२७ डिसेम्वर २०२५, फल्स चर्च, भर्जिनिया
अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा पत्रकार तथा साहित्यकार जयदेव गौतमको चौथो पुस्तक “किताबको अँगालोमा” को परिचर्चा कार्यक्रम सम्पन्न भयो ।
फल्स चर्च भर्जिनियास्थित थोमस जेफर्सन पुस्तकालयको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा बक्ता द्वय तीर्थ राज पाण्डेय तथा नारायण अधिकारी अभिनवले कृतिको बारेमा चर्चा गरे ।
पुस्तकको चर्चा गर्दै बक्ता तीर्थ राज पाण्डेयले यो पुस्तक पढेपछि पुस्तक समीक्षा बारे आफ्नो मान्यतामा परिवर्तन आएको बताए ।
अर्का बक्ता नारायण अधिकारीले कृतिका विविध पक्षबारे चर्चा गर्दै समीक्षा गरिएका पुस्तकको भूमिका समेत समीक्षा भएको बताए ।
कृतिकार जयदेव गौतमले आफूले पढेका कृतिहरूको गुण दोष केलाएर पुस्तक समीक्षा लेखेको तर साहित्यिक सिध्दान्त नपढेको र सो सिध्दान्त अनुरूप समालोचना नलेखेको र समीक्षा मात्र लेखिएको बताए ।
क्यानाडाबाट आएका साहित्यकार गोविन्द सिंह रावतले कार्यक्रममा सहभागी हुन पाएकोमा कृतज्ञता ब्यक्त गरे ।
प्रमुख अतिथि अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूत शरदराज आरणले यो पुस्तक पढेपछि धेरै कृतिको विषयमा जानकारी मिलेको र यस पुस्तकको पठनले पाठकलाई सहयोग पुग्ने धारणा ब्यक्त गरे ।
कार्यक्रमका सभाध्यक्ष अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष साहित्यकार गोविन्द गिरी प्रेरणाले नेपाली साहित्यमा तारिफोलोजी हावी भएको तर जयदेव गौतमको यो कृति एण्टी तारिफोलोजी भएको बताए ।
सो कार्यक्रमको सञ्चालन लेखिका पुष्पा खनालले गरेकी थिइन् ।
परिचर्चा गरिएको पुस्तकमा विविध विधाका ४२ कृतिको पुस्तक समीक्षा सङ्ग्रहित छन् ।
०००
