योगमाया राष्ट्रिय स्रष्टा सम्मान समर्पण गरियो

मुख्य समाचार

२२ असार २०८२, काठमाडौं

नेपाल स्रष्टा समाजले योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२ सुकन्या वाइवालाई तथा तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२ भूपाल बस्नेतलाई प्रदान गरेको छ ।
सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सामाजिक अभियन्ता दुर्गा घिमिरे,स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,पुरस्कार संस्थापक रेखा कंडेल र राजेश न्यौपाने लगायतले सामुहिक रुपमा प्रदान गरे ।
योगमाया राष्ट्रिय स्रष्टा सम्मानमा नगदराशी रु.२५ हजार एक सय एघार तथा योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मानमा रु.५१ हजार एक नगदराशी रहेको छ ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि घिमिरेले योगमाया विशिष्ठ व्यक्तित्वकी धनी भएको भन्दै आफु पनि योगमायाको व्यक्तित्वले प्रभावित भएकी बताइन् । उनले आफू पनि महिला अधिकारका पक्षमा विगत चार दशकदेखि क्रियाशिल भएको र योगमायाको योगदान आज पनि सबैको निम्ति मार्गदर्शक र उत्तिकै सान्दर्भिक भएको बताउँदै सबैले योगमायाको आदर्शलाई आत्मसात गर्नुपर्ने बताइन् ।
सम्मानित व्यक्तित्व सुकन्या वाइवाले सारा नेपालीको मनभरी योगमाया छाएकी तथा दिदी पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेकी बताइन् ।
अर्का सम्मानित व्यक्तित्व भूपाल बस्नेतले योगमायाको समाधिस्थल बारे बोल्दै यो सम्मान आफ्नो लागि हौसला हो र आफूले योगमायाको विषयमा अभियानहरुमा पचास सालदेखि झोला बोकेको बताए । उनले आफू योगमायाको थलोकिलोको मान्छे हुँ भन्दै भोजपूरमा आश्रम खोल्ने तयारी गरेको समेत जानकारी दिए ।
कार्यक्रमका सभाध्यक्ष श्रीओम श्रेष्ठ रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गर्नुपर्छ भन्दै उहाँले देखाउनु भएको साहास,गर्नुभएको समर्पण,उठाउनु भएको विषय र सन्दर्भ मात्र होइन् उहाँको त्याग आजको समयमा पनि अनुकरणीय रहेको बताए । उनले वर्तमान राजनीतिमा देखिएको बेथिति प्रति कटाक्ष गर्दै भने-‘कान्छी औंलामा खटिरा आउँदा पनि बिदेश गएर उपचार गर्ने नेताहरुले योगमायालाई एक पटक पढिदिए मात्र पनि नेताहरु सुध्रन्छन् कि भन्ने हाम्रो अपेक्षा छ। योगमायाको आदर्श बचाउन सबैको साथ र सहयोग रहोस।’
यसअघि पुरस्कार संस्थापकहरु पवन आलोक र राजेश न्यौपाने र कार्यक्रममा सह-आयोजक न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपानेले समेत योगमायाको व्यक्तित्वका बहुआयामिक सन्दर्भहरुको चर्चा गरेको थिए ।
उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वहरु बारे डा. शान्तिमाया गिरीले चर्चा गरेकी थिइन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष डा.सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन समाजका सदस्य मधु पाठकले गरेका थिए ।

(प्रदीप सापकोटा काठमाडौंको सहयोगमा)

०००