समयचक्र

कविता मेरो कविताः मेरो रोजाइ

मीना श्रेष्ठ, काठमाडौं

 

लाग्थ्यो-

आमा हुनु

पुर्ण आइमाई हुनु हो,

तिमी आयौ र नै

त्यही क्षण त्यही पल

एउटा सुखद् अनुभूति भोगेथेँ

आमा हुनुको

पूर्ण नारी हुनुको।

 

आमाको अनुहारमा निर्दोष आँखाले हेरेर

काखमा घुटुघुटु स्नेह पिउदै गरेको,

मुटुका टुक्राको ढुकढुकी सँगै

आफु बाँचिदिन्थें

तिनका खुशी भित्रै भेट्थेँ आफुलाई

दुःख थियो तर मधुरो तृप्ति पनि थियो।

 

समयले पर्दा फेरेछ शायद

थाहा थिएन, कुनै दिन

तिमीले नै मलाई दुखाउँछौ भनेर

हृदयभरी खुशी भरिदिनेले

किस्ता किस्तामा जिन्दगी दुखाउँछ भनेर।

 

अनायासै

हृदयको खुशी कसैले फिर्ता लगेको छ

जिन्दगी दुखेको छ बेस्सरी

मानौं हृदयका पत्रपत्रहरू च्यातेर

कसैले एकएक गरी उप्काउँदैछ

निजी सपनाहरू पराई हुँदै

टाढाटाढा

पुराना मधुर स्मृतिसँग

शायद सम्बन्ध विच्छेद गर्दैछन्।

 

आज

चिथोरेको छ आफ्नै मृत चाहनाले,

जसमा बाँचिरहने जिजीविषा छैनन्,

सायद लिँदैनन् पुनर्जन्म तिनले,

जतिसुकै इच्छाका खातको सिरानी लाए पनि,

बाँच्नु छ यस शरीरले

सहानुभूतिका हिसाबकिताब जोड घटाउ गरेर

भोग्दैछ शरीर श्रध्दाञ्जली दिने हातका औंलाहरू गनेर

किनकि

बाँचुन्जेल कसरी बाँच्दैछस् भनी नसोध्नेहरू

मृत्यूको खबरपछि,

कसरी मरी भनी ब्याख्यान छाँट्नेछन्

भेट हुँदा मुख बटार्नेहरू

कात्रो हटाइ मुख हेर्न हतारिनेछन्

अवीरहरू, मालाहरू, अगरवत्तीहरू

र शायद झण्डाहरू

अट्टहास गर्नेछन् त्यतिबेला

तर पनि

म उही पुरानो सुखानुभूतिमा

बाँचिरहने छु

एउटा अमर कथा बनेर ।

०००

कवयित्री परिचय: बिसं २०३४ चैत २६ गते खोटाङमा जन्मेकी मीना श्रेष्ठ हाल काठमाडौंमा वसोवास गर्छिन् । उनको “बिस्कुन यो मनको ” कविता सङ्ग्रह प्रकाशित छ र हाल दोश्रो कविता सङ्ग्रहको तयारीमा छिन् ।

Leave a Reply