– छन्दमणि त्रिपाठी, पाेखरा
दशैँ आयो, छायो हरहृदयमा उत्सुकपन
खुले डाँडापाखा प्रकृतिरसमा झुल्दछ मन
उडे चङ्गा मस्तै गगनतलमा देश भरमा।।
छिर्यो रातो राम्रो रविकिरणको रश्मि घरमा
अहा जादू कस्तो महल झुपडी हाँस्दछ रमी
सबै बालावृद्धा सहरघर नाच्छन् छमछमी
पलाए आशाका किरण घरका आँगनभरी।
चरीका गानामा भ्रमरहरु घुम्छन् वरिपरि।।
सयौँका ती बालापन पिङसँगै मच्चिन गयो।
मिठा स्वप्ना सारा गगनतलमन चम्किन गयो।।
विदेशी भूमिमा श्रम र पसिना छर्किए पनि।
प्रतीक्षा गर्दैछन् युवक युवती फर्कन भनी।।
सबैमा आनन्दी दिनकर प्रभा दिव्य हुन गो।
झरी पाखा लाग्यो शरद ऋतु राम्रो उदय भो।।
निधारैमा टीका फरर जमरा त्यो शिरतिर
सजाएका छन् ती विधिनियमले छैन नि पिर।
दशैँ आस्था रोप्ने जय विजयको चेतन बनोस्
सजाएका आशा हृदयपुरमा स्पन्दन बहोस्।।
अँध्यारो चिर्दै त्यो हरित जमरा उम्रन सकोस्।
पखाली मैला त्यो अविरल दशैँ उत्सव रहोस् l
