विश्वपरिक्रमा डेस्क,
काठमाडौं असार ९ गते,
नेपाल प्रग्या प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको कविता महोत्सवमा यस वर्ष भोजपुरकी कवि कविता राईको “देशको नक्सा” प्रथम भएको छ । दोश्रो अमृता स्मृतिको कविता “डडेलोपछि पनि वसन्त आउँछ”, तेश्रो ३ मा सविता वरालको “आमा म आएँ”, निरञ्जनाकुमारी चन्दको “युगिन प्रतिध्वनी, तथा प्रकाश सिलवालको “बोधिसत्वको खोप” रहेका छन् । यस वर्षको कबिता महोत्सवमा पुरस्कृत ५ कवि प्रतिभा मध्य ४ जना महिला रहेका छन ।
यस वर्षका लागि वाचन हेतु ४१ कविताहरु छनौटमा परेका थिए । कविता छनौटमा नेपालका विभिन्न जिल्लाका ३२ कविका कविताहरुका साथै भारतका २, अमेरिका, जापान, भूटान, म्यानमार, ईजरायल, क्यानाडाका एकएक नेपाली कविका कविता रहेका थिए । एक भारतमा बस्दै आएकी नेपाली कविको कविता पनि छनौटमा परेको थियो ।
कविता महोत्सव असार ९ गते बुधवार जूमको माध्यमबाट भएको थियो ।
स्मरणीय छ कविता महोत्सव विसं २०२२ सालमा पहिलोपल्ट सम्पन्न भएको थियो । विसं २०४६ सालको सफल जन आन्दोलन अघिसम्म कविताको शिर्षक राजाबाट हरेक नयाँ वर्षका दिन प्रदान गरिने गरिन्थ्यो । पहिलो वर्षको कविता महोत्सवका लागि “नैतिकता” शिर्षक रहेको थियो र भैरव अर्याल प्रथम, वानीरा गिरी दोश्रा तथा गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव तेश्रा भएका थिए ।