२४ अगस्त २०२५, कोलकाता
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको आयोजनामा ३३ औँ भाषा मान्यता दिवस भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु सौरिया र साहित्यकार श्री बिमल लामा अनि अतिथिहरूमा प्रा डा प्रिती घतानी, श्री समशेर अली, श्री नारायण प्रसाद हुमागाई, श्री रोशन सिंह, श्री खेमराज बराल रहेका थिए।
सो कार्यक्रमको शुरुमा स्वागत मन्तव्य प्रा अशेष लिम्बुले राखे। त्यसपछि प्रमुख अतिथि डा राजेन्द्र भण्डारीको बाहुलीबाट दीप प्रज्वलन गरी कार्यक्रमको शुभोद्घाटन गरियो। प्रा डा किरण सुब्बाले बाङ्देलको जीवन, कला र साहित्यमाथि चर्चा गरे। कार्यक्रमको मूल आकर्षण सम्मान कार्यक्रममा डा राजेन्द्र भण्डारीलाई मातृभाषा सेवाश्री सम्मान, सुश्री रंगु सौरियालाई वीर खड्ग बहादुर बिष्ट समाज सेवा सम्मान र “नुन चिया”का लेखक बिमल लामालाई प्रभात साहित्य सम्मानले सम्मानित गरियो।
त्यस बाहेक कलकत्तामा रहेर विभिन्न समाज सेवा गर्ने श्रीमती पद्मा गुरुङ्ग, श्रीमती प्रमिला श्रेष्ठ, श्रीमती उर्मिला छेत्री र श्री दिपील श्रेष्ठ साथै उच्च माध्यमिकमा ९५% अङ्क ल्याएर उतीर्ण हुने, सागर नारायण श्रेष्ठलाई पनि सम्मानित गरियो। प्रतिवर्ष झैँ यसवर्ष पनि विद्यार्थीहरूलाई भाषासित संगलग्न गराउन, निबन्ध प्रतियोगिता राखिएको थियो। जसमा शिक्षादीप अकादमी बिजनबारीका विद्यार्थी बिसान्त सुब्बा प्रथम, सुनदह उच्चतर माध्यमिक बिद्यालयका अनुराग छेत्री दोस्रो र लोवर चुङ्थुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थी प्रतिक्षा तामाङ, तेस्रो भएका थिए । बिजेता प्रत्येकको, नगद् राशी, स्मृति चिन्ह र प्रमाण पत्र सम्बन्धित स्कुलमा चाँडै पठाइने जनाइएको छ।
अन्य तीनजना विद्यार्थीहरू ब्लुमडेल अकादमीका फुर्बा ल्मू शेर्पा चौथो, शिक्षादीप अकादमी बिजनबारीका प्रतिक्षा सुब्बा पाँचौ र अगमसिंह गिरी स्मारक उमाविका दिपाञ्जली छेत्री छैटौँ भएका छन्। यी तीन विद्यार्थीलाई स्मृति चिन्ह र प्रमाण पत्र स्कुलमा पठाइने जनाइएको छ।
सो कार्यक्रममा चर्चित कथाकार समशेर अलीको “खँदुवा बन्दुक”को विधिवत लोकार्पण गरिएको थियो ।
लोकार्पित किताबको टिप्पणी निमा निष्कर्षले गरेका थिए ।
त्यस अवसरमा प्रा अविनाश सुब्बा, सन्तोषचन्द्र दर्नाल, बिलोक शर्मा, टिकाराम गोपाल भित्रीकोटी, रूपा अर्याल, सन्जिब गुरुङ, दिपेन्द्र दर्नाल र निमा निष्कर्षले कविता सुनाए।
सो समारोहको सभापतित्व श्रीमती देविका मोक्तानले गरेकी थिइन् भने कार्यक्रमको संचालन लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानका मूल सचिव बिकास कार्कीले गरेका थिए।
