१४ कार्तिक २०८३, काठमाडौं
गोरखाका नामित प्रतिभा दण्डपाणि र उहाँकी धर्मपत्नी नन्दकुमारी अर्ज्यालको नाममा २०६३ सालमा स्थापित “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार -२०८३” प्रा.डा. वीणा पौड्याललाई अर्पण गरिने भएको छ। मौलिक संस्कृति, धार्मिक परम्परा ,ऐतिहासिक सम्पदा र कलाको अध्ययनमा अनेकानेक अनुसन्धानमूलक पुस्तक-ग्रन्थका माध्यमले उनले पुऱ्याएको योगदानको कदर गर्दै यो पुरस्कार अर्पण गर्न लागिएको हो। पचास हजार राशीको सो पुरस्कार यही कार्तिक २४ गते काठमाडौमा प्रतिभा सम्मान समारोह आयोजना गरी प्रदान गर्ने निर्णय दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको कार्यसमितिको बैठकले गरेको जानकारी स्मृतिकेन्द्रका महासचिव कपिलचन्द्र खनाल हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
देशको संस्कृति, कला , दर्शन ,इतिहास, भाषा साहित्य लगायत राष्ट्रिय महत्वको विषयमा योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभालाई केन्द्रले सम्मान गर्दै आएको छ। वि.सं. २०६३ सालदेखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलोपल्ट ज्ञानमणि नेपाललाई प्रदान गरिएको थियो । त्यसपछिका पर्षहरूमा प्रा.दिनेशराज पन्त, सत्य मोहन जोशी, प्रा. डा. सुरेशराज शर्मा, मदनमणि दीक्षित, डा. मोदनाथ प्रश्रित, प्रा. डा. सुरेन्द्र केसी, श्रीमती पुण्यरश्मि खतिवडा, प्रा. डा. तुलसीराम बैद्य, प्रा. डा. प्रेमकुमार खत्री, डा.जगमान गुरूङ, सीताराम कट्टेल र कुञ्जना घिमिरे, डा. हरिप्रसाद पोखरेल, श्रीमती रमा शर्मा, विष्णु प्रभात, बुध्दि नारायण श्रेष्ठ, मोहना अन्सारी, प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिसकिएको छ ।
स्मरण रहोस् गोरखाको इतिहास संस्कृति शिक्षा र समाज सेवाको क्षेत्रमा योगदान पुऱ्याउने विशिष्ट विद्वान् व्यक्तित्व दण्डपाणि अर्ज्यालको स्मृतिमा २०६२ सालमा परोपकारी सामाजिक संस्थाको रूपमा दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र काठमाडौंमा स्थापना भएको थियो । स्व. नन्दकुमारी अर्ज्याल स्व. अर्यालकी धर्मपत्नी हुनुहुन्थ्यो।
०००
