“नुनको जोहो” काठमाडौंमा विमोचन सम्पन्न

मुख्य समाचार

१२ पुस २०८२, काठमाडौं

सोलुखुम्बुका स्रष्टा गणेशप्रसाद खतिवडाद्वारा लिखित यात्रासंस्मरण कृति “नुनको जोहो” सार्वजनिक गरिएको छ ।
नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै प्राध्यापक हेरम्बराज बास्तोलाले पुरानो समयदेखि अहिलेको तीव्र परिवर्तनसमेत देखेको पुस्तालाई छक्क पुस्ता नामाकरण गर्दै नुनको जोहो छक्क पुस्ताले सिर्जना गरेको राम्रो कृति रहेको बताए । त्यसै पुस्तकका अर्का समीक्षक प्रतीक ढकालले कृति खासगरी पहाडी जीवन झेलेकाहरूका लागि आफ्नै भोगाइ रहेको भान पर्नेगरि लेखिएको बताए । उनले कृतिको आकार सानो भए पनि यसले पहाडी जीवन, संस्कृति, लोकभाका, भूगोल, संघर्षका कथा, नेपाली छन्द परम्परा लगायत विविध विधा समेटेको वताए ।
शुभकामना मन्तव्य दिंदै साहित्यकार डा. रेणुका थापा ‘सोलु’ले आफूले भोगेको जीवन नै पुस्तकमा आएको र आफूले उक्त कुरा लेख्न नसकेकोमा पछुतो भएको कुरा उल्लेख गर्दै पाठकलाई यस्तो लाग्नु नै लेखकको सफलता भएको बताइन् । साहित्यकार शान्ति शर्माले नुनको जोहो पुस्तक आफ्नै पुस्तक जस्तो लागेको बताउँदै छिटै अर्को पुस्तक ल्याउन लेखकलाई अनुरोध गरिन् ।
संस्थागत विद्यालय संघ नेपाल (इसान)की केन्द्रीय अध्यक्ष साधना खतिवडाले पुस्तक आफूलाई राम्रो लागेको र आफ्नो विद्यालयमा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्ने बताउँदै अन्य विद्यालयलाई पनि त्यसै गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार महेश विक्रम शाहले पुस्तक आफूलाई मन परेको र यसलाई उपन्यासको रूपमा पुनर्लेखन गर्नसके अझ राम्रो हुने सुझाव दिए । नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईँको सभापतित्वमा सम्पन्न सो कार्यक्रम समाजकी महासचिव कवि तथा नियात्राकार भवानी खतिवडाले सञ्चालन गरेकी थिइन् ।

०००