प्रेमको मूल्य

गद्य विविध

शीतल गिरी

 

प्रेमको चर्चा विभिन्न धर्मशास्त्र, दार्शनिक ग्रन्थ, साहित्यिक कृति, सांस्कृतिक ग्रन्थ आदिमा विभिन्न सन्दर्भमा हुँदै आएको छ । मानवीय मूल्यमा तीव्र समीकरण भइरहेको वर्तमान परिप्रेक्ष्यमा समाजलाई सही दिशावोध गराउने सामर्थ रहेको प्रेमको मूल्यको बारेमा चासो बढ्नु स्वभाविक देखिन्छ ।

कुनै पनि कुराको मूल्य र औचित्य त्यसको व्यवहारिक प्रयोगले सिद्ध गर्दछ ।

जीवनसँग हातेमालो गरेर हिँडन नसक्ने कुनै पनि कुराको सामाजिक उपादेयता रहँदैन ।

देख्दैछु सबै मानिस खुशी छन् । खुशीको आधार प्रेम हो, यसविना शान्ति आउन सक्दैन । धर्म भनेको के हो, सेवा नै धर्म हो— प्रेममय सेवा नै उत्कृष्ट धर्म हो ।

अर्कोतिर नर–नारी बिचको आकर्षणलाई प्रेम भनिन्छ । उनीहरू खुशी छन्, किनभने एकले अर्काको शारिरीक र मानसीक भोक शान्त पार्न सकेका छन् । पैसाको भरमा शारिरीक भोक शान्त पार्न सकिन्छ । शारिरीक भोकले गर्दा उहिल्यैदेखि शरिरको व्यापार हुँदै आएको छ ।

प्रेमभावले वैरभावलाई परास्त गर्नसक्छ, सबभन्दा पहिलो कुरो प्रेमगर्न सक्नुपर्छ । प्रेम पूर्वक व्यवहार गरेमा शान्तिको ढोका खुल्छ, सबैलाई आफ्नो ठानेर प्रेममय व्यवहार गरेमा संसार आफ्नो बन्छ ।

शब्दकोशहरूमा विशेषगरी दुई विपरीत लिङ्गवीचको वासनात्मक आकर्षणको अर्थमा प्रेमलाई अथ्र्याइएको पाएको छु । यसैको आधारमा प्रेमको कुरा गर्ने वितिकै राधा–कृष्ण, लैला–मजनु, मुना–मदन, रोमियो–जुलियट, हिर–राँझा आदिको चर्चित युगलकथाहरूलाई नै हामी बसेको समाजले प्रेमको मानक बनाएको देखिएको छ ।

यथार्थमा प्रेम सस्तो र साँघुरो भने होइन । प्रेम त मानवमा रहेको गुणहरूमध्ये सर्वोतम गुण हो । यथार्थमा प्रेम कर्तव्य हो जसलाई पूरा गर्दा आफू र अरुको समेत कल्याण हुन्छ । यसमा रहेको सत्यता अनुभूत गरी अनुशरण गर्न सकेमा जीवनको मूल्य बुझ्न सकिन्छ । जीवनको मूल्य बुझ्नु भनेको प्रेममा रहेको सृजना शक्ति, निर्माण शक्ति, न्यायगर्ने क्षमता, स्वतन्त्रताको यथार्थ र मानव सभ्यताको बारेमा वास्तविकता थाहा पाउनु हो ।

अध्यात्मवादी प्रेमको मौलिक एवम् आदर्श स्वरूप आध्यात्मिक प्रेम नै हो भन्छन् । प्रकृति प्रेमी चाही— प्राकृतिक वस्तुहरू, प्राकृतिक गुणहरूसँग रम्दै तिनको संरक्षण र संवद्र्धनका लागि सक्रिय रहने कार्य प्रकृतिप्रेम हो भन्छन् । मानिस पनि प्रकृतिकै एक घटक भएको हुनाले प्रकृतिलाई प्रेम गर्नु भनेको प्रकारान्तरले स्वयम्लाई प्रेम गर्नु हो । प्राकृतिक सुन्दरतामा डुब्नेहरूमात्र प्रकृतिको अनुरागले सृजनात्मक उत्प्रेरणा प्राप्त गर्न सक्दछ ।

स्पष्ट छ, आफू जन्मेको माटो, आफू हुर्केको थलो, आफूले बोल्ने भाषा, आफूले मान्दै आएको संस्कृति र परम्परा, आफ्नोपन, स्वाभिमान जस्ता भावात्मक कुराहरूले जब विचारमा रूपान्तरित हुन्छन्, अनी त्यही विचार नै विस्तृत र उदात्तीकृत भई व्यक्तिमा देशप्रति एउटा स्वच्छ अनुराग जन्मनेगर्दछ । यही देशप्रेमको नशामा मानिस आफूलाई शहिद बनाउन पनि पछि पर्दैनन् । गहिरो कुरा हो, शारीरिक बनावटका साथै संस्कृति, परम्परा र भाषामा अनि भूगोलको समानताले मानिसमा भावनात्मक निकटता ल्याउँछ— यसबाट केही सीमित स्वार्थी व्यक्तिले नाफा कमाउने गरेको देखिएको छ ।

हो, मान्छेमा जब चेतनाको उद्बोधन भयो तब उसले सत्य, सुन्दर र कल्याणको खोजीमा लाग्यो । मान्छेले आफ्नो भावनालाई भाषामा व्यक्त गर्न थालेपछि ज्ञानको क्षितिज फराकिलो भयो र प्राकृतिक आवश्यकता र आत्मिय प्रेम यी दुई फरक फरक हो भन्ने बुझ्यो । जे भए पनि, आज प्रेम सचेत रूपमा मान्छेको जीवनपध्दतिमा घुलमिल गरेको छ ।

म प्रेमको पौराणिक एवम् शास्त्रीय सन्दर्भको चर्चागरेर नाम कमाउँन चाहन्न, जान्दा पनि जान्दिन । मैले ऋग्वेदका सूक्तिहरूले प्रत्यक्ष रूपमा प्रेमको ज्ञान दिएको पाएको छैन । त्यहाँका सूक्तिहरूले मान्छेका लागि ज्ञानको क्षितिज फराकिलो पारिदिएको भए राम जानोस् । उपनिषद्, पुराण, गीता, रामायण, महाभारत आदिको गहन अध्ययनले प्रेम अझ पुष्पित र पल्लवित भयो भनेर ज्ञानीहरू लेख्छन्, छाप्छन् र बेच्छन् । प्रेमको महत्ता र आदर्श सर्वप्रिय र सर्वस्वीकार्य रहेकोले त्यस्ता पुस्तक बेचेर पैसा कमाएका पनि छन् । तर कमाए भनेर कोही भन्दैनन्, किनभने उनीहरूको जीविकाको साधन नै यही हो ।

तब पनि मान्छेले हासिल गरेको ज्ञान र अनुभवलाई सूक्ष्म रूपमा अनुशीलन गरी जीवन–जगतमा प्रेमको सर्वोपरिता र अपरिहार्यतालाई आत्मसात गर्नुपर्दछ । आत्मसात गर्नु भनेको आजको निराश, दुःखी, असन्तुष्ट, तनावग्रस्त, युध्दग्रस्त, मान्छेलाई मुक्ति प्रेमले दिन सक्छ भन्ने जानकारी गराउनु हो । प्रेम शाब्दिक अर्थमा मात्र रुमलिरहेको पाउँदा म असन्तुष्ट हुन पुग्छु । प्रेमलाई आदर्शमात्र बनाउने हो भने प्रेमगर्ने मान्छे अवसर पाउनबाट वंचित हुन पुग्छ । अशान्तिका ज्वालाहरू झनै दन्किन पुग्छ । वलपूर्वक प्रेमको महत्त्व र मूल्यलाई विश्वजनीत बनाउन सकिदैन, बनाउने प्रयास पनि गरिनु हुन्न । किनभने प्रेम हुने कुरा हो, स्वभाविक किसीमबाट प्रेम हुन्छ, सहज किसीमबाट प्रेम हुन्छ, बलपूर्वक र प्रलोभनमा प्रेम अड्दैन, टिकदैन ।

प्रेमको बारेमा कुरो त धेरै भएको छ । प्रश्न हो प्रेमको मूल्यको । एकजना विचारक मित्रले सल्लाह दिएका थिए असहायलाई सहयोग गर अनि प्रेमको मूल्य आफैं पाउने छौं । उनलाई विश्वास थियो सहयोग या अरूको उपकार नै प्रेमको मापन हो । मलाई पनि विचारक मित्रमा विश्वास थियो । अनि प्रश्न कस्तोलाई असहाय भनेर चिन्नेमा आयो । सहयोग गर्ने संस्थाहरू र व्यक्तिहरूको कमी छैन । एनजीओ, आइएनजीओको बजार चलेको मात्रै होइन दौडिएको छ सहयोग गर्न । सहयोग गर्ने कुरो मलाई पनि मन पर्छ । तर कसरी कसलाई गर्ने । हिजो आफन्त कोही नभएको व्यक्तिको सदगत गर्न सहयोग गरेकै थिए, रोगीलाई उपचार आफू र अरूको सहयोगमा गरेकै थिए यस्ता धेरै कुरा सम्झनामा आउन थाल्यो । आफूबाट गरिएको या भएको त्यो सहयोग प्रेमवश गरिएको पनि मलाई थाहाभएन, त्यस सहयोगलाई प्रेम भनौं रे यसको मूल्य प्राप्त भएको पनि जानकारी छैन । मेरो आँखा खुल्यो ! यानी सहयोग त सम्मुखमा पर्दा गरिएको न हो, मानविय नाताले । केही पाउनको लागि गरिएको त थिएन । तर त्यतिको भरमा प्रेम गरे या गर्न सक्ने भए भन्न सकिदैन र मूल्य तोक्नु त झन् भएन । आज मनमनै हिसाब किताब गर्दैछु, सहयोगलाई मूल्यमा आँक्नु हुँदैन तर सहयोगलाई मूल्यमा आँकेको पाइन्छ, आँक्नेले प्रेम पायो या पाएन यसै भन्न सकिन्न ।

मानिस जन्मन्छ— वाल्यकाल, युवावस्था र वृद्धावस्थामा पुग्छ— वालक र वृद्धलाई सहयोगको बढी आवश्यकता पर्छ— यो प्रकृतिको नियम हो । प्रेमले गर्दा नै वालक, वृद्ध र रोगीले घर परिवार, आफन्तबाट प्रेमील वातावरण पाउँछ, सामाजिक र सांस्कृतिक शिक्षाले युवालाई प्रेमगर्नु पर्ने दायित्व वोध गराउँछ ।

शान्तिको मूल आधार प्रेम हो । दैनन्दिन जीवनलाई नजिकबाट सत्य, आनन्द र प्रेमले प्रभाव पारेको हुन्छ, जसले यसको रहस्य बुझेको हुन्छ उसले वास्तविक शान्ति पाउँछ ।

तर कमाई गर्न चाहनेको भाषामा यो सर्वथा अनुचित हो । कमाउन चाहनेले प्रेमलाई मात्र होइन नदिको छाल गनेर पनि कमाउँछ । अनुचित कहाँ हो भने जहाँ स्वभाविक मानविय सेवा भावलाई मूल्यमा आँकिन्छ ।

ईश्वरलाई सर्वव्यापी, सर्वशक्तिमान, सर्वज्ञानी र निराकार मानेर प्रेमको याचना गर्ने पनि पाइएको छ । कतिपय बौध्दिक चिन्तक ईश्वर र भक्तबिचको प्रेममात्र सच्चा प्रेम हो भन्ने पनि छन् । प्रेमले मानिसभित्र गुटमुटिएको रहस्याभिव्यञ्जनालाई सार्थकता दिन सहायता गर्छ भनेर भनेको पनि सुन्नमा आएको छ । आस्था, विश्वास, श्रध्दा, कृतज्ञता, रहस्य, परमबोध, दिब्य–कल्पना, विचित्र अनुभूति यस सबै कुरा प्रेम हो । जसले सेवालाई धर्म ठान्छ, जो सहयोग गर्न सदा अग्रसर हुन्छ, सहयोगलाई व्यापार ठान्दछ उ प्रेम पाउन योग्य हो । सहयोग गर्ने नाममा पसल थापेर बसेका संघ संस्थाहरू उपकार गर्छन्, प्रेम होइन ।

अध्यात्मवादीहरू भन्छन् एकत्वोबोधबाट साँचो प्रेमको उद्बोध हुन्छ किनभने एकत्वोबोधबाट विशिष्टताहरू लोप भई एकत्वको मससुस हुन जान्छ । अनी आफू र अरुमा भेद हुन छाड्छ ।

प्रायशः मानिसहरू सोच्ने गर्दछन्, स्वर्गमा पाइने सुख भोग गर्न पाए कति आनन्द हुँदो हो । केही धर्माधीकारीहरू भनी टोपल्छन् ‘स्वर्गमा ईश्वर निवास गर्छ त्यो सुख यहाँ प्राप्त गर्नको लागि ईश्वरलाई प्रेम गर ।’ ईश्वरको यथार्थ आँखा चिम्लेर होइन, व्याख्या गरेर थाहा पाउन सकिन्छ । केही यहाँ तथ्यपूर्ण सत्य व्याख्याद्वारा थाहा पाउन चाहन्छन्, केही भने आँखा चिम्लेर कौवाको पछि पछि दौडन्छन्— आफ्नो कान खोज्न । यो मूर्त जगत अमूर्तै चेतनाको अभिव्यक्ति हो भनेर सोच्ने धेरै छन् तर पनि अरुको हितलाई पहिलो प्राथमिकता व्यवहारमा देखाउँनेको संख्या हिजोदेखि आजसम्म थोरै नै पाइएको छ, भोलीको बारे भन्न सकिन्न । थोरै संख्यामा रहेका मानिसलाई गलत भनेर नकार्न सकिन्न, साहित्यमा भने उनिहरूकै महिमा गाएको पाइन्छ । तर व्यवहारिक जीवनमा या छल प्रपञ्च कटुताले भरिएको जगतमा उनीहरूलाई मुर्ख नै ठानिन्छ ।

यदि हाम्रो व्यवहार यसैगरी चलिरहोस्, मानवताको हार्दिक उदाहरण कतै पाइएन, जता पनि मूर्खता, चापलुसीको व्यवहार पाइन्छ भने त्यस्तो समाजलाई सभ्य भन्न सकिदैन । तब आवश्यकता पर्छ त्यस समाजको चलन, रीति–थितिमा परिवर्तन ।

चेतना जीवनको केन्द्र हो । मानव जीवनमा चेतनाको उच्च उद्देश्य हुन्छ, त्यसै कारणले गर्दा नै मानवको जीविका र कर्म फरक फरक छ ।

जसलाई हामी प्रेम भन्छौं, त्यो के हो ? व्यक्तिको आवश्यकता हो कि ? यो पाइएमा जीवन सहज बन्छ कि । जन्मदेखि मृत्युसम्म यसको यो आवश्यकता पर्छ कि पर्दैन, यसको उपयोग कसरी गरिन्छ । जीवित रहुञ्जेल हामीलाई यसको कतिको आवश्यकता पर्छ । प्रेम गर्न सकिएन या पाइएन भने जीवन रहन्छ कि रहदैन । जब जीवन समाप्त हुन्छ व्यक्तिको प्रेम कहाँ जान्छ । यस किसिमको सोचाई तपाईंलाई अनावश्यक जस्तो लाग्न सक्छ । तर मृत्युले प्रेमको अस्तित्व खण्डित गर्न सक्दैन, सोचमा भने परिवर्तन ल्याउन सक्छ । मृत्यु स्वयम् पनि प्रेमको एउटा निरन्तरता न हो ।

परिवारमा प्रेमको उपहार भनेर नवजात शिशुलाई भनिन्छ । त्यस परिवारले शिशुको पालन पोषण र सुरक्षाको दायित्व बोक्नु पर्छ । मानौ शिशुले जुन प्रेम आफ्नो आमा वुवाबाट पाउनु पर्ने हो, क्वीट बन्न रुचाउने मम्मीले धाईआमाको व्यवस्था गरेको पाइन्छ । अब कसरी त्यो शिशुले घरमा राखेको काम गर्ने जो तालीमप्राप्त पनि हुँदैन, सकभर कम उमेरकी बालिका हुन्छ, तिनबाट प्रेमपूर्ण व्यवहार र समय समयमा पोषण युक्त खानेकुरा पाउनु ? आफूलाई ब्वीट बन्न रुचाउने मम्मीबाट यस्तो हुने गरेको छ । बाध्यताले अरुको घरमा काम गर्न बसेकी वालिकाले शीशुको पालन पोषण हुनुपर्ने जती पक्कै हुन सक्दैन । किनभने कामगर्न बसेकी ती वालिकाले त्यस घरमा प्रेमपूर्ण व्यवहार पाउँदिन भने उसले प्रेमील वातावरणमा त्यस घरको शिशु कसरी हुर्काउन सक्छे । प्रेम के हो जसलाई थाहा हुँदैन अरुलाई कसरी गर्छ । त्यसो भएको हुँदा बालक हुर्किनको लागि घरमा प्रेममय वातावरण भयो भने सहज रुपमा हुर्किन सक्छ । सबभन्दा पहिले जननीले आफूलाई होइन शीशुलाई प्रेम गर्न सक्नु पर्छ ।

कानून, हो कानून बनाएर राम्ररी शिशुको पालन पोषण नगर्ने परिवारलाई सजाय गर्न सक्नु पर्छ । स्वार्थ र दलगतको दलदलमा फसेको हाम्रो जस्तो देशमा निस्वार्थ रुपमा कानून बन्दैन । तर केही राम्रा मानिस पनि त्यस तहमा अवश्य पुगेका हुन्छन् । ती राम्रा मानिसको पटक पटकको प्रयासमा मानव मैत्री कानून बन्न सक्छ । त्यसो हुन सक्यो भने भोलीको पुस्ताको सोच आजकाको भन्दा पक्कै राम्रो हुनेछ । आवश्यकता पुरा हुनेछ,। शिशुले उचित स्याहार पाउने छ । प्रेममय वातावरण घर र वाहिर पनि खुशी ल्याउने छ ।

एउटा नारी हो, अर्को नर । नारी र नर एक अर्काका पुरक हुन् । समाजमा फैलिएको भ्रमले एक अर्काको बीपरित देखाएको छ । जबसम्म नरको सहयोग हुँदैन आमा बन्न सक्दिन । नारीको आवश्यकता भनौं या नरले प्राप्त गरेको अवसरले नयाँ सृजना हुन्छ, नयाँ सृजना प्रेमको वातावरणको अभावमा मौलाउन सक्दैन ।

वास्तवमा जीवन विभीन्न गतिहरूको सन्तुलीत समीकरण हो । मानव जीवनमा सधै तर्कको संभावना रहन्छ । मानव शरीरमा भएका अनेकौं सूक्ष्म कोषहरूको गतिले अङ्गहरू गतिमान भएका हुन् । वालकदेखी वृध्दसम्मका मानव शरीरले जलवायुको गतिसँग सन्तुलन मिलाउन निरन्तर प्रयत्न गर्दछ ।

प्रकृतिको हरेक वस्तुको आफ्नो एउटा स्तर छ । त्यस स्तरभन्दा दायाँबायाँ गरियो भने सृजना होइन विनाश हुन्छ । विनाश सीमितको लागि लाभ हो, त्याग धेरैको लागि । सीमीत व्यक्तिको स्वार्थले कालो बजारी, सीण्डिकेट, कृतिम अभावको कारण कानूनी राज्यको चाहना भताभुङ्ग हुन्छ । ती सिमीत मानिस जो लाभको भाषाले सोच्दछ र हिंड्छ, उनीहरूको शक्ति बढेमा समाज घाटामा जान्छ, राज्यमा अराजकता छाउँछ । मानव शरीरमा प्रवाह हुने रगत र श्वासको गति, मुटुको गतिको अध्ययन गरेको छ विज्ञानले । विज्ञानले यी सबै गतिहरूको कारण सूर्यमा रहेको गुरुत्वाकर्षण शक्तिको हो । प्रकृति सबै गतिहरूको उत्प्रेरक र नियन्त्रक भएकोले चिन्नु पर्दछ । प्रकृतिलाई हामी यस विषयको विशेषज्ञ भन्न सक्दछौं । मानव संस्कार पनि गतिमान छ तर दिशाशीन होइन । जीवको पनि निश्चित दिशा छ, दिशानिर्दिष्ट हुनाले जीवन भर अथक काम गर्न सक्दछ, किनभने गति अनुशासनमा चलेको हुन्छ ।

गतिमा रहेको अनुशासन र निर्दिष्ट दिशाले नै जीवन र जगतलाई तालबद्ध बनाएको प्रतीत हुन्छ । प्रकृतिको सिर्जना सबै आ–आफ्नो गतिमा चलायमान छन् । जस्तो आँखा चिम्लेर वायुमण्डलको, समुद्र, फूल, लहरा, वृक्ष, पशुपक्षी, ग्रह, तार, नक्षत्र आदिको गतिलाई एकै ठाउँमा महसुस गर्दा कति मीठो तरङ्ग अनुभूत हुन्छ । हुनसक्दछ प्रकृतिको गतिमा हामी मानीसको गतिलाई मिसाएर महसूस गर्दा सामान्यकृत लाग्दो हो । तब जन्म, विकास र मृत्यु विशेष घटना नभई एउटा निरन्तर प्रवाह भएको सत्य बुझ्न सजिलो हो । मानीसका क्रियाकलाप र प्रयत्नहरू एउटा प्रवाहको बान्कीजस्तो मात्र बन्न पुग्दछ । उत्थान, पतन, प्राप्ति, अप्राप्ति, शोक आदि जीवनको भाषाकोमूल्य ठान्न सकिन्छ । जहाँ नैतिकता हुँदैन त्यहाँ प्रेम रहदैन, नीति पालन गर्नु प्रेमको पहिलो शर्त हो । नैतिकताको पाठ मानीसले समाजबाट पढ्छ । नैतिकता आफ्नो ठाउँमा उपयोगी छ, समाज विकासको लागि यसको आवश्यकता पर्दछ । आवश्यकता र पूर्तिको सन्तुलनको माग समाजमा चारैतिर रहेको हुन्छ । नैतिकताको अभावमा, प्रेमको पूर्ति टाढाको कुरो बन्न पुग्दछ । दयनीय अवस्थामा दया पाउन सजिलो छ । तर दयामा प्रेम हुँदैन, उपकार हुन्छ जो प्रेम होइन ।

लाभको आधारमा प्रेमको विश्लेषण गर्न लगाउनु भनेको समाजमा प्रेमको नाममा व्यापार गर्न खोज्नु हो ।

यो समाजमा आफूभन्दा ठूलासँगमात्र होइन सानासँग पनि नम्रतापूर्वक व्यवहार गर्नु पर्दछ ।

सवै व्यक्तिलाई स्वेच्छाले प्रेमपूर्वक सभ्य, महान, आदर्श र नैतिकवान बन्न सघाउनु पर्दछ । यस प्रवाहमा हामी आफै उदाहरण बन्न सकेमा अरुबाट प्रेम पाउन सकिन्छ । प्रेम शब्द नै शुभ हो । कुनै पनि व्यापारी व्यापार र ग्राहकसँग प्रेम गर्छ भने त्यहाँ व्यापार मानविय हित बन्दछ, जब व्यापारमा त्याग र शौर्यको मूल्य खोज्न थाल्दछ भने उसको शालीनता गुम्दछ र त्यसको ठाउँ स्वार्थमय स्पर्धाको वृत्तिले लिनेछ ।

प्रेम जीवनको केन्द्र हो, रागात्मक प्रेमको स्तरबाट हटेर मूल्य लगाउन सकिन्न । जुन कुरो जीवन–मान बनेको हुन्छ त्यो बजारमा पाईंदैन, बजारमा नपाइने कुराको मूल्य तोक्न सकिन्न । प्रेमको मूल्य तोक्न खोज्नु भनेको जीवनलाई बुझ्न नसक्नु पनि हो ।

हो मैले खोजेको कुरो त प्रेमको मूल्य न हो ? के कृष्ण र सुदामा बीचको सखा भावको प्रेमलाई मानक मान्न सकिन्छ ? जहाँ दिन दुःखी सुदामाको परिवारमा कायापलट ल्याई दिएका थिए । या कृष्ण र राधा बीचको प्रेमलाई मानक मान्न सकिन्छ ? जो रासलीलाको रुपमा प्रख्याती छ, त्यही कृष्ण राजा बनेपछि रानी पटरानी राखेपछि एक पटक पनि राधालाई सम्झेनन् । या कृष्णसँग रमाएका रानी पटरानीको लाचारीपनलाई मानक मान्न सकिन्छ ? जहाँ कृपाले काम गरेको छ । या राम सीताको प्रेमलाई मानक मान्ने, जहाँ गर्भवती पत्नीलाई घरबाट निकालिन्छ । अथवा असफल प्रेम जसको परिणती प्रेमी प्रेमीकाले प्राण विसर्जन गरेका थिए, गर्दैछन् र गर्नेछन्, यो मानक बन्न सक्छ त । अथवा मीरा र सुदामाले गरेको कृष्ण भक्तिलाई मानक प्रेम मान्ने, जो यथार्थमा अन्धभक्ति भन्दा अरु केही होइन । या रूपकुमारीहरूको मोहमा हुने गरेको लडाईं झगडा या उपहारलाई मानक मान्ने ? मैले त केही निर्कोल निकाल्न सकेको छैन । मेरो सानो परिवारमा पत्नीसंगको सम्बन्ध सुमधुर छ, छोरीहरूबाट आदर पाएको छु । यो देखी बाहेक मेरा मीत्र मण्डलीबाट आवश्यक पर्दा सहयोग पनि पाउने गरेको छु । स्वार्थि आफन्त बाहेककाबाट आत्मीयता पाएकै छु । अनी मेरो लेखन मनपराउने पाठकबाट माया पनि पाएको छु । हुनत म यो प्रेम, आदर, सहयोग, आत्मीयता र माया मेरो आफ्नो व्यवहार र लेखनको कारणले पाएको हुँ र म यसैमा रमाएको छु, मलाई लाग्छ मैले प्रेमको मुल्य पाए ।

कथाकार परिचयः शितल गिरी बेलौरी कञ्चनपुर महाकालीमा जन्मेका हुन् र उनको स्थायी बसोवास गौर रौतहट हो र हाल मध्यपुर ठोमीमा वसोवास गर्छन् । कविता, निवन्ध, आख्यानमा  कलम चलाउने उनका महाकाली (कवितासंग्रह) २०४५, पत्र मित्रता युगको आवश्यकता (निबन्धसंग्रह) २०५५, प्रसङ्गबश (निबन्धसंग्रह) २०६३, बज्जि र बज्जिका (लोकवार्ता) २०७०, तपोधन (उपन्यास) २०७४, जीवाश्म (निबन्धसंग्रह) २०७६, तथापि… (निबन्धसंग्रह) २०७८ लगायतका  कृतिहरु प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *