-प्रमोद सारङ्ग
निरन्तर परिरहेको अन्यौल झरी
एकाएक हराउँदै गएझैँ
कुरुप हुँँदै गएको सडकको
चिप्लो र सिकसिके हिलो अनुहार
सिनित्तै पखालिँदै गएझैँ
हरप्रहर हाम्रै यात्राका सहयात्री बनेर
साथसाथै उड्ने धुलोको साम्राज्य
तहसनहस भएर बढारिँदै गएझैँ
आफू ‘पर्व’ हुनुको रमाइलोमा
समयका उकाली–ओराली टेक्दै
थकाइ मार्न आइपुगेको छ -दशैँ!
जसरी उदाउँछ रङ र रुपको
उत्सर्गमय उज्यालो
खुसीको पहेँलो घाम पछिसम्म खुल्नलाई
गीत गाइरहेछन्- मधुर मालश्री राग
र शायद आफन्तहरूको आशा लिएर
विस्तारै विस्तारै फक्रिदै छन्
शारदीय प्रार्थनामा आँखाअगाडि
आँगनमै फुल्दै गरेका सयपत्री र मखमली !
जसरी रावणमाथि रामको
महिषासुरमाथि दुर्गाको
विजयको कथा सुन्दै आइरहेका
हाम्रा पवित्र कानहरूले
अब गाउँ शहरभरि –
भोकमाथि पेटको
रोगमाथि आरोग्यको
तिलस्मी कथामा अनूदित भएर
कुनै अनकन्टार जङ्गलमा लेखिएझैँ भान्साबाट
मगमगाइरहेका छन् -स्वादिला परिकारहरू!
आखिर
अनेक कोलाहलको पहिरो
मान्छे मान्छेमा खसिरहे पनि
गाउँवस्तीले सुकिला अनुहार फेरेका छन्
विर्सिएर निर्मम आघातमाथि भैंचालो
बेहिसाब मनको कुनामा राखेर
उत्सवको रङ पोतिएको छ।
जतिसुकै उडोस् महङ्गीको चङ्गा
विपत्तिबाट सधैँ सजक हुँदै
हाम्रो सम्झौता सुखदायी छ,
चोखिएको छ।
हामी शान्ति खोज्दै हिँडेका मान्छेहरू
जतिसुकै विडम्बना भोग्नु परेपनि
शिरमाथि जमरा
निधारमाथि रातोटीका
भोगभूमि/कर्मभूमिको माया साँचेर
यही समयको पीडारेखाको मुस्कानमाथि
सपनाहरू र बिपनाहरू सँगाल्दै बाँचेकै छौँ !
र, देवीदेवताका सामु सत्य र न्यायको खोजीमा
दुःख, द्वेष र अहङ्कार त्यागेर
सद्भावका कामना कोर्न घरघर
शारदीय आकाशमा
आशीर्वादको छहारी लिन आइपुगेको छ -दशैँ।
000
