४ फागुन २०८२, काठमाडौं
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा विगत १६ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कला, संस्कृति र सङ्गीतका साधकहरूलाई प्रदान गर्ने गरिएको विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ ।
प्रतिष्ठानले जनाए अनुसार “अमूल्य राष्ट्रिय कलाश्री सम्मान” नगद रू १,०१,०००।— सहित विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई सम्मानित गरियो । त्यस्तै कलासाहित्यका साधक एवम् साहित्यिक अभियन्ता सवश्री श्रीओम श्रेष्ठ ‘रोदन’लाई रु. १,००,०००।— राशिसहित “राष्ट्रिय कलाश्री पुरस्कार” साहित्यकार निमेष निखिललाई रु. ७५,०००।— राशिसहितको “ससिद्धि राष्ट्रिय कलाश्री पुरस्कार”, मिथिला चित्रकारिताका साधक स्रष्टा एससी सुमनलाई रु. ६०,०००।— राशिसहितको “थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार”, साहित्यिक पत्रकार एवम् स्रष्टा राजेश खनाललाई रु. ५०,०००।— राशिसहितको “बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार”, नेपाली लोकसाङ्गीतिक जगतकी सङ्घर्षशील स्रष्टा झुमा लिम्बूलाई रु. ५०,०००।— राशिसहितको “पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार” ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति विशिष्ट चित्रकार किरण मानन्धरको प्रमुख आतिथ्यमा समर्पण गरिएको थियो ।कार्यक्रममा प्रमुख अतिथि किरण मानन्धर, अध्यक्ष मोमिला, सम्मानित मुखिया, श्रीओम श्रेष्ठ, निमेष निखिल र प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कवि मणि लोहनीले गरेका थिए ।
०००
