३१ असोज २०८२, काठमाडौं
आख्यानकार तथा साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक को लघुकथाकृति’तेल भिसा’र कविताकृति’सम्बन्धको चुकुल’तथा हिरण्यकुमारी पाठकद्वारा नै सम्पादित ‘नारीस्वर’को’सर्जक गणेश रसिक स्मृति अङ्क’को लोकार्पण प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती तथा मञ्चासिन अतिथिहरू तथा लेखिका स्वयमले सामुहिक लोकार्पण सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व गङ्गाप्रसाद उप्रेतीले स्रष्टा हिरण्यकुमारी पाठकको बहुआयामिक प्रतिभाको प्रशंसा गर्दै आठ दशकको उमेरमा पनि यस्ता कृतिहरूको सृजना हुन सकेकोमा बधाई दिएका थिए।
कवि शैलेन्द्र साकारले गणेश रसिक आफ्नो गाउँले दौँतरी रहेको र हिरण्य भोजपुरे र रसिक गायन क्षेत्रमा लागेर भोजपुरको लोकलयलाई गीत सङ्गीत मार्फत् चिनाउन सफल भएको बताए।रसिकलाई सम्झेर साकार भावुक हुँदै मान्छे कामले बाँच्छ उमेरले होइन भन्ने उक्तिमा आफू रहेको बताए।
लोकार्पित कृतिहरूको परिचर्चाका क्रममा प्रा.डा.गोविन्दमानसिंह कार्कीले लघुकथाकृति’तेल भिसा’का बारेमा बोल्दै सरल भाषामा लेखिएका लघुकथाहरू समसामयिक विषयवस्तुमा आधारित रहेको,सामाजिक विकृति र विसंगति मुखरित हुने गरेको र मनोबैज्ञानिक पनि हुने गरेको बताए।
अर्का चर्चाकार उप-प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले कविताकृति’सम्बन्धको चुकुल’का बारेमा बोल्दै पाठकका कविताहरू आलंकारिक भएर पनि सरल भएको र थोरै शब्दमा धेरै कुरा कवितामा उल्लेख भएको बताए।
कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले आफ्नो स्वागत मन्तव्यमा जेन-जि आन्दोलनका क्रममा सहिद हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकबाट अब निर्माणमा लाग्नु परेको यथार्थ बताए।मन्तव्यमा उनले स्रष्टा हिरण्यकुमारी पाठकको व्यक्तित्व तथा कृतित्वमाथि पनि संक्षेपमा प्रकाश पारेका थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा कवि डा.विष्णुविभु घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्दै हिरण्यकुमारी पाठकका कविताहरू सरल र सरस भएको र कविताहरू मैदानमा बग्ने स्वच्छ नदी जस्तै भएको बताए।
स्रष्टा हिरण्यकुमारी पाठकले गणेश रसिकको स्मरण गर्दै उनीसँगको लामो सुमधुर सम्बन्धको चर्चा पनि गरेकी थिइन्।साथै,उनले लोकार्पित कविताकृतिबाट आफ्नो एउटा कविता पनि पाठ गरेकी थिइन्।
धन्यवाद ज्ञापन गर्दै स्रष्टा हिरण्यकुमारी पाठककी सुपुत्री नम्रता शर्माले कार्यक्रममा उपस्थित सबै प्रति आभार पनि प्रकट गरेकी थिइन्।उक्त अवसरमा उनले आफ्नी आमाको साहित्यिक यात्राको पनि चर्चा गरेकी थिइन् ।
सो कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गरेका थिए।
०००
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडेौंको सहयोगमा)
