-विश्वराज अधिकारी, अमेरिका
सन् २०१७ को कुरा हो, महिना भने याद भएन । म लस एन्जलस जान इस्तानबुल एयरपोर्टमा कुर्दै थिएँ। समय दिउँसोको थियो । लस एन्जलसतर्फ प्लेन उड्न पाँच घण्टा जति बाँकी थियो। मसँगै नेपालबाट आएका साथीहरू एयपोर्टमा यताउता घुम्दै थिए । म चेकईन काउन्टरमा बसेर आफ्नो सेल फोनमा नेपाल सम्बन्धी समचार हेर्दै थिए।
साठ्ठी पैंसठ्ठी वर्षको उमेर देखिने एक पुरुष मेरो नजिक आए । मलाई भने, “तपाइँ पनि लस एन्जल जादैँ हुनु हुन्छ, होइन? हामी एउटै फ्लाइटमा थियौं, नेपालबाट आउँदा । मैले देखेको थिएँ, तपाइँलाई। म पनि लस एन्जलस जाने हो। त्यसपछि म ओक्लहोमा जान्छु।”
मैले, ‘हो’ भनेँ । साथै आँखाले इशारा गर्दै मेरो छेउको मेचमा बस्न आग्रह पनि गरेँ।
“मेरो नाम किरण रचना हो। नेपालमा घर काठमाडौँ, कोटेश्वरमा हो। अमेरिकाको ओक्लहोमा स्टेटमा बस्छु । एउटा युनिर्सिटीमा प्राध्यापन गर्छु, विषय भने अर्थशास्त्र हो”, मेचमा बसेपछि उनले भने ।
“म डालस, टेक्सासमा बस्छु । पिएचडी गर्देछु । सन् २०१८ मा पिएचडी सकिन्छ । त्यसपछि मैले काम खोज्नु पर्छ । म पनि प्राध्यापन पेशामा नै जान्छु होला । अँ मेरो नाम आयाम गुरुङ्ग हो। नेपालमा घर भने पोखरा ।” मैले पनि आफ्नो छोटो परिचय दिएँ ।
मलाई किरण रचना अलि सामान्य नाम जस्तो लागेन । तर पनि मैले यो तपाइँको बास्तबिक नाम यही हो भनेर सोधिँन। अमेरिकामा नेपालीहरुमा एउटा भनाइ निकै प्रचलित छ। हामी ‘नोजी’ हुन्छौँ। अरुको बारेमा छोटो भेटमा नै धेरै प्रश्नहरू गरेर सक्दो धेरै कुरा थाहा पाउने प्रयास गर्छौँ । हुन पनि हामी पश्चिमी समाजको तुलनामा धेरै सोधखोज गर्छौँ। अर्कोतिर भने अमेरिकामा बस्ने कतिपय नेपालीहरू अनेक किसिमले अमेरिका प्रवेश गरेर ‘इल्लिगल’ बस्ने हुनाले आफ्नो बारेमा कसैले धेरै सोध खोज गरेको मन पराउँदैनन् पनि ।
किरण रचना उनको साहित्यिक नाम होला भन्ने मैलै अनुमान गरेँ।
तीन घण्टा जति लगातार कुरा गरेपछि हामी बिच एक किसिमको खुलापन आइसकेको थियो । संकोच र शङ्काका सीमाहरू पनि धेरै भत्किसकेका थिए। औपचारिकताको अवशेष थोरै मात्र बाँकी थियो ।
चिया खाँदै गर्दा मैले प्रश्न गरेँ, “प्रत्येक वर्ष काठमाडौ जानु हुन्छ, किरण सर?”
“परिस्थिति अनुकूल भए त प्रत्येक वर्ष जाने थिएँ । तर हरेक दुई वर्षमा भने जाने गरेको छु । र म यसरी घरिघरि यत्रो पैसा खर्च गरेर नेपाल जानुको एउटा रोचक तथ्य पनि छ”, यति भनेर उनी केही बेर हाँसे।
मैले तत्काल प्रश्न गरेँ, “त्यो रोचक तथ्य के होला, सर?”
उनले भने, “म आफ्नी प्रेमिकालाई भेट्न जान्छु।”
मैले उनको मुहारमा आश्चर्य भावले हेरेँ। मेरो त्यस्तो हेराइको अर्थ उनले बुझेर प्रष्ट पारे, “आज भन्दा करिब ४० बर्ष पहिले हामी सँगै वीरगञ्जको एक कलेजमा आइ ए र आइ एस्सी पढथ्यौँ । मैले रचनालाई अति मन पराएको थिएँ। तर आफूले उनीलाई मन पराएको भन्न भने कहिले आँट गर्न सकिनँ । मैले केवल एकहोरो प्रेम गरेँ । एकोहोरो प्रेम गरी रहेँ। मैले रचनालाई एकहरो प्रेम गरेको उनीलाई एक रत्ति पनि थाहा भएन । पछि रचनाको बिहे भयो । मेरो पनि बिहे भयो। हामी दुबैका सन्तानका पनि सन्तानहरू छन् ।”
शायद मेरो मुहारमा कौतुहलताको भाव पनि झल्कियो होला जसलाई मेरो समाप्त पार्न खोजेझैँ गरेर उनले भने, ”सन् २०१० तिरको कुरा हो म काठमाडौँ गएको बेला रचनासँग एउटा पार्टीमा भेट भयो। त्यही पार्टीमा हाम्रो परिचय भयो। तर परिचय हुँदा हामी सँगैसँगै पढेको र मैले उनीलाई त्यससमय देखि नै अति प्रेम गरेको भनिनँ। हामी सँगै पढेको सम्म पनि रचनालाई थाहा थिएन । हामी पढ्दा बखतको समय, घटना, व्यक्तिहरूको नाम लिंदा मात्र उनीलाई हामी सँगै पढेको भन्ने ज्ञात भयो।”
“त्यो पार्टीपछि भने मेरो र रचना बिचको सामान्य परिचय एक असल मित्रतामा परिणत भयो । त्यो पार्टी सकिएको दिन देखि करिब एक महिना म काठमाडौमा बसेँ । मेरो काठमाडौँको बसाइभरि दुई चार दिन बिराएर अनेक किसिमका औसर पारेर हामी बिच भेटघाट भइ रह्यो । भेटघाट कहिले उनकै निवासमा भयो भने कहिले रेष्टुरेन्टमा।”
“त्यसपछि प्रत्येक दुई वर्षमा काठमाडौँ जाने नियमित जस्तो भयो।”
“अहिले सन् २०१७ चल्दै छ। यो भन्दा पहिले म जति पटक काठमाडौ गएँ केवल रचनालाई भेट्ने उद्श्यका साथ गएँ ।”
जति पटक गएँ, रचनासँग बाक्लो भेटघाट गरेँ । प्रत्येक प्रटक निरन्तर रुपमा रचनाको सम्पर्कमा रहें । उनलाई भेट्न म स्वयंले नै अनेक बहाना बनाउने गर्थेँ।”
यो पछिल्लो पटक काठमाडौ गएको बेलामा पनि रचनालाई धेरै पटक भेंटे । यो पटक उनलाई भेट्न निकै सजिलो भयो। उनको छोराको छोराको पास्नी थियो। त्यो पास्नीको बहाना पारेर पास्नी अघि र पास्नीपछि पनि धित मर्ने गरी रचनालाई भेटेँ । उनलाई नजिकबाट नियालेर हेरेँ । जवानीमा हुँदाको रचनाको मुहार र प्रौढ भएकी रचनाको मुहार बिच मैले कुनै अन्तर देखिनँ।”
अब सन् २०१९ मा आउँदा भने काठमाडौमा लामो समय बस्ने बिचार छ । कलेजमा लामो छुट्टी परेको बेला पार्छु । अनि रचनालाई पटक पटक काठमाडौमा भेट्छु।”
किरण सरका कुराहरू मलाई अति रोचक लागिरहेका थिए। साथै उनलाई सोध्नु पर्ने अनेक प्रश्नहरू पनि मेरो मनमा साथसाथै जन्मिरहेका थिए।
तर मैले प्रश्न गर्नु भन्दा किरण सरका कुराहरू सुन्न प्राथमिकता दिएँ।
उनले भने, “जबजब रचनालाई भेट्छु, मलाई वीरगञ्जको ती कलेजका दिनहरू याद आउन थाल्छन् । मैले उनलाई अति नै मन पराएको त्यो स्थिति याद आउँछ । कलेजबाट पछिपछि हुँदै उनको घरसम्म उनलाई अत्तोपत्तो हुने नगरी पुगेको याद आउँछ। आफ्नो घरबाट उनको घर हरेक दिन साँझ केवल उनलाई हेर्न मात्र एक वर्षसम्म गएको त्यो समय आद आउँछ।”
“काठमाडौमा हुँदा रचना र म बिच निकै कुराकानी हुन्छ । प्राय: हामी सँगै कलेज पढ्दाका घटना, स्थिति, परिवेसबारे कुरा हुन्छ । उनीसँग भएका कुराकानी म अमेरिका फर्केपछि मेरो लागि त्यो सम्पत्ति बन्न पुग्छ। अनि जसरी व्यक्तिहरू आफूसँग भएको सम्पत्ति देखेर मख्ख पर्छन, गर्व गर्छन म पनि त्यसैगरी रचनासँग गरेका कुराकानीहरूलाई स्मरण गरेर मख्ख पर्छु, गर्व गर्छु ।”
अब भने मैलै आफ्नो धैर्यको बाढीलाई थुन्न सकिनँ । चुपचाप स्थितिलाई तोडें ।
मैले सोधेँ, “किरण सर, अहिलेसम्म पनि तपाइँले मन पराएको व्यक्ति, रचनालाई, तपाइँ कुनै बेला अति प्रेम गर्नु हुन्थ्यो, एकोहोरो प्रेममा हुनु हुन्थ्यो भन्ने रहस्य बताउनु भएको छ कि छैन?”
उनले भने, “छैन।”
मैलै प्रश्न गरें, “किन नभन्नु भएको?”
उनले भने, “भन्नु आवश्यक नै छैन।”
मैले पुन; प्रश्न गरेँ, “किन?”
उनले भने, “रचनालाई केवल हेरेर मात्र पनि मेरो प्रेमले पूर्णता प्राप्त गरेको मलाई अनुभूति हुन्छ । सोच्छु, म बाँचुन्जेल रचनालाई यसरी नै भेट्न पाए म धन्य हुने थिएँ । रचनाप्रतिको मेरो प्रेमले एउटा नयाँ इतिहास थप्ने थियो । मेरो विचारमा उत्कृष्ट प्रेममा शरीरको महत्व हुँदैन। प्रेम मनसँग हुन्छ । र प्रेम अमर हुन्छ। रचनाप्रतिको मेरो प्रेम हृदयदेखिको प्रेम हो। अमर प्रेम हो।”
किरण रचना सरका पछिल्ला कुराहरू सुने पछि भने यी व्यक्ति मलाई अनौठो लागे। सामान्य व्यक्तिले यस्तो व्यवहार गर्दैनन् भन्ने निर्णयमा पनि म पुगें । खास भन्नु हुन्छ भने किरण रचना सर मलाई ‘क्रेजी’ मान्छे लागे । तर उनले भनेका यी कुराहरू, “मेरो विचारमा उत्कृष्ट प्रेममा शरीरको महत्व हुँदैन। प्रेम मनसँग हुन्छ । र प्रेम अमर हुन्छ। रचनाप्रतिको मेरो प्रेम हृदयदेखिको प्रेम हो । अमर प्रेम हो” ले मेरो दिमाग हल्लाइ दिएका छन्, कुनै ठूलो भूँइचालोले घरहरू नराम्रो गरी हल्लाएझैँ।“
किरण रचना सर प्रति तपाइँहरूले कस्तो धारणा बनाउनु भयो, कुन्नि?
साँच्चै किरण रचना सर के क्रेजी मान्छे नै हुन त?
???
??
?
००
