८ माघ २०८२, काठमाडौं
नेपाली भाषामा लेखिएका लामा कथाहरूको पहिलो सङ्कलन “उत्कृष्ट नेपाली लामा कथा” को प्रकाशन भएको छ । यसको सम्पादन गरिमा, समकालीन साहित्य जस्ता पत्रिकाहरूमा सम्पादनको उत्कृष्ट कला प्रदर्शन गरिसकेका कुशल सम्पादक साहित्यकार अविनाश श्रेष्ठले गरेका हुन् ।
यस सङ्कलनमा १७ कथाकारहरू अर्चना थापा, अविनाश श्रेष्ठ, इन्द्रबहादुर राई, कुमार नगरकोटी, कृष्ण धरावासी, गोविन्द गिरी प्रेरणा, झपटबहादुर राणा, नयनराज पाण्डे, नारायण ढकाल, पिटर जे. कार्थक, पुष्कर शमशेर, भागीरथी श्रेष्ठ, रमेश क्षितिज, रूपनारायण सिंह, विश्वेश्वरप्रसाद कोइराला, समीरण क्षेत्री ‘प्रियदर्शी तथा शिवकुमार राईका एक एक लामा कथा समाविष्ट छन् ।
स्मरणीय छ, यसका सम्पादक गरिमा मासिकको सम्पादक रहेका बेला गरिमाका २ अङ्कमा लामा कथाहरूको बिशेषाङ्क प्रकाशित गरेका थिए । यसरी लामा कथाको बिशेषाङ्क प्रकाशित गर्ने श्रेय गरिमालाई जान्छ र यसका सम्पादक अविनाश श्रेष्ठलाई जान्छ ।
विश्वपरिक्रमासँग कुरा गर्दै सम्पादक अविनाश श्रेष्ठले उत्कष्ट नेपाली लामा कथाहरूको यो पहिलो खण्ड भएको र दोश्रो खण्ड पनि प्रकाशित हुने बताए ।
यो पुस्तक बुकहिल पब्लिकेसन प्रा.लि.ले प्रकाशनमा ल्याएको हो ।
