कृष्ण बस्नेतको “काँटीकीर्ति” : एक पाठकीय दृष्टिकोण

गद्य विविध

भाष्कर मैनाली शर्मा

काँटीकीर्ति पुस्तक नोभेम्बर सन् २०२४ मा पहिलोपटक प्रकाशित भएको कृति हो । यस पुस्तक १२ वटा शीर्षकहरूका लेखहरूको सङ्गालो हो, जसमा लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने, समाजमा आफ्नो खुट्टा जमाएका, मेहनत र संघर्षमार्फत जीवनलाई अर्थपूर्ण बनाएका व्यक्तिहरूबारे लेखिएको छ।
लेखक कृष्ण बस्नेत स्वयं सिलिगुडीमा बसोबास गर्ने भएकाले उनले त्यही क्षेत्रमा कार्यरत, उद्यमशील र लगनशील व्यक्तिहरूबारे विशेष जोड दिएका छन्। प्रायः हाम्रो समाजका लेखकहरूले पश्चिमका नामी–गामी विद्वान वा विश्व प्रसिद्ध व्यक्तिहरूबारे लेख्ने गर्छन्। तर यस पुस्तकमा भने लेखकले आफू देखेको, चिनेको र समय–समयमा साक्षात्कार गरेको व्यक्तित्वहरूलाई प्राथमिकता दिएका छन्।
सामान्यतया हामीले टाढाका महान व्यक्तिहरूलाई प्रेरणाका स्रोत ठान्ने गर्छौं। हामीलाई स्कुलका किताबदेखि नै अब्राहम लिङ्कन, नेल्सन मण्डेला, महात्मा गान्धी, रबिन्द्रनाथ टैगोर जस्ता व्यक्तिहरूका संघर्ष र सफलताका कथाहरू पढाइन्छ। तर समस्या के छ भने, यी व्यक्तिहरू हाम्रो समाजदेखि धेरै टाढा भएका कारण उनीहरूको संघर्ष हामीलाई केवल कल्पनाजस्तो लाग्छ। उनीहरूको जीवन यात्रा हाम्रो आँखाअगाडि प्रत्यक्ष देखिएको हुँदैन। तर हाम्रो वरपरका मानिसहरूले गरेको संघर्ष भने प्रत्यक्ष देखिने भएकाले हामीलाई अझ बढी आत्मीय लाग्छ।
यस पुस्तकका लेखहरू पढ्दा लाग्छ—टाढाका देवता भन्दा नजिकैका देवता नै काम लाग्छन्। लेखकले नजिकैका मेहनती, उद्यमशील व्यक्तिहरूलाई देवतासमान सम्मान गरेका छन्। उनीहरूले समाजलाई देखाएका उदाहरण, बाटो र प्रेरणाले पाठकको हृदय छोइदिन्छ।
सिलिगुडी क्षेत्र विशेष गरी मिलन मोड वरपरका नेपाली भाषी समुदायका व्यापारी, उद्यमी वा पेशागत क्षेत्रमा सफल व्यक्तिहरू पुस्तकको केन्द्रमा छन्। हाम्रो समाजमा अझै पनि एउटा भनाइ छ—“नेपाली भाषीहरू व्यापार गर्न सक्दैनन्।” तर यो पुस्तक पढ्दा त्यो भनाइ पूर्णतः गलत सावित हुन्छ। किनकि यहीं अल्पसंख्यक नेपाली भाषीहरूको शहर सिलिगुडीमै उनीहरूले व्यापार, लगानी र श्रममार्फत आफ्नो पहिचान बनाएका छन्।
यस पुस्तकले हामीलाई एउटा ठूलो शिक्षा दिन्छ—जीवनलाई सफल बनाउन सरकारी जागिर मात्र विकल्प होइन। भारतमा सरकारी जागिर ठूलो उपलब्धि मानिन्छ। हरेक परिवारले आफ्ना छोराछोरीलाई सरकारी जागिरे बनाउन चाहन्छ। तर कठोर प्रतिस्पर्धा र सीमित अवसरका कारण अधिकांश युवाहरूले सरकारी जागिर पाउन सक्दैनन्। परिणामस्वरूप, उनीहरू निराश, हतोत्साहित भएर कुलतमा पनि फस्ने गरेका छन्।
यस्तो अवस्थामा “काँटीकीर्ति” पुस्तकले देखाउँछ—यदि सरकारी जागिर छैन भने पनि निराश हुनु पर्दैन। जीवनमा सफलता पाउने अन्य बाटोहरू प्रशस्तै छन्। व्यापार, सीप, लगानी, नवीन सोच र संघर्षमार्फत पनि जीवनलाई अर्थपूर्ण बनाउन सकिन्छ। पुस्तकमा वर्णित व्यक्तिहरू सबै सरकारी जागिरे होइनन्, तर उनीहरूले समाजमा आफ्नो नाम कमाएका छन्, आफ्ना परिवारलाई समृद्ध बनाएका छन्, र अरूका लागि प्रेरणाको स्रोत बनेका छन्।
पुस्तक पढ्दा यस्तो लाग्छ—संघर्षलाई नडराउने, मेहनतलाई निरन्तरता दिने मानिस मात्र जीवनमा सफल हुन्छ। यहाँ उल्लेख गरिएका व्यक्तिहरूले आफैँलाई मात्र होइन, समाजलाई पनि अगाडि बढाएका छन्। उनीहरू उद्यमी मात्र होइनन्, समाजलाई एउटा प्रेरणा दिने स्तम्भ पनि हुन्।
अब कुरा गरौं शीर्षक काँटीकीर्तिको। सामान्यतया काँटी भन्नासाथ घोच्ने, दुख दिने वा नकारात्मक कुरा हाम्रो दिमागमा आउँछ। तर लेखकले काँटीलाई सकारात्मक दृष्टिले हेरेका छन्। काँटीले भाँचिएको वस्तुलाई जोड्छ, असुरक्षितलाई सुरक्षित बनाउँछ। त्यसैगरी, यस पुस्तकका लेखहरूले पनि मानिसहरूलाई जोड्ने, प्रेरणा दिने र समाजमा आत्मबल जगाउने काम गरेका छन्। काँटी यहाँ पीडा दिने होइन, जीवनलाई बलियो बनाउने प्रतीक बनेको छ।
युवा पुस्ताका लागि यो पुस्तक विशेष सन्देश बोकेको छ। अहिले धेरै युवा शहर छाडेर रोजगारीका लागि दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता वा विदेशतर्फ लागिरहेका छन्। परिवार र समाजबाट टाढा गएर जीवन निर्वाह गर्न बाध्य छन्। तर यस पुस्तकले देखाएको छ—यदि आफ्नै ठाउँमा बसेर पनि परिश्रम गर्न सकिन्छ भने सफलता पाउन अवश्य सम्भव छ। आफ्नो घर–परिवारसँगै बसेर पनि ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण यस पुस्तकले प्रस्तुत गरेको छ।
सिलिगुडी क्षेत्र सधैं व्यापार, शिक्षा र सामाजिक उत्थानको केन्द्रबिन्दु रहँदै आएको छ। यसै क्षेत्रमा सक्रिय रहँदै आफ्नो लगनशीलता, संघर्ष र सफलता मार्फत समाजलाई प्रेरित गर्ने दर्जनौं व्यक्तिहरू मध्ये १२ विशिष्ट व्यक्तित्वहरूको जीवनकथा “काँटीकीर्ति” पुस्तकमा समेटिएको छ। यी व्यक्तित्वहरू केवल व्यक्तिगत रूपमा मात्र सफल छैनन्, बरु उनीहरूले समाजलाई उज्यालो दिने कार्य पनि प्रशंसनीय ढङ्गले गरेका छन्।
यी व्यक्तित्वहरू यसप्रकार रहेका छन् ।
राजेनप्रसाद सुवेदीः सिलिगुडी क्षेत्रका अथक उद्यमी, परिश्रमी र दूरदर्शी राजेनप्रसाद सुवेदी व्यापारिक जगतमा स्थापित नाम हुन्। उनले विभिन्न क्षेत्रमा लगानी गर्दै व्यवसायिक सफलता हासिल गरेका मात्र होइन, आफ्नो उद्धार मन देखाउँदै समाजलाई सहयोग गर्ने कार्य पनि गरेका छन्।
पुरण न्यौपानेः व्यवसायिक दुनियामा अर्को स्थापित नाम हुन् पुरण न्यौपाने। होटल, जग्गा र रियल स्टेट क्षेत्रमा लगानी गर्दै उनले आर्थिक सम्पन्नता मात्र होइन, आत्मविश्वासपूर्ण जीवनशैली पनि निर्माण गरेका छन्।
दीपक न्यौपानेः दीपक न्यौपाने सनराइज स्कूल का संस्थापक हुन्, जुन मिलन मोडमा अवस्थित एक प्रतिष्ठित शैक्षिक संस्था हो। संघर्षपूर्ण यात्रापछि उनले यो विद्यालय स्थापना गरे र हजारौं बालबालिकालाई ज्ञानको उज्यालो बाँड्न सफल बने।
नगेन्द्र धमलाः चुनौतीपूर्ण जीवनका धनी नगेन्द्र धमलाले उद्योग–धन्दाको क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्। केही समय विदेश गएर अनुभव बटुलेपछि स्वदेश फर्की उनले व्यवसायलाई निखारे र सफल उद्योगपति बने।
क्लाउडियस सिंह रसाइलीः सिलिगुडी क्षेत्रमा रोजर्स इन्स्टिट्युट र रोजर्स एकेडेमी स्थापना गरेर क्लाउडियस सिंह रसाइलीले शैक्षिक क्षेत्रमै ऐतिहासिक योगदान गरेका छन्। विपन्न परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु उनका कार्यको प्रमुख विशेषता हो। उनले केवल नेपाली समुदायमै नभई बंगाली, बिहारी, मारवाडी समुदाय माझ पनि आफ्नो पहिचान बनाएका छन्।
उमेश अधिकारीः बाल्यकालदेखि नै संघर्षपूर्ण जीवन व्यतीत गरेका उमेश अधिकारी आजका दिनमा सफल उद्यमीको रूपमा चिनिन्छन्। कठिनाइका बर्खा पार गर्दै उनले सफलता आर्जन गरे, जसले युवाहरूका लागि प्रेरणाको स्रोत बनाएको छ।
सुरज क्षेत्रीः कलिलो उमेरमै सफलता हासिल गरेका सुरज क्षेत्री विफलता भोगेर पनि हार नमान्ने उदाहरण हुन्। अहिले उनी आफ्नो सेक्युरिटी कम्पनी सञ्चालन गर्दै स्वयं मात्र रोजगारी आर्जन गरेका छैनन्, अरूलाई पनि रोजगारी उपलब्ध गराइरहेका छन्।
चन्द्र क्षेत्रीः मिलन मोडमा जेनेसिस अकादमी स्थापना गरेर चन्द्र क्षेत्रीले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। सम्पन्नदेखि विपन्न परिवारका विद्यार्थीहरूलाई पनि गुणस्तरीय शिक्षा प्रदान गर्नु उनको उद्धार हृदयको प्रमाण हो।
बद्रीप्रसाद शर्माः शिक्षक, व्यापारी र सामाजिक कार्यकर्ता बद्रीप्रसाद शर्माको जीवनसंघर्ष प्रेरणादायी छ। शिक्षा र सामाजिक सेवामा सक्रिय रहँदै उनले समुदायमा सकारात्मक प्रभाव पारेका छन्।
दावा बमजनः विज्ञापन व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाएका दावा बमजन हाल सम्पन्न जीवनशैलीमा छन्। तर उनको विगतको संघर्ष र निरन्तर प्रयासले नै उनलाई सफलतासम्म पुर्‍याएको हो।
रोहित शिवाकोटीः गुरुङ बस्तीमा शिवाकोटी प्रिन्टिङ प्रेस स्थापना गरेर रोहित शिवाकोटीले व्यवसायलाई सफलतापूर्वक अघि बढाइरहेका छन्। साथै, धार्मिक भावनाले ओतप्रोत वैष्णव मार्गी व्यक्तित्वको रूपमा पनि उनको विशेष परिचय छ।
रजेन भण्डारीः उद्योग र होटल व्यवसायमा उदाउँदो नाम हुन् रजेन भण्डारी। गुल्मा चियाबगान नजिक रिजोर्ट र होटल सञ्चालन गर्दै उनी केवल धनसम्पत्ति आर्जनमै सीमित छैनन्, सामाजिक कार्यमा पनि समान रूपमा सक्रिय छन्। सहयोगी र उदार मनका धनी उनी समाजका लागि प्रेरणादायी व्यक्तित्व हुन्।
यी १२ व्यक्तित्वहरूको कथा केवल व्यक्तिगत सफलता मात्र होइन, सामूहिक चेतना को पनि प्रतिबिम्ब हो।
कसैले शिक्षा मार्फत समाजलाई उज्यालो दिएका छन् (दीपक न्यौपाने, क्लाउडियस रसाइली, चन्द्र क्षेत्री), कसैले व्यापार र उद्यमिता मार्फत रोजगारी र अवसर सिर्जना गरेका छन् (राजेनप्रसाद सुवेदी, पुरण न्यौपाने, नगेन्द्र धमला, उमेश अधिकारी, सुरज क्षेत्री), कसैले सामाजिक सेवा र संस्कार मार्फत समुदायलाई जोड्ने काम गरेका छन् (बद्रीप्रसाद शर्मा, रोहित शिवाकोटी, रजेन भण्डारी)।
यी सबै जीवनकथामा साझा कुरा के देखिन्छ भने—संघर्षलाई जितेर मात्र सफलता प्राप्त हुन्छ।यसरी, काँटीकीर्ति पुस्तक केवल १२ व्यक्तित्वको जीवन परिचय मात्र नभई, सम्पूर्ण समाजका लागि प्रेरणाको भण्डार बनेको छ।

०००

लेखक परिचयः भाष्कर मैनाली शर्मा भारतको दार्जिलिङमा जन्मेका हुन् र हाल सिलिगुडीमा वसोवास गर्छन् । उनले हिमालय दर्पण पत्रिकामा “घोप्टे युग” निवन्ध प्रकाशन गरेर साहित्य यात्रा अघि बढाएका हुन् । उनले दार्जिलिङ, कालेबुङ, सिक्किम, डूवर्स र नेपालका पत्र पत्रिकाहरूमा साहित्यिक तथा साहित्येतर लेखहरू नियमित रूपमा लेख्दै आइरहेको छन् ।