पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

मुख्य समाचार

१५ कार्तिक २०८३, काठमाडौं ।

साहित्यिक पत्रकार संघले हिजो राष्ट्रिय नाचघर, जमल, काठमाडौंमा ‘पद्मावती-सुनन्दा साङ्गीतिक साँझ’ कार्यक्रमको आयोजना ग-यो ।
कार्यक्रमको सुरुमा पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि यादव खरेलले कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा स्रष्टा एवं गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका म्युजिक भिडियोहरु प्रस्तुत गरिएको थियो । गायिका सिंहका म्युजिक भिडियोहरु क्रमशः ‘म मौन रहिरहें, चूपचाप निस्तब्ध रात,
रंगिन साँझको याम र कल्पन्छ संधै’ प्रस्तुत गरिएको थियो ।
गायिका पद्मावती सिंहले ‘साँझको याम थियो र धेरै दिन पछि’, ”साउने झरी र समा यायेत (नेवारी)’ प्रत्यक्ष गाएकी थिइन् ।
सुनन्दा माथेमाका म्युजिक भिडियोहरु क्रमशः ‘यो मनको फूल फुलेन, तिमी बाहेक यो मनले कोही खोज्दैन, मेरो विहान फुल्यो तिम्रो हेराईमा र बाँला मयजु (नेपाल भाषाको ) प्रस्तुत गरिएको थियो ।
दुबै गायिकाको सुमधुर प्रस्तुतिले साङ्गीतिक साँझलाई सुमधुर, उल्लासमय र अविस्मरणीय बनाएको थियो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु विशिष्ट संगीतकार, गायक, कलाकार एवं पूर्व उपकुलपति सङ्गीत रत्न शम्भूजित बास्कोटा र वरिष्ठ साहित्यकार उषा शेरचनले शुभकामना मन्तव्य राख्दै प्रस्तुत म्युजिक भिडियोहरु र गीतहरु उत्कृष्ट र आकर्षक रहेको बताएका थिए ।
कार्यक्रममा संघद्वारा गायिका पद्मावती सिंह र गायिका सुनन्दा माथेमालाई माला र कदरपत्रसहित सम्मान गरिएको थियो ।
वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संघका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकालीले स्वागत मन्तव्य राखेका थिए ।को सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिले यादव खरेलले नेपाली गीत सङ्गीतको चर्चा गर्दै दुबै गायिकामा बँश प्रभाव परेको बताए । दुबैका हजुरबुबा र पिता पनि सङ्गीतमा योगदान गरेका र अहिले छोरी र नातिनीले पनि सङ्गीतलाई अंगालेको बताए । उनले प्रस्तुत म्युजिक भिडियो र गीतले आफूलाई मन परेको बताए ।
कार्यक्रम सञ्चालन साहित्यकार मन्जिला अनिलले गरेकी थिइन् ।