ मेरो

मैले मुठी फुकाए

ध्वस्तै हुन्छ सृष्टि

मैले पाइला नचाले

ठप्पै रोकिन्छ धर्ती

जूनतारा मेरा खेलौना हुन्

 

सग्लो मान्छे ममात्र छु सृष्टिमा

रूप मसँगमात्र छ धर्तीमा

किनकि

मेरो टाउकोमा कालो चस्मा छ

चस्मा लगाएको फोटो छ

मुठीमा छन् अपूरा मान्छे

बैंकबाकसमा छ पुरा पैसा

 

मान्छे हुन् भने

मेरो रगत जोडिएका मात्र हुन्

सम्बन्ध हो भने

कालो चस्मा लगाएका मात्र हुन्

ती हुन् महाज्ञानी

जो झिकेर निधारको आँखा

खन्याइरहन्छन्

हातमाथि सिसाको आँखामा

र देखिरहन्छन् दुनियाको भ्रभभव्यता

 

चन्द्रयान के हो र

जाबो टिनको डब्बा

बरू मैले लगाएको

चस्माले पो देखाउँछ रङ्गिन अन्तरिक्ष

मेम्फिसमा मलाई सकुन मिल्छ

एटलान्टिक मलाई साँगुरो लाग्छ

 

घडीको समयले मलाई छुँदैन

तिम्रो आँसुले मलाई गाल्दैन

माटोको अन्नले मलाई पाल्दैन

घरको भित्ताले छेक्दैन

म उड्नसक्छु आफै

म भिड्नसक्छु जोसँगै

 

 

 

‘शिरीषको फूल’कागजमात्र हो

‘ह्यारी पोटर’ बोक्रो

गायत्री जोकरको न हो

पढेर के हुन्छ

लेखेर को ठुलो हुन्छ

ध्यानले के नापिन्छ

त्यसैले

तिमी दियो बालमात्र

म पानी हालिदिन्छु…!!!

 

‘गीता’ बोक्रो हो

‘च्याटजीपीटी’ थोत्रो हो

घामले बगाएको ॐगङ्गा ढर्रा हो

अन्तरिक्ष छिचोल्ने यानचङ्गा मट्याङ्ग्रे छर्रा हो

 

पोर्ट्रेट पिकासो भुसुनो हो

बुद्धज्ञान

मात्र बखान

वारेन मेरो दरबान

टेरेसा मेरो परिचारिका

एन्जेला मार्केल रखवाला

उर्सुला शक्तिहीन

 

कसैले मलाई हल्लाउनु हुँदैन

हावा मलाई सोधेर बहनुपर्छ

घाम मलाई सोधेर डुब्नुपर्छ

रूखहरू सोधेरै फर्फराउनु पर्छ

सबै डराउनुपर्छ मसँग

सबैले भज्नुपर्छ मेरो नाम

मलाई आफ्नै मुठी काफी छ

मेरो आफ्नै खुबी माथि छ

 

होइन भने

रोकिदिन्छु म हावा

बन्द गरिदिन्छु म वृष्टि

सुक्का पारिदिन्छु माटोको सृष्टि

…………

म सुपरम्यान………

…………………..

…………

 

खण्ड: ख

आखिर

करङको थाँक्रोले अड्याएको

‘म’ म रहेनछ

ॐ… नबुझेको

अज्ञानको अवतार रहेछ

सु-प-र अर्थात्

ज्ञानभन्न्दा

सु- सुदूर

प- पर

र- रहेछ

म्यान- मान्छे

त्यसैले

मलाई

माफ गर बुध्दमान्छे !

 

०००

 

कवि परिचयः जगन्नाथ पौडेल कुश्मा, पर्वतमा जन्मेका हुन् र हाल अमेरिकाको भर्जिनियामा बस्छन् । उनको पहिलो रचना कविता “आमाको सम्झना” विसं २०५८ सालमा मोदीकाली साप्ताहिकमा प्रकाशित भएको थियो । उनको “सीमान्त अक्षरहरू” कवितासंग्रह’ (२०६७) प्रकाशित छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *